भक्तपुरमा नेपाली र अमेरिकी सेनाबीच सैन्य अभ्यास सुरु
काठमाडौंः नेपाली सेना र अमेरिकी सेना बीचको सैन्य अभ्यास भक्तपुरमा सुरु भएको छ । नेपाली सेनाको तालिम शिविर नगरकोटमा आइतबार सुरु भएको अभ्यास मंसिर ९ गतेसम्म चल्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
अमेरिकी सेनाको बी कम्पनी फस्ट बटालियन, फस्ट स्पेशल फोर्स ग्रुप र नेपाली सेनाको महावीर गण (रेन्जर) बीच ब्यालेन्स नेल सैन्य अभ्यास सुरु भएको हो । उक्त अभ्यासमा विभिन्न सैनिक युद्धकला लगायत अन्तराष्ट्रिय मानवीय कानुन, मानव अधिकार लगायत विषयमा समेत छलफल हुनेछ ।
अभ्यासमा सहभागी हुन असोज २७ मा अमेरिकी टोली काठमाडौ आएको थियो । अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदान प्रदान गर्न सहयोग पुग्ने निर्देशनालयले जनाएको छ ।
संयुक्त अभ्यासबाट दुई देश बिचको मैत्रिपूर्ण सम्बन्धलाई प्रगाढ र सौहार्द बनाउन सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ ।