पुनरावेदन खारेजीसँग हेटाैंडा इजलास सुनसान

पुनरावेदन खारेजीसँग हेटाैंडा इजलास सुनसान

हेटौंडाः पाटन उच्च अदालत हेटौंडा इजलासको ७० प्रतिशत मुद्दा जनकपुर उच्च अदालत अस्थायी इजलास वीरगन्ज सरेको छ । नेपाल सरकारले सात प्रदेशमा उच्च अदालत गठन गरेपछि पुनरावेदन अदालत हेटौंडा खारेज भई प्रदेश नम्बर दुईअन्तर्गत रहेका बारा, पर्सा र रौतहटका मुद्दा वीरगन्ज सरेको हो । सरकारले संविधान कार्यान्वयनका क्रममा पहिलोपटक सरकारी निकायमध्ये अदालतलाई संघीय ढाँचामा लगेपछि असोज दुई गतेदेखि पुनरावेदन अदालतहरू खारेज भई उच्च अदालत र इजलासहरू स्थापना भएको थियो ।

दैनिक भीडभाड देखिने पुनरावेदन अदालत हेटौंडा इजलासमा परिणत भएसँगै सुनसान हुन पुगेको छ । आर्थिक वर्ष २०७३/७४ को असोज एक गतेसम्म गत आर्थिक वर्षबाट सरेर आएको समेत गरी दुई हजार चार मुद्दा रहेकोमा एक हजार चार सय ९७ मुद्दा वीरगन्ज सरेको हेटौंडा इजलासका सूचना अधिकृत बद्री लामिछानेले बताए । ‘बारा, पर्सा र रौतहट दुई नम्बर प्रदेशमा परेपछि उक्त मुद्दा वीरगन्ज सरेको हो’, उनले भने, ‘ती मुद्दा श्रेस्ता मिलाएर वीरगन्ज पठाइरहेका छौं ।’

चितवन र मकवानपुर दुई जिल्लाका गरी जम्मा पाँच सय सात मुद्दा हेटौंडा इजलासमा बाँकी रहेको लामिछानेले बताए । आर्थिक वर्ष २०७२/७३ मा चार हजार सात सय ५४ मुद्दा दर्ता भएकोमा एक हजार आठ सय ६० मुद्दा फस्र्योट हुन बाँकी थियो । आर्थिक वर्ष २०७१/७२ मा पाँच हजार छ सय ६४ मुद्दा दर्ता भएको अदालतको तथ्यांक छ । पुनरावेदन अदालत पाटनपछि सबैभन्दा बढी मुद्दा पुनरावेदन अदालत हेटौंडामा दर्ता हुने गरेको थियो । आर्थिक वर्ष २०७३/७४ मा जम्मा एक हजार मुद्दाको लगत रहेने हेटौंडा इजलासको अनुमान छ ।

पुनरावेदन अदालत हेटौंडा पाटन उच्च अदालतको इजलासमा परिणत भएपछि १३ जना न्यायाधीशको दरबन्दी रहेकोमा हाल तीनजनाको मात्र दरबन्दी रहेको छ ।

कानुन व्यवसायीहरू विस्थापित

पुनरावेदन अदालत हेटौंडा पाटन उच्च अदालतको इजलासमा परिणत भएपछि हेटौंडामा बसेर वकालत गर्दै आएका एक दर्जनभन्दा बढी कानुन व्यवसायी विस्थापित भएका छन् । सेवाग्राहीहरू घटेसँगै उनीहरू वीरगन्जमा कार्यालय खोलेर काम गर्न थालेका छन् । ‘७० प्रतिशत सेवाग्राही वीरगन्ज इजलासमा जाने भएपछि बाध्य भई वीरगन्जमै कार्यालय खोलेर काम गर्न थालेको हुँ’, कोसेली कानुनी सेवा हेटौंडाका ईश्वर ढकालले भने ।

जिल्ला अदालत मकवानपुर र पुनरावेदन अदालत हेटौंडामा एक सयजना कानुन व्यवसायीले वकालत गर्दै आएका थिए । ‘मुद्दा घटेपछि धेरै साथी के गर्ने भन्ने अन्योलमा हुनुहुन्छ’, जिल्ला बार एसोसिएसन मकवानपुरका अध्यक्ष अज्मिर केसीले भने, ‘मकवानपुर र चितवनको मुद्दाको भर पर्ने हो भने यहाँ दुई दर्जन कानुन व्यवसायीलाई पनि काम पुग्दैन ।’ मुद्दाको चाप घटेपछि धेरै कानुन व्यवसायी पाटन र वीरगन्ज सर्ने तयारीमा रहेको उनले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.