६६ सय थान पटकासहित एक भारतीय महिला पक्राउ
काठमाडौँः राजधानी प्रवेश गर्ने प्रमुख नाका नागढुंगाबाट प्रहरीले ६६ सय थान पटकासहित एक भारतीय महिलालाई पक्राउ गरेको छ ।
नागढुंगा प्रहरी प्रभागका प्रहरी निरिक्षक सुनिल दाहालका अनुसार पटका ल्याउने भारतको मोतीहारी घर भइ काठमाडौँको स्वयम्भू बस्ने ४५ बर्षीया निलम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शनिबार बिहान ७ बजे गौरबाट काठमाडौँ आउदै गरेको ना ५ ख ४९६२ नम्बरको बस चेकजाँचका क्रममा ठूलो मात्रामा विष्फोटक पदार्थ फेला पारेपछि प्रहरीले चाैधरीलाई पक्राउ गरेको हाे ।
सामान्य झोलामा ल्याइएका ६६ सय थान पटककासहित चौधरीलाई पक्राउ गरेको दाहालले जानकारी दिए । ‘सामान्य लुगाकपडा बोक्ने झोलामा राखिएको अवस्थामा भेटिएको पटकासहित भारतीय महिलालाई नियन्त्रणमा लिएका छौँ’, दाहालले भने ।
प्रहरीले तिहार नजिकिदै गर्दा विस्फोटक पदार्थ राजधानी भित्रने भन्दै सुरक्षा चेकजाँचमा कठाइ सुरु गरेको छ । नागढुंगा प्रहरीले पटका नष्ट गर्ने तयारी गरेको छ भने पक्राउ परेकी भारतीय महिलालाई प्रहरी बृत थानकोट पठाएको छ ।