दसैंंले बोकायो ऋणको भारी

दसैंंले बोकायो ऋणको भारी

सुर्खेतः धेरैलाई खुसी र हर्ष दिएर बिदा भएको यसपालिको दसैं बाढीपीडितका लागि भने सुखद बन्न सकेन । सुर्खेतका विभिन्न अस्थायी शिविरमा बस्दै आएका बाढीपीडितले पछिल्ला तीनवटा दसैं जसोतसो टहरामै मनाएका छन् । त्रिपालमुनि बसेको साढे दुई वर्षसम्म पनि बस्ने बास र खाने गाँसको टुंगो नलाग्दा बाढीपीडितले यसपालिको दसैं पनि ऋण मागेर मनाए ।

२०७१ साउनमा आएको बाढी र पहिरोमा घरबार गुमाएका बाढीपीडितले २०७१, अघिल्लो वर्ष र यसपालिको दसैं टहरामै मनाए । घरबारविहीन भएको र आम्दानीको अर्को विकल्प नहुँदा बाढीपीडितले छिमेकी, आफन्त र साहूसँग ऋण मागेर दसैं खर्च टारेका छन् ।

दैनिक छाक टार्नसमेत समस्या झेल्दै आएका यहाँका बाढीपीडितले बालबालिकाको रहर पूरा गर्न र उनीहरूको दबाब थेग्न नसकेर ऋण मागेर दसैं मनाउन बाध्य भए । दसैंका लागि नयाँ लुगा, मासु र अन्य सामान जुटाउँदा उनीहरूमाथि थप ऋणको भारी थपिन पुगेको हो । दसैं खर्च जोहो गर्दा थप ऋण बढेपछि बाढीपीडित निराश बनेका छन् ।

भेरीको बाढीले घरखेत बगाएपछि गिरीघाट शिविरमा बस्दै आएकी खगिसरा घर्तीको परिवारका सदस्यले रातदिन नभनी खोलामा गिट्टी कुटेका थिए । त्यही गिट्टी बेचेर दसैं खर्च जोहो गर्ने खगिसराको योजना अधुरै रह्यो । हातमा फोका उठ्ने गरी कुटेको गिट्टी बिक्री भएन । ‘यही गिट्टी बेचेर दसैंमा नयाँनौलो किन्ने सोचेका थियौं तर गिट्टी नै बिक्री भएन', खगिसराले भनिन्, ‘त्रिपालको बास छ, आम्दानी हुने अरू बाटो छैन ।

केटाकेटीको रहर पूरा गर्न पनि साहूसँग ऋण मागेर दसैं मनायौं । यसपालिको दसैंले पनि हामीलाई ऋणको भारी बोकाएर गयो ।' आफूहरूले सुरुमा दसैं नमनाउने अठोट गरेको भए पनि बालबालिकाले नमानेपछि छिमेकीसँग ऋण मागेर दसैंमा मासुको जोहो गरेको उनको भनाइ छ । उनका अनुसार शिविरका अधिकांश परिवारले यसपालि आफन्तसँग ऋण मागेरै दसैंको खर्च टारेका छन् ।

सरकारी तथा गैरसरकारी संघसंस्थाले राहत तथा सहयोग उपलब्ध गराउन छोडेपछि बाढीपीडितले गिट्टी बिक्री गरेर छाक टार्दै आएका छन् । यसपालिको दसैंमा पनि अधिकांश परिवारले गिट्टी बेचेर खर्च जोहो गर्ने योजना बनाएका थिए तर गिट्टी बिक्री नभएपछि दसैं निरस भएको दुखेसो उनीहरूले पोखेका छन् ।

शिविरमा बस्दै आएका पहलसिंह थापाले भने, ‘कमाउन कालापहाड गएकाहरू पनि फर्केनन् । यता दुःख गरेर कुटेको गिट्टी पनि बिक्री भएन । अरूले मनाएको देखेर केटाकेटीले हैरान गरे । केही उपाय नलागेपछि हामीले ऋण र सापटी गरेर दसैं बिदा गर्‍यौं ।' उनले आफूहरूका लागि पछिल्लो तीनवटा दसैंले केवल ऋणमात्र बोकाएको दुखेसो पोखे । उनका अनुसार शिविरका केही परिवारले दसैं नमनाएको भए पनि केहीले भने ऋण गरेरै दसैं मनाएका छन् । यसले गर्दा धेरै विस्थापित परिवारलाई यसपटकको दसैं ऋण बोकाएर बिदा भएको छ ।

जसोतसो दसैंलाई बिदा गरे पनि अर्को ठूलो चाड तिहार नजिकिन लागेको भन्दै विस्थापितले चिन्ता गरेका छन् । विस्थापित धनमाया कठायतले भनिन्, ‘अरू बेला त जसोतसो छाक टारेकै छौं । हाम्रा लागि चाडपर्व नआए पनि हुन्थ्यो । खुसी र हर्ष त परै जाओस्, उल्टै ऋणको भारी बोक्नुपरेको छ ।'

उनले दसैं गए पनि आउँदै गरेको तिहारको खर्च कसरी जोहो गर्ने भन्ने पिरलो बढेको सुनाइन् । सरकारले समयमा नै पुनस्र्थापना नगर्दा आफूहरूले चाडपर्व पनि राम्रोसँग मनाउन नपाएको गुनासो उनीहरूको छ । उनीहरूले तत्काल आफूहरूलाई उपयुक्त विकल्प दिनसमेत सरकारसँग माग गर्दै आएका छन् । अहिले जिल्लाका विभिन्न शिविरमा दुई सयभन्दा बढी परिवार बस्दै आएका छन् ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.