चुनाव हुन्छ त ? ओलीको प्रश्नमा देउवाको जबाफः हुन्छ, हुन्छ, हुन्छ
काठमाडौंः ‘चुनाव हुन्छ त ? ' आफूतिर आएको प्रश्न कांग्रेसका सभापतितिर पन्छाए एमाले अध्यक्ष केपी ओलीले । ‘गर्ने हो, स्थानीय निर्वाचन हुन्छ, हुन्छ, हुन्छ', देउवाले जबाफ फर्काए ।
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा राजधानीको शंखपार्कभित्र एमालेको चियापानमा सहभागी हुन प्रवेश गर्दा सबैका आँखा उनीतिरै हुत्तिए । एमालेको चियापानमा देउवा र मधेसवादी दलका नेतासँग सञ्चारकर्मीले जिज्ञासा राखेका थिए । कार्यक्रममा एमाले अध्यक्ष ओलीले स्वागत गरेपछि देउवालाई सँगै बस्न आग्रह गरे । लगत्तै सञ्चारकर्मीले प्रतिक्रियाका लागि आग्रह गरे ।
‘संविधान संशोधनमा के गर्नुहुन्छ ? ' प्रश्न आफूसँग सम्बन्धित नभएको संकेत गर्दै ओलीले देउवातिर जबाफका लागि औंल्याए । देउवा ‘म के बोलौं' भन्दै पन्छिए ।
‘एमालेले त संविधान संशोधन आवश्यक छैन भनिरहेको छ, तपाईंहरू के गर्नुहुन्छ' भन्ने जिज्ञासामा देउवा केही नबोली मुस्काइरहे । सँगै बसेका कांग्रेस नेता रामचन्द्र पौडेलले मौनता तोडे, ‘एमालेले संविधान संशोधन हुन सक्दैन भनेको छैन । संविधान संशोधनको औचित्य मागेको छ ।' त्यसपछि भने देउवाले थपे, ‘मिलेरै संविधान संशोधन गर्ने हो । उहाँहरूले पनि सहमति जनाउनुहुन्छ भन्ने विश्वास छ । सबै विषयमा सहमति छैन, छलफल गरेर सहमतिमा पुग्ने हो ।'
प्रश्न ओेलीतिर खनियो, ‘तपाईंहरू संविधान संशोधन प्रस्ताव आयो भने के गर्नुहुन्छ ? ' ओलीले जबाफ दिए, ‘यो शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रम हो । सबै पक्षलाई पाहुनाका रूपमा बोलाएको छु । यहाँ राजनीतिक कुरा नगरौं । राजनीतिक कुरा गरेपछि पक्ष-विपक्ष हुन्छ । म यत्ति भन्छु संविधान कार्यान्वयन गर्न सबै मिल्नुपर्छ ।'
संविधान कार्यान्वयन गर्न चुनाव हुनुपर्छ तर हुन्छ त भन्ने अर्को प्रश्नमा ओली मौन थिए । देउवातिर देखाउँदै उनले भने, ‘म पनि यही माग गरिरहेको छु, चुनाव त गर्ने हो नि होइन, चुनाव हुन्छ नि ? '
देउवाले हाँस्दै ओलीलाई उत्तर दिए, ‘चुनाव गर्ने हो । चुनाव त हुन्छ, हुन्छ, हुन्छ !' ओलीमाथि फेरि जिज्ञासा थपियो, ‘कांग्रेसलाई अघाएर सुतेको बाघ भन्नुहुन्थ्यो । आज नेता यहीं छन्, के भन्नुहुन्छ ? '
ओलीले जबाफ दिए, ‘कांग्रेस सुतेको भएर त मैले बेलाबेलामा जगाइरहेको छु ।' ओलीमाथि अर्को प्रश्न थियो, ‘सुतेको बाघलाई जगाउनु त राम्रो होइन होला नि ? '
ओलीले जबाफ फर्काए, ‘बाघ त होइन । सानोतिनो के भनौं भनेर बाघ भनेको हुँ ।'
चियापानमा सहभागी हुन गएका नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले भने संविधान संशोधन गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने गरी प्रस्ताव तयार गर्नुपर्ने बताए । एमालेसँग असन्तुष्ट रहँदै आएका मधेसकेन्द्रित दलका नेता पनि चियापानमा सहभागी थिए ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर पार्टी उपाध्यक्ष वृशेषचन्द्र लालसाथ सहभागी थिए । ओलीका कट्टर विरोधीका रूपमा रहेका ठाकुर चियापानमा सहभागी हुनुलाई अर्थपूर्ण रूपमा लिइएको छ । ठाकुरले चियापानमा कुनै प्रतिक्रिया जनाएनन् ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पनि एमालेको चियापान कार्यक्रममा सहभागी थिए । गच्छदारले संविधान कार्यान्वयनका लागि प्रमुख तीन दल सहमतिमा आउनुपर्ने प्रतिक्रिया दिए । उनले संविधान संशोधनका विषयमा एमाले बाधक रहेको भन्ने आफूलाई नलागेको बताए । ‘एमाले संविधान संशोधनको बाधक भएको भन्ने होइन ।
उसले संशोधनको औचित्य खोजेको हो', गच्छदारले भने, ‘सत्ता पक्षले संविधान संशोधनको औचित्य प्रस्तुत गर्ने गरी छलफल अघि बढाएकै छैन ।' संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरी राजनीतिक निकास नआउने भएकाले सबै मिलेर सहमति कायम गरी निकास दिनुपर्ने बताए ।