'अन्तर्राष्ट्रिय उडानको तयारीमा छाैं'
सुधिर मित्तलले हेलिकोप्टर सेवा प्रदायक कम्मनी श्री एयरलाइन्सलाई फिक्स विंग्समार्फत आन्तरिक र अन्तर्राष्ट्रिय उडानको सेवा विस्तार गर्ने योजना अगाडि सारेका छन् । नेपालमा सम्मानजनकरूपमा व्यवसाय सञ्चालन गरी युवाशक्तिमा रोजगारी सिर्जनाको अवसर बढाउनुपर्ने दीर्घकालीन सोचाइ भएका मित्तल स्पष्ट दृष्टिकोण भएका व्यक्ति मानिन्छन् । नेपालको आन्तरिक हवाई उडानमा स्थायित्व पाउन निकै चुनौती व्यहोरिरहेको समयमा दृढ इच्छाशक्ति र उच्च मनोबलकासाथ हवाई उड्डयनमा लगानी गर्न तम्सिएका मित्तलसँग ‘नेपालको हवाई उड्डयनको सम्भावना र श्री एयररलाइन्सको आगामी रणनीति' मा केन्द्रित रहेर अन्नपूर्ण संवाददाता राजु बास्कोटाले गरेको कुराकानीको प्रमुख अंशः
श्री एयरलान्इसले एकैपटक आन्तरिक र वाह्य उडान सञ्चालन गर्दै हवाई सेवाको पहुँच विस्तारको योजना अगाडि सारेको छ । यो कत्तिको चुनौतीपूर्ण छ ?
मैले हवाई क्षेत्रमा काम थालेपछि यसैलाई निरन्तरता दिनुपर्छ । यसैमा लाग्ने भएपछि यसको पहुँच र क्षमतालाई बढाएर जाने विचारले योजना बनाएरै अगाडि सरेको हुँ । मेरो बुबाले स्थापित गरेको हेलिकोप्टरको व्यवसायलाई निरन्तरता दिन र थप जिम्मेवारीकासाथ अगाडि बढ्न पनि यस्तो योजना अगाडि सारेको हुँ । मेरो मुख्य योजना त आन्तरिक नभएर अन्तर्राष्ट्रिय उडान नै हो । आन्तरिकमा त बुद्ध, यती र सिम्रिक एयरले राम्रै योगदान पुर्याएका छन् । अरु थप आन्तरिक वायु सेवाको आवश्यकता तत्कालका लागि नदेखिए पनि हामीलाई पर्यटन मन्त्रालयले पहिले आन्तरिक उडान गर्न र त्यसपछि मात्रै अन्तर्राष्ट्रिय उडानमा जान सुझाव दिएको छ ।
सीधै अन्तर्राष्ट्रिय वायुसेवाकै उडानमा नै जान पनि त सकिन्थ्यो नि ?
हामी अन्तर्राष्ट्रिय उडानमा अनुभवी छौं । हामीले एमआए १७ नामका ठूला हेलिकोप्टर अन्तर्राष्ट्रिय उडानमा नै प्रयोग गरिरहेको छौैं । संयुक्त राष्ट्र संघ (युएन) मार्फत अफ्रिकी मुलुकमा संयुक्त राष्ट्र संघकै शान्ति मिसन र विश्व खाद्य कार्यक्रमको लागि ६ वर्षदेखि नियमित रूपमा हेलिकोप्टर उडाइसकेको अनुभव हामीसँग छ । त्यसैले अब हामी सीधै जहाज उडान गर्न सक्ने अवस्थामा छांै । मन्त्रालयले केही समय आन्तरिक उडानको अनुभवपछि अन्तर्राष्ट्रिय उडानमा जान अनुमति दिएकोले सोहीअनुसार तयारी गरेका हौं ।
नियमित उडानको जहाज सञ्चालन गर्न हेलिकोप्टर उडानकै अनुभवले सहज होला त ?
