साँघुरा सडकमा थेगिनसक्नु गाडी 

साँघुरा सडकमा थेगिनसक्नु गाडी 

घोराहीः कुनै बेलासम्म सहर बजारमा मात्रै सीमित दाङको यातायात सेवा अहिले भारतको दिल्लीसम्म बिस्तार भइसकेको छ । दाङबाट बस चढेर अब सीधै दिल्लीसम्म जानआउन सकिन्छ । अनि जिल्लाका सबैजसो गाविसहरू सडक सञ्जालमार्फत प्रमुख सहरसँग जोडिएका छन् । तर सडकको हबिगत भने दयनीय छ । सवारीका साधनको चाप बढ्दै गएपछि सडक साँघुरिएका छन् । वैकल्पिक सडकबारे कुनै पहल भएको छैन ।

५ मिटर चौडाइमा बनेका पुराना सडकमा मुस्किलले सामान्य खालका दुईवटा गाडी आवतजावत गर्न सक्छन् । तर अहिले भित्रिएका ठूला सवारी साधन बाटोमा गुडेपछि सडक एकैछिनमा जाम हुन्छ ।सडकमा दिन दिनैजसो सवारी साधन थपिने क्रम बढिरहेको छ ।

साना र साँघुरा सडकका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । राप्तीमा यस वर्ष मात्रै दस हजार साना ठूला सवारी साधन थपिएका छन् । दाङबाहेक अन्य जिल्लाका मुख्य मार्गहरूमा ५ मिटर चौडा सडक पनि छैनन् ।

आधा भाग मात्रै पिच भएका पहाडी जिल्लाका मुख्य सडकको हालत झनै खराब छ । घुमाउरो, साघुँरो अनि कम्जोर सडकका कारण देशभरका सबैभन्दा धेरै दुर्घटना हुने सडकमा दाङकै भालुबाङ-तुलसीपुर सडक र दाङ (भालुवाङ)-रोल्पा (लिवाङ) सडकखण्ड पर्छन् ।

यातायात व्यवस्था कार्यालय राप्तीका अनुसार गत आर्थिक वर्षमा मात्रै राप्तीका पाँच जिल्लामा करिब आठ हजार सवारी साधन थपिएका छन् । तीमध्ये सबैभन्दा बढी मोटर साइकल छन् भने त्यसपछि बस, मिनीबस तथा ठूला ट्रक, टिप्पर, डोजर छन् । त्यसमा पनि बाहिर दर्ता भएर आएका सवारी साधन अझ धेरै छन् । २०४६ सालदेखि अहिलेसम्म दर्ता भएका करिब ३० हजार सवारी साधनलाई अहिलेसम्म उही पुरानो र साँघुरो सडकले थेगिरहेका छन् ।

ट्राफिक प्रहरीका अनुसार चालू हालतमा रहेका यी सडकको क्षमता भनेको १० टनभन्दा बढी छैन । तर अहिले यी सडकमा १८ टनभन्दा बढी लोड बोक्ने सयौं सवारी साधन एकसाथ लाइनमा गुड्छन् । एकातिर त्यसले साघुँरा सडक पूरै छेकिदिन्छ भने यति ठूलो भार लामो समयसम्म सडकले थेक्न नसक्दा सडक जीर्ण हुँदै गइरहेका छन् ।

‘यहाँका सडक अनि सवारी साधानको संख्या र भारको तालमेल छैन, साँघुरा सडक छन्, त्यसमा पनि अहिले चल्ने ठूला र लोडेड सवारीलाई घुम्ती नै पुग्दैन', जिल्ला ट्राफिक प्रमुख अरुणकुमार सिंह भन्छन्, ‘यसले एकातिर दुर्घटनाको जोखिम उत्तिकै बढाएको छ भने अर्काेतिर सडकको आयु बिस्तारै नासिँदै गएको छ ।'

जिल्लामै केन्द्रित भएका तीन ठूला सिमेन्ट उद्योग र छिमेकी जिल्ला रोल्पामा रहेको सिमेन्ट कारखानामा मालसामान ढुवानी गर्ने ठूला मालबाहक ट्रक तथा टिप्परसमेत अहिले यही सडकको भरमा छन् । अहिले थपिएका ठूला बस पनि यही सडकमा गुड्छन् ।

‘ठूला र मालबाहक सवारी साधनका लागि वैकल्पिक सडकका बारेमा बेलैमा सोच्न सकिएन भने केही वर्षपछि यहाँका सडकमा सवारी गुड्नै सक्दैनन्', उनले भने, ‘दुर्घटनाको एउटा कारण यो सडक पनि हो, सडक सानो र थोरै भार थेग्ने छ, अहिले सडकले थेग्नै नसक्ने गरी सवारी साधन गुड्न थालेका छन् ।'

जिल्लामा सिमेन्ट कारखानाका कारण ठूला मालबाहक सवारी साधन बढ्न थालेका छन् भने यातायात प्रालिहरू धमाधम खुल्न थालेपछि ठूला र सुविधायुक्त बस पनि थपिएका छन् । यसले यात्रुलाई सजिलो त भएको छ तर सडकको अवस्थाका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.