मनास्लु हिमालमा जापानी नागरिक ११ दिनदेखि बेपत्ता
गोरखाः मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक जापानी नागरिक ११ दिनदेखि बेपत्ता भएका छन् । आठहजार एकसय ६३ मिटर अग्लो मनास्लु हिमाल गत असोज २१ गते आरोहण गरी फर्कने क्रममा २३ बर्षका हिरोताका ओहोदेरा Hirotaka Ohodera चौथो शिविरबाट हराएका गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
चौथो शिविर नजिकै फोटो खिच्दाखिच्दै दिउसो करिब साँढे एक बजे चिप्लेर बेपत्ता भएको जानकारी प्राप्त भएको उनले बताए ।
प्रहरीका अनुसार कस्मोट्रेक ट्रेकिङ कम्पनीबाट ६ जनाको टोली आरोहण गर्न गएकामध्य दुईजनाले मात्र आरोहण पूरा गरेका थिए । अक्सिजन अभावले अन्य चार जना बेसक्याम्पमा ओर्लिसकेका थिए ।
राहदानी नंबर TRT 662107 रहेका हिरोताकाका बुबा आमाले दुर्घटना स्थलमा मनाङ एयरको हेलिकोप्टर प्रयोग गरी तीन पटकसम्म खोजी गरेको प्रहरीले जनाएको छ ।
‘संगै आरोहण गरेर फर्केका एक जना हिउँभित्रै हराइरहेकाले खोजी गरिपाउँ भनेर गत बुधबार प्रहरी चौकी सामागाउँमा निबेदन आयो’ डिएसपी थापाले भने ‘हेलिकोप्टरबाट खोज्दा पनि भेटिएको छैन् ।’ अन्य पाँच जना भने सकुशल फर्किएको प्रहरीले जनाएको छ ।
धेरै जोखिम भएकाले मनास्लु हिमाललाई किलर माउण्टेन भनेर पनि चिनिन्छ ।