'चिनियाँ राष्ट्रपति छिटै नेपाल आउने '
लिबाङः उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने बताएका छन् । भारतको गोवामा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपतिको भेटपछि नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महराले गृहजिल्ला रोल्पा आएका बेला पत्रकारसँग आइतबार उक्त कुरा बताएका हुन् ।
‘हाम्रा प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपतिको गोवामा भएको भेटपछि त्यहाँको स्रोतबाट मलाई जानकारी भएअनुसार चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्नुहुन्छ', अर्थमन्त्री महराले भने । दाहाल नेतृत्वको सरकार बनेदेखि नै छिमेकी मुलुक चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम गर्न पहल गरिएको महराले बताए । ‘यो सरकार बनेदेखि नै दुवै छिमेकी देशमा दुई उपप्रधानमन्त्री दूतका रूपमा गएदेखि सम्बन्ध सुध्रदै गएको छ', प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महराले थपे ।
जिल्लाको विकासे योजनाबारे सरोकारवालासँग सुझाव र छलफल गर्ने गरी गृह जिल्ला आएका अर्थमन्त्री महराले पुरक बजेट छिट्टै ल्याउने तयारी गरिरहेको पनि बताए । ‘पुरक बजेटका लागि स्रोत हामीसँग छ । विपक्षी दलसँग समन्वय गरी पुरक बजेट ल्याउँछु ।'
अर्थमन्त्री महराले भने, ‘हाम्रो पार्टी माओवादी केन्द्रसमेत संलग्न रहेको अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयमा जोड दिइने छ । गत वर्ष विकास बजेट खर्च हुन सकेन । यो वर्ष खर्च बढाउने गरी सरकारले काम गर्दैछ ।'
मधेसी दलले नवलपरासीदेखि कैलालीसम्म प्रदेश बनाउने माग राखेको बारे छलफल भएको नेता महराले खुलासा गरे । हालको प्रदेश नं ५ भित्रका प्युठान र रोल्पालाई प्रदेश नं ६ मा राख्ने र अन्य पहाडी जिल्लालाई प्रदेश नं ४ मा राख्ने कुनै सहमति नभएको उनले बताए ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको सहकार्यमै नेतृत्व परिवर्तन हुने गरी सरकार निर्माण गर्ने सहमति भए पनि प्रधानमन्त्री दाहालले यही सरकारको नेतृत्वमा राष्ट्रिय सरकार निर्माणका लागि पहल गरिरहेको अर्थमन्त्री महराले बताए । ‘संविधान कार्यान्वयका लागि राष्ट्रिय सरकार आवश्यक छ । आवश्यकताले यही सरकारको नेतृत्वमा राष्ट्रिय सरकार बन्न सक्छ', उपप्रधान तथा अर्थमन्त्री महराले भने ।