डेरामा बस्नेको लगत नगरपालिकामा

डेरामा बस्नेको लगत नगरपालिकामा

काठमाडौः तपाईं डेरामा बस्नुहुन्छ ? कसैलाई डेरा दिँदै हुनुहुन्छ ? यस्तोमा डेरा दिने र बस्ने दुवैले अनिवार्य सम्झौता गर्नुपर्ने भएको छ । सरकारले नगर क्षेत्रभित्र घर वा कोठा भाडामा बस्ने संस्था वा व्यक्ति र घरधनीबीच सम्झौता गरी नगरपालिकामा पठाउनुपर्ने व्यवस्था गर्न लागेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले स्थानीय स्वायत्त शासन ऐन र नियमावलीबमोजिम नगरपालिकाले उठाउन पाउने घर बहाल कर संकलन गर्ने व्यवस्थाअनुरूप घरधनी र डेरामा बस्नेबीच सम्झौता गर्नुपर्ने नियम लागू गर्न लागिएको बताए ।

उनले भने, ‘यसले एउटा कस्तो मान्छे कहाँ बसेको छ भन्ने सूचना सरकारसँग हुन्छ भने अर्को नगर क्षेत्रभित्रका घरधनीले घर बहाल कर तिर्ने परिपाटीको विकास हुनेछ ।'

मन्त्रालयले मुलुकभरका सबै दुई सय १७ नगरपालिकालाई निर्देशन दिएको छ । निर्देशनपत्रमा उल्लेख छ, ‘कर संकलन प्रयोजनका लागि प्रत्येक घरपरिवारको अभिलेख राखी नगरपालिकाले करको विवरण र तिर्नुपर्ने समय सम्बन्धित करदातालाई उपलब्ध गराई घरघरबाट कर संकलन गर्ने अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ ।'

घर बहालसम्बन्धी सम्झौतापत्रमा पहिलो पक्ष घरधनीले दोस्रो पक्ष बहालमा बस्नेबाट लिने मासिक रकम उल्लेख गर्नुपर्नेछ । घरको सुरक्षा, सरसफाइ र सामान्य मर्मत दोस्रो पक्षले गर्नुपर्नेछ भने ठूलो मर्मत गर्नुपरे पहिलो पक्षले गर्नेछ ।

प्रथम पक्षले दोस्रो पक्षलाई फोहोर फाल्ने, पानी, बिजुली प्रयोग गर्न दिने र सुविधा उपयोग गरेबापत दोस्रो पक्षले आपसी सहमतिमा निर्धारण गरेको दरमा प्रथम पक्षलाई बुझाउनु पर्नेछ ।

सम्झौतामै वार्षिक दस प्रतिशतका दरले घर बहाल रकम वृद्धि हुने उल्लेख छ । अब मन लाग्नासाथ फुत्त डेरा छाड्ने अवस्था हुनेछैन । सम्झौतापत्रमा कति समयसम्मका लागि सम्झौता गर्ने हो र त्यसको म्याद सकिनुअघि नै घर खाली गराउन चाहेमा ३५ दिनअघि नै प्रथम पक्षले जानकारी दिनुपर्ने छ । दोस्रो पक्षले पनि घर छाडी जान चाहेमा प्रथम पक्षलाई ३५ दिनअघि नै जानकारी दिनुपर्ने छ ।

प्रथम पक्षले सम्झौताविपरीत आधारभूत सुविधा उपलब्ध नगराएमा वा दोस्रो पक्षले घरको हानिनोक्सानी हुने काम गरेमा, घरको सुरक्षा र वातावरणमा प्रतिकूल असर पर्ने कुनै काम गरेमा जुनसुकै समयमा पनि सम्झौता रद्द हुने प्रावधान राखिएको छ ।

मन्त्रालयको नगरपालिका व्यवस्था महाशाखाका प्रमुख गोपीकृष्ण खनालले पहिलोपटक लागू गर्न लागिएको यस्तो व्यवस्थाले घर वा डेरा दिने वा बस्ने दुवै व्यवस्थित हुने जानकारी दिए ।

‘यसपछि आपराधिक मनोवृत्तिका व्यक्तिबाट घरधनीलाई आइपर्ने समस्या पनि सुल्झिनेछ भने घरधनी र डेरा बस्ने दुवैले मनलागी गर्न पाउने छैनन्', खनालले भने, ‘घरधनीले सम्बन्धित वडा कार्यालयमा सम्झौतापत्र बुझाउनु पर्नेछ । कसैले सम्झौता नगरेको वा वडामा पेस नगरेको पाइएमा सामाजिक परिचालक घरमै पुग्नेछन् ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.