हेलिकोप्टर (रोटर विंग्स) र फिक्स विंग्स ( पंखा जडित जहाज) सञ्चालन गर्नु खासै फरक हुँदैन् । आखिर दुवै उडान जहाजकै हो । हेलिकोप्टर र जहाज उडानको सबै प्रोसिड्युअर एउटै हो । सेफ्टी स्यान्डर्ड एकै किसिमको हुन्छ । गुणस्तर कायमका लागि तोकिएको मापदण्ड पनि एकै प्रकारको छ । मेरो बुझाइमा त हेलिकोप्टरभन्दा फिक्स विङस (पंखा जडित) नियमित उडानका जहाज उडाउन थप सहज हुन्छ ।
आन्तरिक उडानको सुरुवात गर्नु भनेको श्री एयरलाइन्सको निम्ति अन्तर्राष्ट्रिय उडानको आधार तयार गर्ने मात्रै हो र ?
हामीले पहिले आन्तरिक उडान सुरु गर्न अनुमति पाएका छौं । अहिले आन्तरिकबाट नै नियमित उडानको सेवा सुरू गर्छौं । त्यसपछि मेरो दीर्घकालीन लक्ष्य अन्तर्राष्ट्रिय उडान नै हो । ६/८ महिना आन्तरिक उडानको अनुभव हासिल गर्ने र अन्तर्राष्ट्रिय उडानको प्रक्रिया पनि सुरू गर्छौं ।
अन्तर्राष्ट्रिय उडानको प्रक्रिया पूरा गर्न मात्रै आन्तरिक उडान गर्ने योजना बनाउनु भएको हो ? हामीले आन्तरिक खोजेकै होइन । हामीले खोजेको क्षेत्रीय अन्तर्राष्ट्रिय उडान नै हो ।
हुन त यो एभिएसन उद्योग एकैपटक १०/२० वटा जहाज किनेर लामो दूरीको गन्तव्यमा उडान गर्छु भनेर लाग्न सकिने क्षेत्र पनि हो । एकैपटक अमेरिका, यूरोप उडान गर्छु भनेर लागियो भने सफल हुन सकिएला तर सानो कमजोरी मात्रै भयो भने लगानी डुब्न पनि सक्छ । मेरो बुबा बनवारीलाल मित्तलको अनुभवबाट के सिक्न सकिन्छ भने गर्दै जाने र सिक्दै पनि जाने हो । हामीले पनि सानो कदमबाट व्यवसाय विस्तार गर्दै जाने मेरो बुझाइ हो ।
आन्तरिक उडानको तयारी चाहिँ कहाँ पुगेको छ ? संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट इजाजत पत्रको अनुमति लिने काम सकेर नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सञ्चालन उडान अनुमति (एओसी) लिन आवेदन दिएका छौं । प्राधिकरणमा आवेदन दिने, डकुमेन्ट तयार पार्नेदेखिको चरणबद्ध काम गर्नुपर्ने हुन्छ ।
यसका लागि प्राधिकरणले जति समय लगायो हाम्रो उडान पनि त्यति नै समयसम्म लम्बिन्छ । प्राधिकरणले दुई महिनामा एओसी दियो भने हामी त्यति नै बेला नै उडान गर्न सक्छौं । एओसीको प्रक्रियामा हामी अगाडि बढिरहेका छौं । जहाज पनि तयारी अवस्थामा नै भएकोले अनुमति पाएलगत्तै उडान गर्न सक्ने गरी तयारीमा छौ ।
जनशक्तिको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
जहाज उडाउन चाहिने मुख्य जनशक्ति भनेकै पाइलट र इन्जिनियर हुन् । यो जनशक्ति तयारी अवस्थामा नै छ । एउटा जहाज उडाउने पाइलटले अर्को प्रकारको उडान गर्नुपर्दा टाइप रेटिङको तालिम दिनुपर्छ । यो तालिम दिने जर्मनीको लुफ्थान्सासँग सहमति भएको छ । एउटा प्रकारको जहाज उडाइरहेको पाइलट तथा इन्जिनियरलाई अर्को प्रकारको जहाज उडानमा प्रयोग गरिने भएकोले आवश्यक तयारी करिब पुगेको छ । अरु जनशक्तिको व्यवस्थापन मिलाउन कठीनाइ छैन ।
आन्तरिक उडानमा कुन प्रकारको जहाज प्रयोग गर्दै हुनुहुन्छ ?
