चिकित्सकको क्लिनिक नै मापदण्डविपरित

चिकित्सकको क्लिनिक नै मापदण्डविपरित

सिरहाः स्वास्थ्य क्षेत्रलाई व्यक्तिगत नाफाको नजरमा हेरेर सेवा प्रदान गर्दै आएका सिरहाका चिकित्सकहरुले सरकारी मापदण्डविना नै निजि क्लिनिकहरु सञ्चालन गर्दै आएका छन् ।

स्वास्थ्य विज्ञानमा स्नातक (एमबिबीएस) उतीर्ण गरी नेपाल मेडिकल काउन्सिलबाट इजाजत लिएकाहरुले चिकित्सकको रुपमा काम गर्न पाउने भए पनि उनीहरुले व्यक्तिगत स्वास्थ्य सँस्थाको रुपमा निजि क्लिनिक सञ्चालन गर्न जिल्ला स्वास्थ्य कार्यालयबाट अनुमति लिनुपर्ने कानूनी प्रावधान छ ।

सो प्रावधान मिचेर नाम चलेका चिकित्सकहरुले नै जिल्ला स्वास्थ्य कार्यालयमा दर्ता नै नगरी निजि क्लिनिकहरु सञ्चालन गरिरहेका छन् । चिकित्सकहरुले स्वास्थ्य कार्यालयबाट अनुमति प्राप्त गरी निजि क्लिनिक सञ्चालन गर्नुपर्दा विरामीले एउटै क्लिनिकबाट बहिरङ्ग सेवा, प्रयोगशाला, रेडियो इमेजिङ्ग, फिजियोथेरापी, परिवार नियोजन तथा खोपसम्बन्धि सेवा प्राप्त गर्न सक्छन् ।

निजि क्लिनिकमा ती सेवाहरु सञ्चालन गर्न ठूलो लागत लाग्ने भएकोले चिकित्सकहरुले स्वास्थ्य कार्यालयमा क्लिनिक दर्ता नगरिकनै एउटा टेबुल र कुर्सीको भरले विरामीहरुलाई आफूले नसक्ने रोगको पनि उपचार गरिरहेका छन् ।

हामीले चिनेजानेका प्रत्येक चिकित्सकहरुसँग निजि क्लिनिक दर्ता गराउनुस् भनेर भनिरहेका छौं तर जतिपटक ताकेता गरे पनि उनीहरु क्लिनिक दर्ता गर्न चाहनुहुन्न, जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रशासकीय अधिकृत उमेश कुमार कर्णले बताए, ‘अब गैरकानूनी रुपले सञ्चालन भइरहेको निजि क्लिनिकहरु बन्द गर्नुसिवाय अर्को विकल्प हामीसँग छैन ।'

सजिलै प्रशासनको पहुँच पुग्न सक्ने सिरहा सदरमुकाम, लहान, गोलबजार, मिर्चैया जस्ता पुर्व पश्चिम लोकमार्गका बजारहरुमा एमबिबिएस र एमडि उतीर्ण गरेका चिकित्सकहरुको निजि क्लिनिक बग्रेल्ती देख्न पाइन्छ ।
यसरी निजि क्लिनिकहरु दर्ता नगरी सञ्चालन गर्नेहरुको सूचिमा नेपाल सरकारको ११ औं तहको चिकित्सकदेखि जिल्ला अस्पताल र लहान अस्पतालमा कार्यरत चिकित्सकहरु पनि छन् । झन भर्खरै एमबिबिएस उतीर्ण गर्नेहरुले त सहायक मार्गमा रहेका बजारहरुमा निजि क्लिनिक खोलेर बसेको प्रशस्तै देख्न पाइन्छ ।

हामीले जिल्लाका सबै चिकित्सकहरुलाई नेपाल चिकित्सक संघमा आवद्ध हुनु भनेर पटक पटक सूचना प्रकाशित गरिरहेका छौं तर गाउँ गाउँमा एमबिबिएसको बोर्ड झुण्डिएको पाइए पनि संघमा भने २४ जना चिकित्सकहरु मात्र आबद्ध भएका छन्, नेपाल चिकित्सक सङ्घ सिरहाका अध्यक्ष डा. पशुपति चौधरी भन्छन , त्यसैले सिरहा जिल्ला ठेगाना भएका चिकित्सकहरुको नामावली उपलब्ध गराउन हामीले नेपाल मेडिकल काउन्सिलमै पत्राचार गरेका छौं ।

जिल्लाको स्वास्थ्य प्रमुखको क्लिनिक नै मापदण्ड विपरित

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार, पुरै जिल्लाभरिका चिकित्सकहरुमध्ये एक जनाले मात्र निजि क्लिनिक स्वास्थ्य कार्यालयमा दर्ता गराएका छन् । ती चिकित्सक हुन् जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. दयाशङ्करलाल कर्ण ।

तर स्वास्थ्य सँस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धि निर्देशिका, २०७० बमोजिम खडा गर्नुपर्ने कुनै पुर्वाधार स्वास्थ्य प्रमुख डा. कर्णको निजि क्लिनिकमा छैन । सो निर्देशिकाका अनुसार, विरामीलाई स्वास्थ्य विज्ञानमा प्रविणता प्रमाणपत्र उतीर्ण एक जना परामर्श दिने व्यक्तिको साथै प्रयोगशाला, रेडियो इमेजिङ्ग, फिजियोथेरापी सम्बन्धि कुनै उपकरण र सुविधा छैन ।

उनको क्लिनिक पनि जिल्ला अस्पताल अगाडि रहेको एउटा औषधी पसल पछाडिको अँध्यारो कोठामा छ जहाँ जिल्ला स्वास्थ्य प्रमुख कर्ण जिल्ला अस्पतालभन्दा बढी समय व्यतित गर्नुहुन्छ ।

सिरहामा अवैद्य अस्पताल सञ्चालन भइरहेको समाचार सञ्चारमाध्यममा आएपछि जिल्ला प्रशासन कार्यालय सिरहाको सक्रियतामा यहाँका निजि अस्पताल तथा स्वास्थ्य केन्द्रको अनुगमन गर्ने कार्यक्रम निश्चित भएको केही दिन अगाडि मात्र स्वास्थ्य प्रमुख कर्णले दवावमा उक्त क्लिनिक दर्ता गरेको थियो तर आफैं प्रमुख रहेको कार्यालयमा मापदण्डविपरित निजि क्लिनिक दर्ता गरे पनि जिल्ला स्वास्थ्य कार्यालयका कुनै कर्मचारीहरुले त्यसबारे बोल्न सकेका छैनन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.