बजेट होटेलमा ठूलो लगानी
काठमाडौः नेपालमा पर्यटन क्षेत्रको ठूलो लगानी बजेट होटेल (सस्तो र खर्च गर्ने सक्ने क्षमता अनुसारको) मा हुने गरेको छ । मन्त्रालयमा दर्ता भएका पाँच सय बढी होटेलमध्ये तारे स्तरमा वर्गीकरण नभएका पर्यटकीय स्तरका सबै होटेल बजेटमा पर्ने पर्यटन व्यवसायीको भनाइ छ ।
नेपालमा बजेट होटेलको सुरुवात ठमेलबाट भएको ठमेल पर्यटन परिषद्का पूर्वअध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले बताए । उनका अनुसार अहिले ठमेलमा मात्रै करिब ६ हजार कोठा रहेका छन् । यी होटेलमा खर्च क्षमताअनुसार बस्न र खान पाइने भएकाले सञ्चालनमा आएका अधिकांश होटेलमध्ये धेरैजसो बजेटअन्तर्गत पर्ने श्रेष्ठको भनाइ छ । उनका अनुसार लगानीको ठूलो हिस्सा पनि बजेट होटेलमैछ ।
नेपाल आउने अधिकांश विदेशी पर्यटक बजेट एयरलाइन्सबाटै आउने र बजेट टुरिस्ट हुने भएकाले बजेट होटेलमा नै बस्ने गरेको पर्यटन व्यवसायी भरत बस्नेतले बताए । उनका अनुसार थोरै पैसा खर्च गरेर घुम्न र बस्न चाहने पर्यटक यसअन्तर्गत पर्छन् ।
यिनीहरूको खर्च गर्न सक्ने क्षमता पाँच डलरदेखि २५÷३० डलरसम्म हुने गरेको छ । ‘३० डलर खर्च गर्ने पर्यटकले होटेलमा उपलब्ध सेवा सुविधामा चित्त बुझाउने गरेका छन् । तारे होटेलको सेवा सुविधा खोज्ने पर्यटक बजेट होटेलमा जाँदैनन्', बस्नेतले भने ।
पर्यटन मन्त्रालयमा दर्ता नभएका र स्तर वर्गीकरण नगरिएका सबै ननस्टार होटेलले सस्तोमा सेवा दिने गरेको पाइन्छ । स्तर वर्गीकरण नभएका होटेल बजेटभित्र पर्ने बस्नेतको तर्क छ । कम सुविधा हुने, साना कोठा, थोरै पैसामा खान बस्न पाइने बजेट होटेलका विशेषता हुन् ।
अहिले ठमेलमा मात्रै करिब ६ हजार कोठा रहेका छन् । यी होटेलमा खर्च क्षमताअनुसार बस्न र खान पाइने भएकाले अधिकांश बजेटअन्तर्गत पर्छन् ।
ठमेल, बसपार्क, पोखराका लेकसाइड तथा पदयात्रा पर्यटनको गन्तव्य अन्नपूर्ण, लाङटाङ, सगरमाथा आधार शिविरलगायतका क्षेत्रमा पाइने होटेल बजेट होटेल रहेको बस्नेतको बुझाइ छ । पछिल्लो समयमा नेपाल आउने पर्यटकको ठूलो संख्या बजेट होटेलमै बस्ने गरेको बस्नेतको भनाइ छ ।
होटेल व्यवसायी महासंघमा आवद्ध ६१ हजार सदस्यमध्ये अधिकांश होटेल भएको महासंघका अध्यक्ष अमृत भुजेलले बताए । यसमा ६६ जिल्लाका व्यवसायी आवद्ध छन् । भुजेलका अनुसार काठमाडौंका होटेल बाहेक जिल्लाका होटेल संघ नेपालमा आवद्ध व्यवसायी पनि महासंघमा आवद्ध छन् । यीमध्ये कमै मात्र होटेल ठूला होटेलमा पर्छन् भने समग्र लगानीको ठूलो हिस्सा बजेट होटेलमा रहेको उनले बताए ।
हाल पर्यटन मन्त्रालय तथा यसअन्तर्गतका विभिन्न कार्यालयमा दर्ता गरिएका होटेलको संख्या १५ सय भन्दा कम रहेको पर्यटन विभागले जनाएको छ । यीमध्ये काठमाडौंमा दर्ता भएका होटेलको संख्या मात्र पाँच छ ।
होटेल संघ नेपालका अनुसार होटेलमा झन्डै दुई खर्ब रुपैयाँको लगानी छ । यो लगानीमध्ये ठूला होटेलमा ४० प्रतिशत र बाँकी साना तथा बजेट होटेलमा गरिएको हानको अनुमान छ । हानका अनुसार सञ्चालनमा आएका र सञ्चालनको तयारीमा रहेका सबै होटेल हानमा आवद्ध हुनुपर्ने वाध्यता नभएकोले यो तथ्यांक अनुमानित हो ।