अब ‘युरो फोर' मापदण्डको इन्धन
काठमाडौः नेपालीले केही समयभित्रै युरो फोर मापदण्डको इन्धन खरिद गर्न पाउने भएका छन् । नेपाल आयल निगमले युरो फोर (बीएस फोर) मापदण्डको इन्धन (डिजेल र पेट्रोल) भारतबाट भित्र्याउने तयारी गरेको छ । यसका लागि दुई मुलुकबीच सैद्धान्तिक सहमति भइसकेको छ ।
हाल नेपालले भारतबाट युरो थ्री मापदण्डको इन्धन भित्र्याउँदै आएको छ । युरो फोर अत्यन्त न्यून परिमाणमा प्रदूषण उत्सर्जन गर्ने विशेषता भएको इन्धन हो ।
निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी) बीच यही असोज पहिलो साता मुम्बईमा सम्पन्न द्विपक्षीय व्यापार सम्झौता नवीकरणसम्बन्धी पूर्वतयारी बैठकमा युरो फोर मापदण्डको इन्धन नेपाललाई उपलब्ध गराउने विषयमा सैद्धान्तिक सहमति भएको हो । यो सहमतिअनुसार आगामी सन् २०१७ देखि आईओसीले नेपाललाई युरो फोर मापदण्डकै इन्धन उपलब्ध गराउनेछ ।
निगमका प्रबन्ध निर्देशक गोपाल खडकाका अनुसार भारत आफैं पनि सन् २०१७ देखि पूर्णरूपमा युरो फोर मापदण्डलाई नै अबलम्बन गर्न लागेकाले नेपाललाई पनि सोही गुणस्तरको इन्धन उपलब्ध गराउने सहमति जनाएको हो ।
‘आईओसीले आगामी सन् २०१७ को अप्रिलदेखि नेपाललाई युरो फोर मापदण्डको इन्धन दिने विषयमा सैद्धान्तिक सहमति जनाइसकेको छ', प्रबन्ध निर्देशक खडकाले भने, ‘व्यापार सम्झौता नवीकरण सम्झौतासम्बन्धी बैठकमा आधिकारिक रूपमा यससम्बन्धी सम्झौता हुनेछ ।'
निगमका प्रवक्ता भानु खनालका अनुसार आगामी मार्च २०१७ मा आईओसी र निगमबीच द्विपक्षीय व्यापार सम्झौता नवीकरणको समयमा नेपाललाई युरो फोर मापदण्डको इन्धन उपलब्ध गराउने विषयमा द्विपक्षीय व्यापार सम्झौता हुनेछ । खनालका अनुसार कातिकको अन्तिमसम्ममा युरो फोर मापदण्डसम्बन्धी इन्धन भित्र्याउने अन्तिम खाका तयार गरी आगामी मार्च महिनामा द्विपक्षीय व्यापार सम्झौता गरिनेछ ।
भारतले आगामी सन् २०१७ को अप्रिलदेखि देशभर युरो फोर मापदण्डको इन्धन खपत गर्ने प्रणाली लागू गर्दैछ । आगामी सन् २०२० देखि देशभर युरो सिक्स मापदण्ड भएको इन्धन खपत गर्ने गृहकार्य गरेको भारतले सन् २०१७ देखि कार्यान्वयनमा ल्याउने युरो फोर मापदण्डको इन्धन उत्पादन गर्न देशभर रहेको इन्धनको प्रशोधन केन्द्र, डिपो र बिक्री केन्द्रको स्तरोन्नति गर्ने काम सुरु गरिसकेको छ ।
आगामी अप्रिलदेखि युरो फोर मापदण्ड भएको इन्धनमात्रै उत्पादन गर्ने भारतले सोही आधारमा नेपाललाई युरो फोर मापदण्डकै इन्धन उपलब्ध गराउन सहमति जनाएको निगमले जनाएको छ । खनालका अनुसार युरो फोर मापदण्डको इन्धन हालको युरोे थ्री मापदण्डको इन्धनभन्दा प्रतिलिटरमा पाँचदेखि २० पैसामात्रै महँगो हुनेछ ।
आगामी अप्रिलदेखि युरोे फोर मापदण्डको इन्धनमात्रै उत्पादन गर्ने भारतले नेपाललाई पनि सोही इन्धन उपलब्ध गराउनेछ ।
युरो फोर मापदण्ड भएको इन्धनमा सल्फरको मात्रा अत्यन्त न्युन भएकाले सवारीसाधनले निकै कम परिमाणमा प्रदूषण उत्सर्जन गर्छन् । यसका साथै सवारीसाधन पनि निकै कम मात्रामा बिग्रने सम्भावना हुन्छ । युरो फोर मापदण्ड भएको डिजेल र पेट्रोलमा ५० पीपीएमको हाराहारीमा मात्रै सल्फर पाइन्छ भने युरोे थ्री मापदण्ड भएको डिजेलमा तीन सय ५० र पेट्रोलमा एक सय ५० पीपीएमको हाराहारीमा सल्फर पाइन्छ ।
हाल भारतका कतिपय सहरसहित पाकिस्तान, भुटान, श्रीलंका, बंगलादेश र नेपालमा युरो थ्री मापदण्डकै इन्धन खपत भइरहेको छ । हाल भारत सरकारले दिल्ली, मुम्बई, चेन्नई, कोलकाता, कानपुर, आगरा, पुणे, सुरत, अहमदावाद, हैदरावाद, लखनउ, शोलापुरसहित अन्य ठूलो सहरबाट युरो फोर मापदण्डको इन्धन प्रयोग गर्ने कार्यलाई सुरुआत गरिसकेको छ ।
निगमका अनुसार अहिले दैनिक सात सयदेखि आठ सय किलोलिटर पेट्रोल, दुई हजार पाँच सयदेखि दुई हजार आठ सय किलोलिटर डिजेल र चार सय किलोलिटर हवाई इन्धनको माग हुने गरेको छ । सामान्य अवस्थामा उपत्यकामा साढे चारदेखि पाँच सय किलोलिटर लिटर डिजेल र साढे तीनदेखि चार सय किलोलिटर पेट्रोल खपत हुने गरेको छ ।