प्रधानमन्त्री प्रचण्ड भारतमा, चिनियाँ राष्ट्रपतिसँग आजै विशेष भेटवार्ता
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ब्रिक्स सदस्य देशहरूको शिखर सम्मेलन तथा बिमस्टेक देशको आउटरिच सम्मेलनमा भाग लिन शनिबार भारत गएका छन् ।
शनिबार बिहान भारतको गोवामा हुने ‘ब्रिक्स सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दिल्ली हुँदै गोवा पुग्ने कार्यक्रम छ। चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रचण्डले शनिबार बेलुका नै विशेष भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री प्रकाशरण महत, परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मा, प्रधानमन्त्री पत्नी सीतासहित १८ सदस्यीय नेपाली प्रतिनिधिमण्ड गोवा प्रस्थान गरेको हो ।
प्रधानमन्त्रीले गोवामा बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखको बैठक एवम् ब्रिक्स विमस्टेक सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले सम्मेलनका क्रममा विभिन्न देशका सरकार र राष्ट्रप्रमुखसँग भेटवार्ता गर्ने छन् । सम्मेलनका लागि गोवा गएका प्रधानमन्त्रीको मुख्य उद्देश्य चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सुनिश्चित गर्नु देखिएको छ ।
राष्ट्रपति सीले साथसाथै गर्ने भनिएको बंगलादेश यात्रा हुनु तर नेपाल यात्रा रद्द हुुनुका पछाडि नेपालले असन्तुलित छिमेकी नीति अँगाल्नु र दाहाल भारतपरस्त हुनु मूल कारण भएको अड्कलबाजी भइरहेका बेला सीको नेपाल यात्रा सुनिश्चित गर्नु दाहालका लागि प्रतिष्ठाको विषय बनेको छ ।
चिनियाँ राष्ट्रपति गोवा जाँदा वा गोवाबाट फर्कंदा नेपाल भ्रमण गर्ने भनिए पनि उनको भ्रमण अन्तिम समयमा रद्द भएको थियो । यसैबीच भारतमा हुन लागेका दुई सम्मेलनका क्रममा दाहालले शनिबार अपराह्न ६ बजे सीसँग आधा घन्टा भेट्ने तय भएको छ । दाहालले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन विशेष कुराकानी हुने आफू निकटस्थलाई बताएका छन् ।
दाहालले चिनियाँ राष्ट्रपतिसँगको भेटमा सीले अघि बढाएको ‘वान रोड वान बेल्ट’ मा नेपाल सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता जनाउने दाहालका विदेश मामिला सल्लाहकार ऋषिराज अधिकारीले अन्नपूर्णलाई बताए । त्यस्तै विगतमा भएका पारवहन तथा यातायात सम्झौतालगायत चीनसँगका सबै सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता दाहालले व्यक्त गर्ने उनले बताए ।‘चिनियाँ राष्ट्रपतिको चाँडै भ्रमण होस् भन्नेमा सरकार दृढ छ’, उनले भने ।
चिनियाँ राष्ट्रपतिको भ्रमण तत्काल रोकिए पनि डिसेम्बरभित्र नेपाल भ्रमण गराउन दाहाल इच्छुक देखिएका छन् ।प्रधानमन्त्री दाहालको चीनका राष्ट्रपति सी जिनपिङसँग शनिबार बेलुका र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आइतबार भेटवार्ता हुने परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बताए ।
प्रधानमन्त्री दाहाल नेतृत्वको टोलीले भुटानका प्रधानमन्त्री, श्रीलंकाका राष्ट्रपति, दक्षिणअफ्रिकाका राष्ट्रपति, ब्राजिलका राष्ट्रपति, रुसका राष्ट्रपतिलगायतसँग भेट्ने कार्यक्रम छ ।