सन्थाल नाच बन्यो दशैंको रौनक
विर्तामोडः जब चारैतिर दशैंको रौनक सुरु हुन्छ पूर्वी तराईका आदिवासी सन्थाल बस्तीहरुमा विशेष किसिमको रौनक सुरु हुन्छ । सन्थाल नाचका बाजा गाजा सन्थाल बस्तीहरुमा बज्न थाल्छन् । दशैंका बेलामा सन्थाल समुदायका मानिसहरु मूरली झ्याम्टा लगायतका बाजा गाजा बोकेर नाच्दै गाउँदै शहर तथा गाउँ पस्न थाल्छन् ।
प्रकृतिपूजक सन्थालहरू आदिकालदेखि नै हिन्दूहरूको चाड दशैं र तिहारको बेला दासाई नृत्यमा रमाउने गर्छन् । दशैं र तिहारको समयमा गाउँ–गाउँमा लाग्ने मेलामा सन्थाल समुदायका मानिसहरुको नाच प्रमुख आकर्षण हुने गरेको छ । सन्थाल नाच नभएको दशैं मेलामा कुनै रौनक हुँदैन भन्ने धेरै छन् ।
झापाको गरामनी, सैनिकमोड, गौरीगञ्ज, टाघनडुब्बा, फुलवारी, महाभारा, लालपानी, शरणामती, झापाबजार, चारआली तथा लखनपुरमा पनि सन्थालहरू उल्लेख्य बसोवास रहेको सन्थाल जातिका अगुवाहरू बताउँछन् । झापा र मोरङका प्राय सबै गाउँहरूमा सन्थालहरूले आफ्नो मौलिक सांस्कृतिक नृत्यहरु प्रर्दशन गर्ने गरेका छन् । उनीहरुको नृत्य कोजाग्रत पूर्णिमासम्म रहन्छ ।
पूर्वी तराईका आदिवासी सन्थाल समुदायका मानिसहरुको दशैं विशेष किसिमको हुने गरेको छ । उनीहरुले आफ्ना देउतालाई आफ्नो समुदायको मात्र होइन समग्र समाजकै भलाई होस भन्ने प्रार्थना गर्ने गरेका छन् ।
सन्थाल नृत्य आफ्नै जातीय भाषा, गाई जात्रे पहिरन, रङ्गीचङ्गी भाव भंगिमा रंगीन कमिज पञ्ची धोती जस्तो कपडा शिरमा मयूरको प्वाँख र ऐना तथा झुम्काले बनाएको फेटा लगाई, जीउमा कल्ली बाँधेर बाजागाजाको साथ एउटै ताल, सुरमा सामूहिक रूपमा छुट्टाछुट्टै समूहमा प्रस्तुत गरिन्छ ।
यस नृत्यमा नाच्नेहरू सबै पुरुष सन्थालहरू हुन्छन भने उनीहरूलाई आकर्षित गर्न जोस थप्न महिलाहरू पनि उत्तिकै सक्रिय हुन्छन् । नृत्य मध्य अवस्थामा महिलाहरूले बेलाबेलामा भुजा फ्याँक्ने गर्दछन् भने नाचीरहेका सन्थालहरू आफूलाई बहादुर सावित गर्न बिनाहात जमीनमाथि उडेका भुजा मुखैले खाने प्रयास गर्दछन् ।
दशैंको फुलपातीको दिनबाट उनीहरुको देउताको विशेष पूजा सुरु हुन्छ । कनकाई नगरपालिका ८ का रमेश मर्डीले आफ्ना देउतालाई सबैको भलो होस् भन्दै प्रार्थना गर्ने गरिएको बताए । अन्य समुदायका मानिसहरुको पूजा गर्ने परम्परा भन्दा नितान्त फरक छ दशैंमा उनीहरुको देउता पुज्ने तरिका । चारपाने झापाका मुन्सी मर्मुले पुजाका सामान बटुल्न त्यति गाह्रो नहुने बताए । उनले भने, ‘एक जोर परेवा र अलि अलि फूल पाती भए पुग्छ ।'
उनीहरुको यो पुजामा आफ्नो समुदायको मात्र होइन समग्र समाजकै भलाई होस भन्ने कामना आफ्ना देउतासंग गर्ने गरेका छन् । तर अन्य समुदायकै परम्परा जस्तो दशैंमा मान्यजनबाट टिका लगाउने उनीहरुको पनि परम्परा छ ।
कन्काई नगरपालिका ८ की सुनिता हास्दाले भनिन्, ‘हामी सन्थालहरु हिन्दू हौं । बर्षमा एकपल्ट मान्यजनबाट टिका लगाएर आर्शिवाद लिने हाम्रो पनि परम्परा छ ।' झापा मोरङ र सुनसरीमा बसोबास गर्ने सन्थाल समुदायका मानिसहरुको संख्या करीब ५२ हजार रहेको बताइन्छ ।