लोकमानको घरमा सर्वोच्चका कर्मचारीलाई म्याद टाँस्न दिइएन
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको निवासमा म्याद टाँस्ने सर्वोच्च अदालतको प्रयास फेरि पनि असफल भएको छ। म्याद टाँस्न लोकमानको निवासमा सोमबार बिहान पुगेका सर्वोच्चका कर्मचारीलाई केही युवाको समूहले म्याद टाँस्न रोक लगाएको हो।
आफूहरुलाई सामसुङ कम्पनीका कर्मचारी बताउने युवाहरुको समूहले अख्तियार प्रमुख कार्कीको घरमा म्याद टाँस्न रोकेको थियो। उनीहरुले त्यो घर सामसुङ कम्पनीले भाडामा लिएको बताएका थिए। प्रमुख कार्की मुलुक बाहिर रहेकोले उनलाई हाजिर हुनका लागि पुरानो बानेश्वरस्थित उनको घरमा म्याद टाँस्न सर्वोच्चले सोमबार दोस्रोपटक तामेलदारलाई खटाएको हो।
यसअघि पनि सर्वोच्चले म्याद टाँस्नका लागि उनको घरमा तामेलदार खटाएको थियो। पहिले पठाइएका तामेलदार म्याद नटाँसी सम्पर्कबाहिर बसेपछि अदालतले सोमबार अर्का दुई तामेलदारलाई म्याद टाँस्न पठाएको बताइएको छ।
सर्वोच्चका तामेलदारहरु कार्की निवासमा म्याद टाँस्न पुग्दा युवाहरुको समूह गेटमा तैनाथ थिए। म्याद टाँस्नका लागि उनीहरु सहयोग लिन वडा कार्यालय पुगेका थिए। तर उनीहरुको प्रयास सफल हुन सकेन।
दुई हप्ता लामो सद्भावना भ्रमणका लागि एक महिना अघि क्यानाडा गएका कार्की अहिलेसम्म फर्केका छैनन्। प्रमुख आयुक्त कार्की क्यानाडा स्थित भ्रष्टाचार विरुद्ध कार्यरत निकाय तथा अन्य सम्बन्धित निकायका प्रमुखहरुको निमन्त्रणमा सद्भावना भ्रमणका लागि असोज ३ गते त्यसतर्फ गएका थिए।
अख्तियारले असोज ३ गते जारी गरेको विज्ञप्तीमा करिब दुई साता लामो भ्रमण हुने उल्लेख छ। तर दुई हप्तापछि पनि उनी फर्केका छैनन् र विदा लिएर त्यही बसेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त हुन कार्कीको वैधानिकता नपुगेको भन्दै अदालतमा दर्ता भएको रिटको पुनरावलोकन गर्ने सर्वोच्चले निर्णय गरेपछि कार्कीलाई अदालतमा उपस्थित अदालतले आदेश दिइसकेको छ। त्यही आदेशअनुसार म्याद टाँस्न लागिएको हो।
अधिवक्ता ओममप्रकाश अर्यालले दायर गरेको कार्कीविरुद्ध दायार गरेको रिट पहिले सर्वोच्च अदालतले खारेज गरेको थियो। तर एक महिनाअघि प्रधानन्यायाधीश सुशिला कार्कीसहितको इजलासले भदौं ३१ गते उक्त मुद्दामा पुनरावलोकन गर्ने निर्णय गरेको थियो।