क्यानडाको बम्बाडियन कम्पनीले बनाउने सीआरजे २०० नामक ५० सिट क्षमताको जहाज हो । यस्तो जहाज नेपालमा सौर्य एयरलाइन्सले सफलताका साथ उडाइरहेको छ । हामीले तीनवटाको योजना बनाएको भए पनि तत्कालका लागि दुईवटा ल्याउछौं । यो जहाजलाई आन्तरिक उडानमा प्रयोग गर्ने र अन्तर्राष्ट्रियमा गएपछि पनि त्यही जहाजले उडान भर्न सक्छ । यसको क्षमता काठमाडौंबाट सीमा क्षेत्रका गन्तव्य चेन्नाई, हैदराबाद र मुम्बइसम्म उडान गर्न सक्छ ।
आन्तरिक उडान गर्दै गर्दा अन्तर्राष्ट्रिय योजना पनि बनिसकेको हुन्छ ?
हामीले आन्तरिक उडान गरेको ६ महिनाछि अन्तर्राष्ट्रिय सेवा पनि दिन सकिन्छ भन्ने योजनामा छौं । यसका लागि पहिले हाम्रो प्राथमिकताको क्षेत्र भारतीय सहर नै हो । भारतमा उडान अनुमति तथा सेक्युरिटी क्लीयरेन्सको लागि केही समय लाग्छ । करिब ६÷८ महिनाको समय भारतको उडान अनुमति लिनमा लाग्न सक्छ । भारतमा उडान अनुमतिको निवेदनकै लागि पनि अन्तर्राष्ट्रिय उडानमा जहाजको अनुमति हुनुपर्छ । भारतले समय लगाउने भएकोले पनि हामीले छिटो अन्तर्राष्ट्रिय उडानको अनुमति लिन सम्बन्धित नियकासमक्ष आवश्यक प्रक्रियासहितको निवेदनको चरणमा छौं।
अन्तर्राष्ट्रिय उडानमा ठूला जहाज सञ्चालन गरिरहेको विदेशी वायुसेवासँगको प्रतिस्पर्धा गर्नुपर्छ स्रोतको व्यवस्थापन कस्तो छ ?
हामीले लामो समय हेलिकोप्टर उडाएकोले प्रमाणित गर्नुपर्ने जरुरी छैन । अफ्रिकाजस्तो ठाउँमा टेन्डर जितेर रसियन पाइलट नै राखेर त्यही रसियन जहाजसँग प्रतिस्पर्धा गरेर उडान गरिरहेका छौं । हामीले दिएको सेवालाई नै हरेक तीन महिनामा मूल्यांकन गरेर एक्सिलेन्ट भनेर प्रमाणपत्र पनि दिएको छ । ठूला जहाजसँग प्रतिस्पर्धा गर्ने विषयमा पनि हामीले यस अघि नै सुरु गर्न सकेको भए विदेशी वायुसेवाले लैजाने पैसा नेपालमा नै हुन्थ्यो । अहिले नेपालबाट ठूलो मात्रामा विदेशी जहाजले हवाई टिकेटमार्फतको पैसा लगेका छन् । हामीले नेपाली वायुसेवाबाट विदेशीने पैसालाई केही हदसम्म रोक्ने प्रयास गर्न सक्छौं ।
वाई उड्डयनको क्षेत्र आफैंमा ठूलो लगानीको क्षेत्र हो, श्री एयरलाइन्सका लागि कस्तो योजना बनाउनुभएको छ ?
हवाई उड्डयन क्षेत्रमा लगानी यती नै हुन्छ र गर्नुपर्छ भन्ने सीमा छैन । तर, पनि हामीले ल्याउने तीनवटा जहाज र पूर्वाधार तयार पार्दासम्म दुई अर्ब रुपैयाँ लगानी हुन्छ भन्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय उडान विस्तार गर्दै जाँदा लगानी पनि बढ्न सक्छ ।
वित्तीय संस्थासँगको चर्को ब्याजदर र बिमाको अधिक प्रिमियमले पनि यो क्षेत्रमा जोखिम बढाउँछ नि ?
