प्रचण्डले सीलाई भेट्दा मोदी पनि सँगै

प्रचण्डले  सीलाई भेट्दा मोदी पनि  सँगै

काठमाडौः भारतको गोवामा भइरहेको ब्रिक्स शिखर सम्मेलनका क्रममा साइडलाइन वार्तामा शनिबार साँझ ७ः३० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङले द्विपक्षीय भेट सके ।

त्यसको केही क्षणपछि होटेलको आफ्नो कोठानजिकै रहेको अर्को एक वेटिङ रुममा प्रधानमन्त्री दाहाल पुत्र प्रकाश दाहाल र पत्नी सीतासँग बसिरहेका थिए ।

अचानक चिनियाँ राष्ट्रपति सी त्यहाँ आइपुगे । दाहाल छक्क परे । उनले सोच्दै सोचेका थिएनन्, यसरी चिनियाँ राष्ट्रपतिसँग एकल वार्ता हुनेछ । दाहालले चिनियाँ राष्ट्रपति सीसँग एक्लै १५ मिनेट वार्ता गरे ।

वार्तामा सीले आफू नेपाल आउन अति इच्छुक रहेको बताए । ‘म तपाईंको मुलुक आउन चाहन्छु । चाँडै आउँछु', उनले भने । दाहालले आफू स्वागत गर्न आतुर रहेको बताए ।

दाहाल र सी जिनपिङबीच ‘वेटिङ' रुममा कुरा भइरहेकै बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी टुप्लुक्क आइपुगे । दाहाल खुसीले गदगद भए । दाहालले मोदीसँग पनि एकल वार्ता गर्न भ्याए ।

त्यसपछि प्रधानमन्त्री दाहाल, भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच १५ मिनेट संयुक्त कुराकानी भयो । वार्तामा मोदीले नेपालसँग सम्बन्ध सुमधुर बनाउन चाहेको बताए ।

दाहालले पनि भारतसँग सम्बन्ध सुदृढ गर्न चाहेको बताए । चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीलाई साथमा राखेर प्रधानमन्त्री दाहाल बीचमा बसे । दाहालले दुवै नेतासामु भने, ‘नेपाल चीन र भारतको बीचमा रहेको आकारले सानो मुलुक भए पनि यहाँहरूका लागि महत्वको मुलुक हौं भन्ने विश्वास छ । हामी दुवै छिमेकीसँग राम्रो सम्बन्ध बनाउन चाहन्छौं ।'

नेपाल गौतम बुद्ध जन्मेको देश र भगवान् पशुपतिनाथको देश भएकाले चीन र भारतका लागि यसको महत्व रहेको भन्दै दाहालले सी र मोदीसँग यस क्षेत्रको विकासका लागि तीनै देशले मिलेर काम गर्नुपर्ने बताए ।

दाहालले दुवै नेतासामु भने,‘नेपाल सानो भए पनि यहाँहरुका लागि महत्वको मुलुक हो ।

प्रधानमन्त्री दाहाल, चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीचको यो भेट नितान्त संयोग रहेको र अनौपचारिक रहेको त्यहाँ उपस्थित दाहालका स्वकीय सचिव एवं पुत्र प्रकाशले अन्नपूर्णलाई टेलिफोनमा बताए । दाहाल, सी र मोदीबीच २० मिनेट कुराकानी भएको थियो ।

दाहाल, सी र मोदीबीच कुराकानी अन्तिम हुन लाग्दा ब्राजिलका राष्ट्रपति माइकल टेमर र दक्षिणअफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा पनि टुप्लुक्क आइपुगे । उनीहरूसँग पनि दाहालले अनौपचारिक रूपमा कुराकानी गर्दै अभिवादन गर्ने अवसर पाए ।

दाहालले गरेका यी अनौपचारिक भेटबारे परराष्ट्रमन्त्री प्रकाशशरण महतलगायत सहभागी नेपाली टोलीले भने निकै बेरपछि मात्रै थाहा पाएको थियो । चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग भएको अनौपचारिक भेटमा तीनै देशका हितबारे कुराकानी हुनुलाई दाहालले मीठो संयोगका रूपमा लिएको उनका पुत्र प्रकाशले बताए । उनले यो बैठक योजनाबद्ध नरहेको बताए ।

दाहालले भेट्नुअघि सी र भारतीय प्रधानमन्त्री मोदीबीच सरकारी अधिकारीहरूसहित वार्ता भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.