अमेरिकी राहदानी र भिसाका लागि फोटो खिचाउँदा चश्मा लगाउन नपाइने
काठमाडौँः अमेरिकी राहदानी तथा भिसाका लागि फोटो खिचाउँदा चश्मा लगाउन नपाइने भएको छ।
अमेरिकी राहदानी र भिसाका लागि आवेदन दिने आवेदकहरूले तस्बिर खिचाउँदा चश्मा अनिवार्य रुपमा फुकाल्नुपर्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ।
अमेरिकी राजदूतावासले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,' यही कात्तिक १६ गतेदेखि लागु हुने गरी अमेरिकी राहदानी र भिसाका लागि आवेदन दिने आवेदकहरूले अमेरिकी राहदानी तथा भिसाका लागि फोटो खिचाउँदा चश्मा फुकाल्नु पर्नेछ।'
विज्ञप्तिमा फोटो खिचाउँदा हालै शल्यक्रिया गरी आँखाको सुरक्षाको लागि चश्मा लगाउनै पर्ने जस्ता विशेष स्वास्थ्य अवस्थामा मात्रै अमेरिकी राहदानी तथा भिसाका आवेदकहरूले चश्मा लगाउन पाउनेछन्। स्वास्थ्यका कारण चश्मा लगाउनै पर्ने आवेदकहरूले आफ्नो आवेदनका साथ शल्य चिकित्सक वा आँखा रोग विशेषज्ञको हस्ताक्षर भएको पत्र पेश गर्नु पर्ने दूतावासले जनाएको छ।
'आवेदनको काम कारवाहीमा ढिलासुस्ती नहोस् भन्नका लागि अमेरिकी राहदानी तथा भिसाका लागि फोटो खिचाउँदा आवेदकहरूले चश्मा फुकाल्न जरुरी छ,'विज्ञप्तिमा उल्लेख छ।