नेपालमा व्यवसाय गर्नु र बढी ब्याजदर हुनु सबै नेपालका लागि एउटै समस्या हो । बिमा प्रिमियमको विषय भने दुर्घटना बढ्दै जाँदा बढ्दै गएको पक्कै हो । दुर्घटनाबाट खर्च हुनेभन्दा प्रिमियबाट पाउने रकम कम भए पनि यसको शुल्क बढ्नु पनि स्वाभाविक नै हो ।
तपार्इंसँग विश्व बैंकसँग बसेर काम गर्नुभएको अनुभव छ । विश्व बैंकसँग ऋणलिँदा तुलनात्मक रूपमा कम ब्याजदर पर्छ भनिन्छ । यसतर्फ पनि कुनै सोचाइ बनाउनुभएको छ ?
हाम्रो परियोजना त्यति ठूलो होइन । आईएफसीसँग नै ऋणका लागि जानुपर्छ भन्ने छैन । जलविद्युत् भएको भए मैले त्यतातर्फ पनि विचार गर्न सक्थे । आर्ईएफसीले दिने ऋण डलरमा नै हो । हामीले त्यसलाई नेपालीमा बदलेर लिने हो । मैले आएइएफसीसँग नेपालकै कन्ट्री डाइरेक्टर भएर काम गर्दा सरकारलाई बारम्बार नेपाली रुपैयाँमा बन्ड जारी गर्न आग्रह गरेका थियौं । तर, त्यो भएन । आईएफसीको स्ट्रेन्थ ब्याजदरमा होइन समयमा हो ।
मेरो बुबाले स्थापित गरेको हेलिकोप्टरको व्यवसायलाई निरन्तरता दिन र थप जिम्मेवारीकासाथ अगाडि बढ्न पनि यस्तो योजना अगाडि सारेको हुँ ।
हामी अन्तर्राष्ट्रिय उडानमा अनुभवी छौं । हामीले एमआए १७ नामका ठूला हेलिकोप्टर अन्तर्राष्ट्रिय उडानमा नै प्रयोग गरिरहेको छौं । जहाज उडाउन चाहिने मुख्य जनशक्ति भनेकै पाइलट र इन्जिनियर हुन् । यो जनशक्ति तयारी अवस्थामा नै छ ।
अहिले आफैं गर्ने हो । कुनै साझेदार र संयुक्त लगानीको योजना छैन ।
संयुक्त लगानीको योजना छैन ? अहिले आफैं गर्ने हो । कुनै साझेदार र संयुक्त लगानीको योजना छैन । भोलिका दिनमा काम राम्रो गर्दै जान सकेको अवस्थामा १०/१५ वटा जहाज भयो भने संयुक्त लगानीका बारेमा पनि सोच्न सकिन्छ ।
नेपालको हवाई उड्डयन क्षेत्रको कालोसूचीले श्रीको हेलिकोप्टरमा पनि असर परेको थियो, अहिले अवस्था कस्तो छ ? राम्रो काम गर्दा पनि नेपालको उड्डयन क्षेत्र कमजोर भएको अन्तर्राष्ट्रिय नागरिक संगठनको प्रतिवेदनपछि यूनएनले हाम्रो ठेक्का सम्झौता तोडेको हो । ईयूको कालोसूचीमा परेको भनेर नेपाल सरकारबाट पनि कुनै पहल नभएका कारण हामीले पटकपटक सरकारसँग अनुरोध गर्दा पनि अझै केही भएको छैन । हाम्रो केही गल्ती नहुँदा पनि चुप लागेर बस्न बाध्य छौं । अहिले नेपालमा दुईवटा , दुईवटा ओभरअलमा र दुईवटा अफ्रिकामा छन् ।
अफ्रिकामा नै राख्नुको कारण ?
काम पायो भने गर्ने भनेर हो । केहीगरी टेन्डर पायो भने एक सातामै उडाउनुपर्छ । नेपालबाट जान १५ दिनभन्दा बढी लाग्छ । त्यसैले टेन्डर पायो भने छिटो उडाउन सजिलो हुन्छ भनेर अफ्रिकामा नै राखेको हो । जबसम्म उड्डयन प्राधिकरणको कामजोरी हट्दैन तबसम्म यूएनले लिन्न भनेको छ । विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले भने लिएको छ । तर, उसको अहिले ठेक्का छैन ।