पहिलोपटक महिला राष्ट्र प्रमुख नवदुर्गामा

पहिलोपटक महिला राष्ट्र प्रमुख नवदुर्गामा

भक्तपुरः नेपालको पहिलो महिला राष्ट्र प्रमुखको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार भक्तपुरस्थित नवदुर्गामा पूजाआजा गरेकी छन् ।

विजया दशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमामा राष्ट्र प्रमुखबाट प्रत्येक वर्ष नवदुर्गा भवानीको पूजाआजा तथा प्रसाद ग्रहण गर्दै आएको छ । सोही परम्परा धान्न राष्ट्रपति भण्डारी शनिबार भक्तपुर नपा ३ स्थित नवदुर्गा मन्दिर पुगेकी हुन् ।

राष्ट्रपति भण्डारीले करिब पन्ध्र मिनेट नवदुर्गा मन्दिरको पूजाआजा तथा प्रसाद ग्रहण गरेकी छन् । राष्ट्रपतिको तर्फबाट मन्दिरका पुजारी जुलाल कर्माचार्यले तान्त्रिक विधिअनुसार नवदुर्गा भवानीको पूजाआजा गरेका थिए ।

पूजाआजापछि राष्ट्रपति भण्डारीलाई यसवर्षका देवगण नाइके बिकुलाल बनमालाले नवदुर्गा भवानीको दसैंको प्रसादको रुपमा एउटा बिमिरो, पञ्चरंगी धागोको डोरी बाटिएको गोका, पञ्चरंगी धागोको पासुका, फूलमाला र भवानीको दसैंघरको जमरा चढाएका थिए ।

पहिलो पटक नवदुर्गा मन्दिर पुगेकी राष्ट्रपति भण्डारीले अघिल्ला राष्ट्रपति रामवरण यादवको भन्दा बढी समय लगाएका थिए । उनले अभिरुचिपूर्वक नवदुर्गा भवानी, यसको मन्दिर तथा ६ महिनाभन्दा बढी समय नाच प्रदर्शन गर्नुपर्ने नवदुर्गा देवगणबारे जानकारी लिएकी थिइन् ।

‘उहाँ (राष्ट्रपति भण्डारी) ले नवदुर्गा देवगण तथा यसको नाचबारे उत्सुकतापूर्वक जानकारी लिनुभयो’, नाइके बिकुलाल बनमालाले भने, ‘यस वर्ष देवगण पनि राष्ट्रपतिबाट सन्तुष्ट छन् ।’

उनका अनुसार राष्ट्रपति भण्डारीले प्रत्येक देवगणलाई जनही पाँच सय पाँच रुपैयाँ दक्षिणा दिएकी थिइन् ।

-Rastrapati-नवदुर्गा भवानीको पूजाआजापछि मन्दिरबाट बाहिरिने क्रममा राष्ट्रपति भण्डारीले मन्दिर परिसरमा उपस्थित जनसमुदायलाई अभिवादन गरेकी थिइन्। त्यसलगत्तै भक्तपुर दरबार क्षेत्रस्थित तलेजु आगम छेंका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजु भवानीको प्रसाद राष्ट्रपति भण्डारीलाई अर्पण गरेका थिए ।

उक्त अवसरमा तलेजुमा हुने पूजाआजाको लागि कस्तुरीविनै महाधुपमा बनाइँदै आएको जानकारी राष्ट्रपति भण्डारीलाई दिएको मूल नाइके जोशीले जानकारी दिए ।

पहिले उक्त कस्तुरी राजदरबारबाट व्यवस्था हुँदै आएकोमा मुलुकमा गणतन्त्र आएपछि उक्त कस्तुरी प्राप्त हुन छाडेको उनको भनाइ थियो ।

‘मैले राष्ट्र प्रमुखको हैसियतबाट राष्ट्रपति भण्डारीलाई कस्तुरीको व्यवस्थ ागर्न माग गर्दा उहाँले स्वीकारोक्तिको रुपमा टाउको हल्लाउनुभयो’, मूल नाइके जोशीले भने । उनका अनुसार राजतन्त्र हुँदा राजदरबारबाट प्रत्येक वर्ष चार लाल बराबरको कस्तुरी भक्तपुर तलेजुलाई उपलब्ध गराइँदै आएको थियो ।

नवदुर्गा भवानीको पूजा गर्न शनिबार भक्तपुर पुगेका राष्ट्रपति भण्डारीलाई प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, स्थानीय विकास अधिकारी ध्रबु कोइराला, नेपाली सेनाको वीरदल गणका गणपती प्रमुख सेनानी अम्रितकाजी गुरुङ, महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक किरण बज्राचार्यलगायतका सरकारी कार्यालय प्रमुखहरुले फूलमाला तथा पुष्पगुच्छाले स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.