माइखोला डुंगा दुर्घटनाः स्तब्ध छ महमाई गाउँ
महमाईः असोज २५ गते दसैंको टिकाका दिन महमाई-३ मा पहिरोसँगै झरेको रूखले किचेर दुईजनाको मृत्यु भयो। त्यही दुर्घटनामा महमाई-२ की ३९ वर्षीया पवित्रा पौड्यालका आफन्तसमेत घाइते भए। घाइतेको उपचार गर्न झापा लिएर गएकी पौड्याल आफैं फर्केर घर आइनन्।
दानाबारीबाट महमाई जान शुक्रबार दिउँसो १ बजे महमाई र दानाबारीबीचको माईखोला तर्ने क्रममा लोदिया दोभानमा डुंगा पल्टँदा उनको ज्यान गयो। त्यही भेलले पौड्यालसहित महमाईका चारजनाको ज्यान लियो । महमाई-१ ले तीनजना गुमायो ।
गाविस सचिव चन्द्र पौड्यालले सुनाए, ‘पूरै गाउँ स्तब्ध भएको छ । खुसी पूरै हराएको छ।' डुंगा डुब्दा महमाई १ का ७५ वर्षीय जसबहादुर राई, ४५ वर्षीया डम्बरमाया मगर, ५८ वर्षीय हर्कबहादुर रानामगर र महमाई-२ की ३९ वर्षीया पवित्रा पौड्यालको ज्यान गएको छ ।
त्यसको दुई दिनअघि महमाई २ मा ३५ वर्षका कुमार दर्जी र १८ वर्षका हिमाल कार्कीको रूखले थिचेर मृत्यु भएको थियो । स्थानीय हेम सुब्बाले भने, ‘गाउँमा पाँचजनाको काजकिरिया सुरु हुँदा मन थाम्न मुश्किल भएको छ।'
दुर्घटनामा मोरङको मधुमल्ला का ६ वर्षीया जम्ल्याहा बालिका अञ्जली खड्का र पुष्पा खड्का, झाप शनीअर्जुन नगरपालिका साल्बारीका २७ वर्षीय कृष्ण घतानी र अर्का एकजनाको सव फेला परेको इलामका एसपी सुशीलकुमार यादवले जानकारी दिए ।
मृतकका परिवारलार्इ एक लाख
दानाबारी गाविस ९ र महमाई गाविसलाई जोड्ने माईखोलाको लोदिया दोभानमा शुक्रबार भएको डुंगा दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत स्वरूप जिल्लास्तरीय दैवी प्रकोप उद्धार समितिले प्रतिमृतक एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार सदरमुकाममा सम्पन्न समितिको बैठकले सरकारी मापदण्डअनुसारको उक्त राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज दहालको अध्यक्षतामा बसेको बैठकले भविष्यमा यस्ता दुर्घटना हुन नदिन जिविसको समन्वयमा स्थानीय गाविसले ढुंगा सञ्चालनसम्बन्धी स्पष्ट माण्दण्ड तयार गरी अनिवार्य रूपमा लागू गर्न निर्देशन दिने पनि निर्णय गरेको छ । हाल छुट्टै मापदण्ड नभए पनि गाविसको अनुमति लिएर ढुंगा सञ्चालन हुँदै आएका छन् ।
बैठकले चण्डालघाटमा निर्माणाधीन झोलुंगे पुल र पक्की पुल यथाशीघ्र निर्माणका लागि पहल गर्ने पनि निर्णय गरेको छ । बैठकले गत असोज २५ गते विजया दशमीको दिन महमाई ३ मा पहिरोसँगै झरेको रूखले किचेर मृत्यु भएका दुईजनाको परिवारलाई पनि सरकारी मापदण्डअनुसारकै एक एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
विजया दशमीका दिन मोटरसाइकलमा सवार रहेका महमाई ३ का १७ वर्षीय हिमाल कार्की र सोही ठाउँ निवासी उनीसँगै मोटरसाइकलमा रहेका एकजनालाई महमाई ३ मा बाटोमा झरेको पहिरोसँगै आएको रूखले किचेर मृत्यु भएको थियो ।
यसैबीच, डुंगा दुर्घटनामा परेर सकुशल उद्धार गरिएका बाँझो गाविसका चारजनालाई जिल्ला विकास समितिको कार्यालयले दुर्घटनास्थलबाट घरसम्म जाने खर्चबापत प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले उपलब्ध गराएको छ ।