मार्केटिङ माध्यम बन्दै सामाजिक सञ्जाल
काठमाडौः फेसबुक, गुगल प्लस, लिङ्कइन, ट्विटरलगायतका सामाजिक सञ्जाल मार्केटिङको सशक्त माध्यमका रूपमा स्थापित हुँदै गएका छन् । सामाजिक सञ्जालको प्रमुख आर्थिक स्रोत विज्ञापन बन्दै गएकाले सामाजिक सञ्जाल मार्केटिङ टुलमात्र हुन् कि भन्ने आशंका पनि उत्पन्न हुन थालेको छ ।
यसले मार्केटिङ कम्पनी र आफ्नो व्यापार विस्तार गर्न चाहने कम्पनीलाई भने ठूलो अवसर सिर्जना भएको छ । यसले सञ्जालका प्रयोगकतालाई भने समस्यामा पारेको छ । अनावश्यक विज्ञापन हेर्नुपर्ने हुँदा उनीहरूले हैरानी महसुस गर्ने गरेका छन् ।
जुनरूपले सामाजिक सञ्जालमा प्रयोगकर्ताको आकर्षण र लगाव बढिरहेको छ त्यसैअनुपातमा व्यावसायिक कम्पनीद्वारा विज्ञापनका लागि सामाजिक सञ्जालको प्रयोग पनि बढ्दै छ । पत्रपत्रिका, टेलिभिजन, रेडियो, व्यक्तिगत सम्बन्ध, पोस्टरजस्ता परम्परागत मार्केटिङ शैलीको घट्दो प्रभावले सामाजिक सञ्जालमार्फत मार्केटिङ गर्ने शैली विकास भएको हो ।
अडियो, भिडियो, ग्राफ्रिक्स, तस्बिर र टेक्स्ट एकै पटक प्रयोग भएर ठूलो जनसमुदायमा पुग्ने भएकाले पनि सामाजिक सञ्जाललाई मार्केटिङ गर्ने माध्यमका रूपमा लिन थालिएको सरोकारवाला बताउँछन् ।
एकअर्कासँग सूचना आदानप्रदान गर्ने माध्यमको रूपमा निर्माण भएका सामाजिक सञ्जालमात्र नभएर डिजिटल मार्केटिङ (सोसल मिडिया, वेबसाइटजस्ता नयाँ माध्यमबाट हुने मार्केटिङ) को प्रयोग पनि तीव्र रूपमा हुने गरेको पाइन्छ । डिजिटल मार्केटिङमार्फत आफूले चाहेको उमेर समूह, समुदाय र वर्गको बीचमा प्रभावकारी रूपले आफ्नो उत्पादनको जानकारी पुर्याउन सकिने भएकाले पनि मार्केटिङका लागि यसको प्रयोगले तीव्रता पाएको हो ।
रिसर्च पोर्टल ‘स्टाटिस्टा’ को पछिल्लो प्रतिवेदनअनुसार डिजिटल रूपमा हुने मार्केटिङको ७८ प्रतिशत सामाजिक सञ्जालले ओगटेको छ । त्यसमा फेसबुक, युट्युब, ट्विटर, गुगल प्लस, लिङ्कइन र इन्स्ट्राग्रामको हिस्सा बढी छ । प्रतिवेदनअनुसार फेसबुकको कुल आम्दानीको ९३ प्रतिशत विज्ञापनमार्फत हुने गरेको छ ।
त्यस्तै ट्विटरको कुल आम्दानीको ८५ प्रतिशत विज्ञापनले ओगटेको छ भने गुगल प्लसको कुल आम्दानीको ६७.३ प्रतिशत विज्ञापनले ओगटेको छ । यो तथ्यांकले पनि सामाजिक सञ्जाललाई मार्केटिङ प्रयोजनका लागि बढी नै प्रयोग गरेको तथ्य पुष्टि गर्छ ।
स्टाटिस्टाका अनुसार विश्वमा अहिले दुई खर्ब ८० करोड अमेरिकी डलर डिजिटल मार्केटिङमा खर्च हुन्छ । यो क्रम बढेर २०२० मा पुग्दा तीन खर्ब ६ अर्ब डलर पुग्ने अनुमान छ ।
इन्टरनेटको प्रयोग जुन रूपले बढिरहेको छ त्यसले सामाजिक सञ्जाललाई मार्केटिङ औजारका रूपमा प्रयोग गर्ने प्रचलन पनि बढ्दै जाने अनुमान गर्न गाह्रो छैन । स्टाटिस्टाको पछिल्लो तथ्यांकअनुसार इन्टरनेटमा अहिले विश्वमा करिब साढे तीन अर्ब मानिसको पहुँच छ । यसले विश्वको कुल जनसंख्याको ४० प्रतिशत इन्टरनेटको पहुँचमा भएको देखाउँछ ।
यसमा पनि सामाजिक सञ्जाल प्रयोग गर्ने मानिसको संख्या दुई अर्ब ३४ करोड छ । २०२० मा सामाजिक सञ्जाल प्रयोग गर्ने मानिसको संख्या तीन अर्ब पुग्ने स्टाटिस्टाले जनाएको छ । यो तथ्यांकअनुसार इन्टरनेटको पहुँचमा रहेका मध्ये ७० प्रतिशत मानिस सामाजिक सञ्जालमा जोडिएका छन् । स्टाटिस्टाका अनुसार विश्वमा अहिले दुई खर्ब ८० करोड अमेरिकी डलर डिजिटल मार्केटिङमा खर्च हुन्छ । यो क्रम बढेर २०२० मा पुग्दा तीन खर्ब ६ अर्ब डलर पुग्ने अनुमान छ ।
सन् २०१५ को तथ्यांकअनुसार ठूला कम्पनीले कुल मार्केटिङ बजेटको २४ प्रतिशत डिजिटल मार्केटिङमा खर्च गर्छन् । सन् २०१६ को अन्त्यसम्म यो बढेर ३५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । २०२० सम्ममा कुल मार्केटिङ खर्चको ७५ प्रतिशत रकम डिजिटल माध्यममा खर्च हुने अनुमान स्टाटिस्टाको छ ।
नेपालमा पनि मार्केटिङको औजारका रूपमा सामाजिक सञ्जालाको प्रयोग बढिरहेको छ । सामाजिक सञ्जालमा आफ्नो उत्पादनको विज्ञापन गर्ने कम्पनीको संख्या दिनदिनै बढिरहेको छ । आफ्नो उत्पादनमात्र नभएर ब्रान्डको विस्तारका लागि पनि सामाजिक सञ्जाल प्रयोग हुने गरेको छ ।
अहिले फेसबुक, युट्युब, ट्विटर इन्स्ट्राग्राम र लिङ्कइनमा नेपाली ब्रान्डको विज्ञापन पनि देखिन थालेको छ । सामाजिक सञ्जालमा कुनै निश्चित स्थानलाई लक्षित गरेर मात्र पनि विज्ञापन राख्न सकिने भएकाले नेपाली प्रयोगकर्ताले बढी मात्रामा नेपाली कम्पनीका विज्ञापन देख्ने गरेका छन् । नेपालका व्यावसायिक कम्पनीले पनि सामाजिक सञ्जालमा गरिने विज्ञापनको लागि छुट्याउने बजेटको हिस्सासमेत बढ्दै गएको छ ।