८७ वर्षीय वृद्ध २५ वर्षदेखि हरियाली प्रवद्र्धनमा
पोखराः ८० वर्ष नाघेका वृद्ध हजुरबुबाको दिनचर्या सामान्यतः घरमै बित्छ नातीनातिना र छोराछोरीका बीचमा पुराना दिन सम्झेर । अशक्त शरीर, लट्ठीको सहारामा सकीनसकी यताउति गर्नेदेखि छोराबुहारीबाट हेला भएर दुःखी जीवन बिताउने हजुरबुबाहरू पनि छन् । पोखराका चौतारीमा आफ्नै उमेरका साथीसँगीका साथ गफिएर बसेका वृद्धहरू पनि देखिन्छन् ।
पोखरा उपमहानगरपालिका १६ बाटुलेचौरका ८७ वर्षीय प्रेमबहादुर बानियाँको दैनिकी भने २५ वर्षदेखि आफैंले रोपेर हुर्काएका बिरुवा स्याहार गर्न र नयाँ बिरुवा रोप्नमै बित्छ । बिहान नित्य कर्म सकेर चिया खाएपछि उनी स्फूर्तिका साथ बाहिर निस्कन्छन् । बाटुलेचौरको विन्ध्यवासिनी माविअगाडि मैदानचोकमा आफूले रोपेका ५० बिरुवामध्ये सानो बिरुवाको स्याहार गर्छन् । ठूला बिरुवालाई स्पर्श गर्छन् ।
गोडमेल गर्छन् । बिरुवाको सुरक्षाका लागि बाँसले बारेको बार भत्किएको भए बाँस तानतुन र बाँधबुँध गर्छन् । केटाकेटी झुन्डिएर र गाईबस्तुले धक्का दिएर बिग्रेका फलामका ट्रिगार्ड मिलाउँछन् । गाईभैंसीले बाटोमा गोब्र्याएको गोबर समेल्छन् र आफूले रोपेको बिरुवामा राख्छन् ।
स्थानीय बालबालिकालाई बिरुवा जतन गर्न पनि सुझाउँछन् उनी । मध्याह्न खाना खान्छन् र केहीबेर आराम गरेपछि फेरि बिरुवा स्याहार गर्न समय खर्चन्छन् । खाना खाएपछि उनी घरभन्दा बीस मिनेट परको सेती नदीको किनार राम्चे तुलसीघाटमा आफैंले रोपेका बिरुवाको अवस्था बुझ्न र स्याहार गर्नमा लाग्छन् ।
सेतीकिनार बगरका ढुंगा आफैंले बटुलेर बिरुवाको वरपर ढुंगाको पर्खाल लगाएर उनले बिरुवा हुर्काएका छन् । दुई वर्षअघि वैशाखमा सेतीमा आएको बाढीले रोपेका केही बिरुवा कटानमा परेको उनले सुनाए । त्यसपछि उनले फेरि त्यही स्थानमा बिरुवा रोपेका छन् । सार्वजनिक चौर, विद्यालय, अस्पताल परिसरसमेत गरी करिब एक हजारभन्दा बढी बिरुवा हुर्काएको उनी सुनाउँछन् ।
२०५७ सालदेखि यो अभियानमा लागेका बानियाँ निरन्तर यसैमा जुटेका छन् । पोखरा विमानस्थलमा सुपरभाइजर पदमा कार्यरत थिए उनी । २०४२ साल फागुनमा अवकाश पाएका उनी स्वदेश र भारतका विभिन्न मन्दिरको दर्शन गर्न तीर्थ गए । घुमघाम गरे । त्यसपछि हरियाली प्रवद्र्धनमा लागेका उनले सुनाए । पहिले पोखरामा अहिलेको जस्तो गर्मी थिएन ।
