'गोवामा सी र मोदीलाई एकठाउँ भेट्छु भनेर सोचेकै थिइनँ'
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोवामा चिनियाँ राष्ट्रपति सी जीनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको त्रिपक्षीय भेट आफूले नसोचेको सुखद संयोग भएको बताएका छन्।
भारतको गोवमा सम्पन्न ब्रिक्स सम्मेलनमा पर्यबेक्षकका रुपमा सहभागी भएर सोमबार स्वदेश फर्केका प्रचण्डले अन्तराष्ट्रिय विमान स्थलमा संचारकर्मीसँग भने, 'गोवामा भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिलाई एक ठाउँमा भेटवार्ता गर्न पाइएला भनेर मैले सोचेको थिइनँ । यो नसोचेको मिठो संयोग भयो ।'
प्रचण्डले सी र मोदीसँगको भेट पूर्वनिर्धारित तथा योजनावद्ध नरहेको स्पष्ट पार्दै भने, 'सरकारी अधिकारीसहित सीसँग दुईपक्षीय भेटवार्ता सकिएपछि त्यही होटेलका प्रतिक्षा कक्षमा म गाडी कुरिरहेको थिए । अचानक चिनियाँ राष्ट्रपति आउनुभयो। उहाँसँग मैले १२ १५ मिनेट कुराकानी गरे । त्यही बीचमा अकास्मात् मोदीजी प्रवेश गर्नुभयो र मैले दुवै नेतासँग एकै स्थानमा सम्वाद गर्ने अवसर पाए।'
उनको भनाइ थियो, 'यस्तो दुर्लभ अवसर पाउनेछु भनेर मैले सोचेको थिइनँ । चीनका राष्ट्रपतिलाई एक्लै भेट्छु भन्ने चाहना थियो । तर टुप्लुक्क आइपुग्दा ढुंगा खोज्दा देउता मिलेजस्तो भयो । त्यहाँ मोदीजी पनि सामेल हुँदा त्यो अन्त्यन्तै सुखद संयोग भइदियो । यो मेरा लागि मात्र होइन, देशकै लागि ठूलो अवसर हो ।'
प्रचण्डले त्रीपक्षीय भेटको अवस्थिति पनि संयोग नै हुनपुगेको बताउँदै भने, 'प्रतिक्षा कक्षमा दक्षिणतिर मोदीजी हुनुहुन्थ्यो भने उत्तरतिर सी जी भन्नुहुन्थ्यो । बीचमा म थिए ।'
प्रचण्डले आफूले चिनियाँ राष्ट्रपतिलाई पाँच मिनेट कुराएको हल्ला गलत भएको बताए । उनले सी र मोदीबीच आधा घन्टा भेटवार्ता भएको र त्यस लगत्तै सीसँग अलग्गै भेटवार्ता भएको बताए । त्रिदेशीय साझेदारीबारे आफूले महत्वका साथ कुरा उठाएको बताउँदै भने, 'भारत र चीन दुवैले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।'