विश्वभरका वैज्ञानिक पोखरामा

विश्वभरका वैज्ञानिक पोखरामा

काठमाडौः नांगो आँखाले देख्न नसकिने ससाना पदार्थको प्रयोग गरी मानिसको जीवन कसरी सहज बनाउन सकिएला ? हाम्रै वरपर छरिएका सामग्रीको प्रयोग गरेर मानवीय आवश्यकता कसरी पूरा गर्न सकिएला ? यी र यस्तै प्रश्नमा केन्द्रित रहेर आफूहरूले गरेको अनुसन्धानबारे एकअर्कालाई बताउन विभिन्न १५ देशका दुई सयजति वैज्ञानिक सोमबार पोखरामा भेला हुँदैछन् ।

नेपाल पोलिमर इन्स्टिच्युटको आयोजनामा सोमबारदेखि सुरु हुने चारदिने ‘काठमाडौं सिम्पोजिया अन एड्भान्स मटेरियल्स २०१६' का अवसरमा नेपाल, भारत, बंगलादेश, फ्रान्स, जर्मनी, जापान, चेज रिपब्लिक, स्विडेन, दक्षिणअफ्रिकालगायत देशका वैज्ञानिक पोखरामा भेला हुन लागेका हुन् । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट), पोखरा विश्वविद्यालय र जर्मनीको इन्स्टिच्युट फर पोलिमरवेक्स्टफको सहआयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो ।

सम्मेलनको उद्घाटन नास्टका उपकुलपति प्राडा जीवराज पोख्रेलले गर्नेछन् । सम्मेलनको पूर्वसन्ध्यामा आइतबार काठमाडौंमा आयोजित पत्रकारसम्मेलनमा सम्मेलनका संयोजक प्राडा रामेश्वर अधिकारीले न्यानोटेक्नोलोजी र बायोटेक्नोलोजीमा भइरहेका अनुसन्धानबारे डेढ सयवटा कार्यपत्र प्रस्तुत गरिने बताए ।

नेपाल पोलिमर इन्स्टिच्युटले हरेक दुई वर्षमा आयोजना गर्ने सम्मेलनको यो तेस्रो संस्करण हो । पहिले काठमाडौंमा हुने गरेको सम्मेलन यसपालि पोखरामा गर्न लागिएको छ । अधिकारीले काठमाडौंकेन्द्रित सोचाइलाई विकेन्द्रित गर्न काठमाडौंबाहिर पनि सम्मेलन गर्ने प्रयास थालिएको बताए ।

नेपालबाट भइरहेको बौद्धिक पलायन रोक्न यस्तो कार्यक्रम गरिएको अधिकारीको धारणा छ ।
‘विभिन्न देशका वैज्ञानिकलाई ल्याएर उनीहरूका अनुसन्धानबारे अवगत गराउँदा केही गर्ने प्रेरणा जाग्नेछ', अधिकारीले भने ।

सम्मेलनले नेपालका युवा वैज्ञानिकलाई विश्व स्तरमा सम्पर्क बढाउन सहयोग गर्ने आयोजकको विश्वास छ । सम्मेलनमा फ्रान्सस्थित पौष्टिक आहार निर्माण कम्पनी ‘ग्रुप न्युट्रिसेट' पनि सहभागी हुँदैछ । कम्पनीका दुई शाखाका वैज्ञानिकहरूले सम्मेलनमा स्थानीय स्रोतसाधनबाटै पोषणयुक्त खाद्यान्न निर्माण गर्ने प्रविधिबारे भइरहेका अनुसन्धानबारे बताउनेछन् ।

आँगनमै वैज्ञानिक

युवा वैज्ञानिक अनुसन्धातालाई लाभ पुग्ने गरी ‘काठमाडौं अटम स्कुल अन केमेस्ट्री एन्ड केमिकल टेक्नोलोजिज' आयोजना गर्दै आइरहेको पोलिमर इन्स्टिच्युटले यो वर्षदेखि नयाँ कार्यक्रम सुरु गर्दैछ । ‘नो ब्रोडर एजुकेसनल प्रोग्राम अप्लाइड टु साइन्स' (नेपास) नाम दिइएको कार्यक्रमअन्तर्गत विभिन्न देशका वैज्ञानिकले विभिन्न स्थानमा पुगेर विज्ञान र वैज्ञानिक अनुसन्धानबारे प्रवचन दिनेछन् ।

सम्मेलनसँगै सुरु हुने यो कार्यक्रम पोखरा, चितवन र विराटनगरमा हुँदैछ । विज्ञान अध्ययनरत विद्यार्थीलाई नयाँनयाँ खोजबारे जानकारी गराउने उद्देश्यले यस्तो कार्यक्रम गरिएको अधिकारीले बताए । विभिन्न स्थानमा वैज्ञानिक आफैं पुगेर आफ्ना खोजबारे बताउँदा प्रभावकारी हुने उनको धारणा थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.