हतारमा बिहे, फुर्सदमा स्कुल
सुर्खेतः सुर्खेतको छिन्चुस्थित प्रभात माविमा कक्षा सातमा पढ्दै गर्दा दीपा बिकले हतारमा भागेर विवाह गरिन् । १४ वर्षको उमेरमै विहे गरेपछि उनको पढाई बिचमै रोकियो । विहेपछि परिवारले घरको काममा मात्र दलाएपछि उनी तीन वर्षसम्म विद्यालय जान पाईनन् । पहिला हतारमा बिहे गरेकी उनले जब स्कुल जान पाइनन्, तब फुर्षदमा पछुताउनु पर्ने अवस्था आयो ।
पढेर ठूलो मान्छे बन्ने सानै देखिको उनको रहर बिहेपछि ओझेलमा पर्यो । आफ्नो रहर पूरा गर्न अन्ततः दीपाले आफैले रोजेको श्रीमान्सँग सम्बन्धविच्छेद नै गरिन् । श्रीमान्सँग डीभोर्स गरेकी दीपा अहिले पुनः साथीहरुसँगै झोला बोकेर नियमित विद्यालय जान थोलेकी छन् । अहिले कक्षा ९ मा पढ्दै गरेकी दीपा भन्छिन्,‘हतारमा विहे गरेँ, विहे भएपछि स्कुल नै जान पाईन । सँगैका साथीहरु डे«स लगाएर स्कुल जाँदा निकै पीडा हुन्थ्यो, म भने घरको काममा व्यस्त हुन्थेँ ।'
सानैदेखि नर्स बन्ने रहर पालेकी उनले विहे गरेपछि स्कुल जान नपाएको दुखेको पोखिन् । ‘ठेस लागेपछि थाहा हुँदो रहेछ, विहेपछि मात्र मेरो होस खुल्यो' उनले भनिन,‘मेरो सानैदेखि नर्स बन्ने रहर छ, त्यही रहर पूरा गर्न मैले घरबार नै त्यागिदिएँ । घरकाले स्कुल जान नदिएपछि डीभोर्स गर्न बाध्य भएँ, अहिले मलाई स्कुल जान रोक्ने कोही छैनन् ।'
मैनतडाकी १७ वर्षिया मञ्जु बिकलाई पनि परिवारले आर्थिक अवस्था कमजोर भएको भन्दै स्कुल पढाउन नसक्ने बताए । मञ्जुलाई स्कुल छोडेर विहे गर्न दबाब दिए । विवाह गर्न नमानेपछि उनको परिवारले सहयोग गरेन । जसले गर्दा एक वर्षसम्म उनको पढाइ रोकियो । पढ्ने रहर पूरा गर्न अन्ततः मञ्जुले घरपरिवार नै छोडेर हिँडिन् । अहिले छिन्चुमा ठूली आमाको घरमा काम गरेर पढ्दै गरेकी मञ्जुले भनिन्,‘मलाई विहे गर्ने रहर छैन, जागिर खाएर मात्र विहे गर्ने सोच छ । घरमा बस्दा विहेको मात्र कुरा गरे, त्यसैले मैले परिवार र घर छोडिदिएँ ।'
हाल १० कक्षामा अध्यनरत उनले बिचमा एक वर्ष स्कुल जान पाईनन् । तर अब जस्तोसुकै अवस्था आए पनि विद्यालय नछोड्ने उनको भनाइ छ । हतारमा विहे गर्दा र परिवारको दबाबमा विवाह गर्न नमानेकै कारण विद्यालय जान नपाएका किशोरीहरु आफ्नो पढ्ने रहर पूरा गर्नका लागि घरबार र परिवार नै त्यागेर विद्यालयमा फिर्ता हुन थालेका छन् । ति मध्ये दीपा र मञ्जु केवल प्रतिनिधीमुलक पात्र हुन् ।
जिल्लामा बिचमै विद्यालय छोडेकाहरु पनि हिजोआज पुनः विद्यालयमा भर्ना भएका छन् । प्रभात मावि छिन्चुमा ८ कक्षामा पढ्दै गरेकी सपना सुनारले आर्थिक अवस्थाका कारण बिचमै पढाई छोडिन । तर उनका दांैत्तरीले सम्झाएर स्कुलमा भर्ना गरे । स्थानीय किशोरीहरुले सपनाका लागि विद्यालय पोशाक, किताव र कपी सहयोग गरे । त्यसपछि उनी नियमित विद्यालय जान्छिन् । सपनाले भनिन्,‘गाउँका अरु साथीहरुले पनि स्कुल जान छोडे, त्यसपछि मलाई पनि पढ्न मन लागेन । दुई वर्षसम्म त म स्कुल गईन, अहिले साथीहरुले कर गरेपछि फेरी नाम लेखाएँ ।'
घरको आर्थिक अवस्था कमजोर, वालविवाह र अरुको लहलहीमा लागेर बिचमै विद्यालय छोडेकाहरु अहिले पुनः विद्यालयमा फिर्ता भएका छन् । बिचमै पढाई छोडेका किशोरीलाई विद्यालयमा ल्याउन जिल्लाका ग्रामीण क्षेत्रमा किशोरीहरु नै खटिएका छन् ।
किशोरीहरु सक्रिय भएपछि पुनः विद्यालयमा फिर्ता हुनेहरुको संख्या बढ्दै गएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । सहायक जिल्ला शिक्षा अधिकारी निलकण्ठ रेग्मीले भने,‘बिचमै पढाई छोडेका वालवालिकाहरु पुनः विद्यालय आउन थालेका छन्, यो सकारात्मक पक्ष हो । किशोरीहरुले सम्झाउँदै स्कुलसम्म ल्याउन सहयोग गरेका छन्, यसलाई निरन्तरता दिन जरुरी छ ।'
किशोरीहरुलाई विद्यालयमा टिकाउनका लागि किर्डाक नेपालले जिल्लामा आशा सञ्जाल गठन गरेको छ । उक्त सञ्जालमा आवद्ध किशोरीहरुले नै विद्यालय छोडेकाहरुलाई विद्यालयमा भर्ना गराउन थालेका हुन् । आशा सञ्जालको पुर्वी क्षेत्रको नेतृत्व गर्दै आएकी कल्पना बुढाले भनिन्,‘हामीले आफै स्रोत जुटाएर पोशाक र कितावको लागि सहयोग गर्छौं, हामीले सम्झाएपछि धेरै किशोरकिशोरीहरु विद्यालयमा फिर्ता भएका छन् । पोशाक नभएकै कारण पनि पढाई छोड्ने समस्या छ, वालविवाहले पनि धेरैको पढाई रोकिएको छ ।' उनले आफुहरुले बिचमै स्कुल छोडेकाहरुलाई पुनः भर्ना गराउने गरेको जानकारी दिइन् ।