पहिलेभन्दा अहिले गर्मी बढ्दै गएको उनी बताउँछन् । ‘सवारीसाधन बढे । पुराना सवारीसाधनले कालो धुवाँको मुस्लो नै फाल्दा हामीले फेर्ने हावा पनि बिग्रँदै गयो । अक्सिजन बढाउने र हावा स्वच्छ राख्ने काम रूखबिरुवाले गर्छ', मनैभित्रबाट यस्तो चेत आएपछि आफू यो अभियानमा जुटेको सुनाउँदै उनले भने । बिरुवा हुर्काउने काम मान्छेको बच्चा हुर्काउनुजत्तिकै गाह्रो भएको उनले सुनाए ।
पहिलेपहिले चोकचोकमा चौतारा हुन्थे । लामो हिँडाइपछि थकान बिसाउने र शीतल ताप्ने सहारा तिनै चौतारी हुन्थे । वर, पीपल र शमीका ठूलाठूला बोटवरपर ढुंगाको पर्खाल लगाएर चौतारी बनाइन्थ्यो । ठूलाठूला आँप, चाँप, सिमललगायतका रूख पोखराका ठाउँठाउँका चौरमा थिए । चौपाया र चराचुरुंगीलाई पानी खुवाउन प्रायः सबै वडाका पाटनहरूमा पोखरी पनि बनाइएका थिए । ‘अहिले न पुराना ठूल्ठूला रूख देख्न पाइन्छ, न त पोखरी नै', उनी भन्छन् । ठूला र खुला पाटन नै लोप भएकोमा उनी चिन्तित छन् ।
‘यसैले मैले बिरुवामात्र रोपिनँ, आफूले रोपेका बिरुवा हुर्काएँ र चौतारी पनि बनाएँ', उनी भन्छन् । अहिले उनले बनाएका ५ वटा चौतारामा रहेका वर, पीपल र एक हजारभन्दा बढी रूखबिरुवाले अक्सिजन छोडिरहेका छन् ।
बिरुवा रोप्न र हुर्काउन आफूले जागिरबाट पाएको रकम र वृद्धभत्तासमेत यसैमा खर्च गरेको यी वृद्धले सुनाए । नर्सरीबाट बिरुवा किन्ने, बिरुवा रोप्नुअघि खाल्टो खन्ने, मलजल गर्ने, ट्रिगार्ड किन्ने र आफ्नो कामलाई सहयोग गर्ने आवश्यकताअनुसार कामदार लगाउँदा ठूलो रकम खर्च भएको हो ।
वृद्धभत्ता पनि बिरुवा रोप्ने र हुर्काउने काममा लगाएका छन् । बिरुवा संरक्षणका लागि केही ट्रिगार्ड पोखरा उपमहानगरपालिका गुहारेर पनि जुटाएको उनले बताए । वर, पीपल, शमी, अशोकलगायत विभिन्न स्थानमा ३२ जातका बिरुवा रोपेको उनले सुनाए । बिरुवा रोपेर हरियाली प्रवद्र्धन गरेका उनले विद्यालय निर्माण, अस्पताल निर्माणलगायत विभिन्न सामाजिक काममा आर्थिक सहयोगसमेत गरेका छन् ।
हिजोआजका युवा आफूले गरेका हरेक काम फेसबुकमार्फत सार्वजनिक गर्छन् । पत्रिका र रेडियोमा समाचार आओस् भन्ने चाहन्छन् । एकपटक बिरुवा रोप्यो, बस् पुग्यो । आफू मनैदेखि हरियाली प्रवद्र्धनमा लागेको उनले बताए ।
श्रीमती, छोराबुहारी र नातीनातिनाको समेत अभियानमा सहयोग रहेको उनले सुनाए । ८४ वर्षीया श्रीमती पदमकुमारी पनि आफ्नो कामबाट खुसी भएको उनले सुनाए । बाबाको सामाजिक अभियानले यस क्षेत्रको हरियाली प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएको छोरा रामबहादुर बानियाँले बताए ।