हुन्डी कारोबारी नछाड्दा वीरगन्जका एसपी मन्त्रालय झिकाइयो
वीरगन्जः गैरकानुनी रूपमा चर्को ब्याजमा कर्जाको लेनदेन र अवैध हुन्डीको कारोबार गरेको आरोपमा पक्राउ परेकालाई छाड्न नमानेपछि पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठलाई गृह मन्त्रालयमा झिकाइएको छ । अवैध हुन्डीको कारोबार गर्नेहरूलाई नछाडेको भन्दै सत्तारुढ कांग्रेसका स्थानीय नेता र उद्योगीले गृहमन्त्रीलाई दबाब दिएपछि श्रेष्ठलाई गृह मन्त्रालयमा झिकाइएको हो ।
जिल्ला प्रहरी कार्यालय स्रोतअनुसार गृहमन्त्रीको दबाबमा प्रहरी प्रधान कार्यालयबाट गत आइतबार साँझ आएको पत्रमा गृह मन्त्रालयमा मंगलबार बिहान ११ बजे प्रहरी उपरीक्षक श्रेष्ठलाई उपस्थित हुन भनिएको थियो ।
प्रधान कार्यालयबाट पत्र आएपछि सोमबार दिउँसो काठमाडौं हिँडेका प्रहरी उपरीक्षक श्रेष्ठले मगलबार गृहमन्त्री विमलेन्द्र निधीसँग भेटेको प्रहरी स्रोतले जानकारी दियो तर पर्साका प्रहरी प्रवक्ता डीएसपी चक्रराज जोशीले भने जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे ब्रिफिङ गर्न प्रधान कार्यालयले एसपी श्रेष्ठलाई बोलाएको बताए । काठमाडाैमा रहेका एसपी श्रेष्ठले भने मंगलबार साँझ अन्नपूर्ण पोस्ट्सँग टेलिफोनमा कुरा गर्दै आफू मिटिङमा व्यस्त रहेकाले पछि कुरा गर्ने बताए ।
वीरगन्जबाट गत असोज १६ गते प्रहरीले अवैध वित्तीय कारोबार गर्ने गिरोहका मुख्य कारोबारीसहित पाँचजनालाई ८१ लाख रुपैयाँ नगद र एक करोड ३२ लाख रुपैयाँको चेकसहित पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भारतको मुजफरपुर स्थायी घर भएका ५५ वर्षीय सन्तोष जैन, उनकी श्रीमती ५० वर्षीया उषा गोयन्का, छोरा ३२ वर्षीय बिक्की भन्ने अकुंर जैन, पर्साको लंगडी गाविस १ घर भएका ३३ वर्षीय सुनीलकुमार पटेल र वीरगन्ज उपमहानगरपालिका ३ प्रगतिनगरका २३ वर्षीय जीवन ठाकुर छन् ।
वीरगन्ज उपमहानगरपालिका ७ रेशमकोठीमा अवस्थित सन्तोष जैनको घरमा श्रीमती उषा गोयन्काको नाममा दर्ता रहेको न्यू नेहा ओभरसिजमा गत असोज १६ गते दिउँसो छापा मारेर जैन दम्पतीसहित पाँचजनालाई नगद रकम र चेकसहित पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेका पाँचैजनालाई अदालतबाट २० दिनको म्याद थप गराई प्रहरी हिरासतमा राखेर बैंक तथा वित्तीय संस्था ऐन २०६३अन्तर्गत अनुसन्धान गरिरहेको छ तर वीरगन्ज कांग्रेसका केही नेता र उद्योगीले भने सन्तोष जैनकी श्रीमती उषा भने निर्दोश रहेको दाबी गर्दै आएका छन् ।
निर्दोश महिलालाई प्रहरीले अनाहकमा पक्रेर थुनामा राखेको उनीहरूको आरोप छ । उनीहरूले निर्दोश महिला उषालाई रिहा गर्न पटकपटक प्रहरी उपरीक्षक श्रेष्ठलाई दबाब पनि दिँदै आएका थिए तर प्रहरी उपरीक्षक श्रेष्ठले नमानेपछि स्थानीय केही कांग्रेसी नेता र उद्योगीले गृहमन्त्री निधीलाई नै भेटेर गुनासो गरेपछि आइतबार गृहमन्त्रीकै निर्देशनमा प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक श्रेष्ठलाई पत्र पठाएर हाजिर हुन निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ ।
गृहमन्त्री निधीनिकट मानिने पूर्वसभासद् एवं वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ओमप्रकाश शर्माको दबाबमा प्रहरी उपरीक्षक श्रेष्ठलाई गृह मन्त्रालय झिकाइएको प्रहरी स्रोतले बताएको छ । तर पूर्व सभासद् शर्माले भने प्रहरी उपरीक्षक श्रेष्ठलाई गृहमन्त्रालयले बोलाएको विषयमा आफू अनभिज्ञ रहेको बताए ।