माई खोलामा डुबेकी शशी श्रीमान्‌को दायाँ हात समाएर बाँचिन्

माई खोलामा डुबेकी शशी श्रीमान्‌को दायाँ हात समाएर बाँचिन्

दानाबारी इलामः मिर्गौलाको समस्याका कारण झापा बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार गराएर फर्केकी बाँझो ९ की शशी लिम्बूले डुंगा पल्टेर माईखोलाको भँगालोमा पसेपछि आफूलाई माया मारेकी थिइन् । १५ दिन अघिमात्र मनीष काङ्बाङसँग उनको बिहे भएको थियो ।

मिर्गौला समस्याका कारण भेन्टिलेटरमा उपचार गराएर उनी शुक्रबार दिउँसो घर फर्कंदै थिइन् । घर पुग्न कठिन चुरेको बाटोसँगै तीन दिनको अविरल वर्षाले भीषण बाढी आएको माईखोलामा दानाबारी र महमाईबीचको लोदिया दोभान पार गर्नुपथ्र्यो ।

शुक्रबार दिउँसो एक बजेतिर उनी र पति मनीषसहित करिब ५० जना डुंगाको सहायताले दानाबारीबाट महमाईतर्फको माईकिनारमा जाने तरखरमा थिए । डुंगामा सदाभन्दा बढी नै यात्रु थिए । डुंगा चल्नासाथ फनफनी घुम्यो र खोलामा डुब्यो । उनीसहित सबै यात्रु खोलामा खसे । शशी पौडन जान्दिनथिन् । उनी खोलामा पसेपछि करिब तीन सय मिटर तल उत्रिइन् । उनले सुनाइन्, ‘केही थाहा नै छैन । सायद भगवान्ले हात थापेर बचाउनुभयो होला ।'

बेहोसजस्तै बनेकी उनलाई भेलले श्रीमान् मनीष काङ्बाङको नजिकै पुर्याएछ । उनले पतिको दाहिने हात समातिन् । खोलाले तान्दै थियो तर उनले हात छोडिनन् ।

मनीषले सुनाए, ‘दायाँ हातमा उनी (शशी) लाई देखेपछि आफू बाँचेर उनलाई बचाउने प्रयासमा लागें । बायाँ हातमा अरूले समाएका रहेछन् । उनीहरूलाई बचाउने अवस्थामा थिइनँ । छोडिदिएँ । श्रीमतीलाई बचाएँ । हामी बाहिर आयौं ।'

खोलामा खसेपछि मनीष तीन मिनेटजति पानीमा डुबेछन् । पानीबाट उत्रिँदा उनी पनि करिब तीन सय मिटर तल पुगेका थिए । उनले सुनाए, ‘तीन घुट्को पानी पिएपछि बाँच्छुजस्तो लागेन ।' लाचारजस्तै भएपछि उनले भगवान् पुकारेछन् । कसोकसो बाहिर आउन सफल भएको उनले बताए ।

आफ्नै हातले श्रीमतीको जीवन बचाएकोमा मनीष खुसी थिए । उनले भने, ‘आँखैअघि अरूलाई गुमाउँदा खुसी हुनसक्ने अवस्था छैन तर परिवार नै बाँचेकोमा खुसी छौं ।'

दाजुभाउजू लिएर फर्केका यामबहादुर काङ्बाङले पनि कसोकसो जीवन बचाए । उनी पहिले बाहिर निस्केका थिए । उनले भने, ‘म त चेतनाशून्यजस्तै भएछु । दाजुभाउजू बगिरहँदा म त रमिता हेरिरहेको रहेछु ।'

खोलामा उनीहरूसँग ५० जनाजति बगेका थिए । बगेकामध्ये शनिबारसम्ममा ३४ जना सम्पर्कमा आएका छन् । ८ जनाको शव फेलापरेको इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

दसैंको टीका लगाउन महमाईस्थित माइत हिँडेकी मोरङ मधुमल्लाकी रविना खड्का आफू त बाँचिन् तर ६ वर्षका जुम्ल्याहा छोरी अञ्जली र पुष्पालाई गुमाइन् । उनी शनिबार साँझसम्म पनि बोल्नसक्ने अवस्थामा छैनन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.