आफू सामुदायिकमा पढाउने, छोराछोरी निजीमा

आफू सामुदायिकमा पढाउने, छोराछोरी निजीमा

लिबाङ रोल्पाः रोल्पाका सामुदायिक विद्यालयका अधिकांश शिक्षकले आफ्ना छोराछोरी सरकारीमा नपढाएको गुनासो आएपछि प्रधानाध्यापकहरूको भेलाले अब उप्रान्त आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने प्रतिबद्धता जनाएका छन् । उनीहरूले योसहित जिल्लाको शैक्षिक विकासका लागि २१ बुँदे प्रतिबद्धता पत्र पनि जारी गरेका छन् ।

सरकारले सबै सरकारी कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय सार्वजनिक गर्नुभन्दा केही हप्ताअघि नै यहाँका प्रधानाध्यापकहरूले यस्तो प्रतिबद्धता जनाएको जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले बताए ।

प्रधानाध्यापकहरूको दुई दिने भेलापश्चात् जारी प्रतिबद्धता पत्रको तेस्रो बुँदामा सबै प्रधानाध्यापकहरूले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने र अन्य शिक्षकलाई पनि पे्ररित गर्ने उल्लेख छ । आधिकारिक तथ्यांक कसैसँग नभए पनि सरकारी विद्यलयाका अधिकांश प्रधानाध्यापक र शिक्षकले आफूले पढाउने विद्यालयमा नभई निजी बोर्डिङ स्कुलमा आफ्ना छोराछोरी पढाउने गरेको स्वयं शिक्षक स्वीकार्छन् ।

आफैंले पढाइरहेको विद्यालयप्रति विश्वास नभई यस्तो गरेको र शिक्षकले राम्रोसँग नपढाउने गरेकाले शैक्षिक प्रगति न्यून भएको गुनासो आइएकाले यस्तो प्रतिबद्धता जनाइएको नेपाल शिक्षक महासंघका अध्यक्ष एवं जनसेवा उमावि राङ्सीका प्राचार्य भीमप्रकाश पुनमगर बताउँछन् ।

पुनमगरसहित अन्य राजनीतिक दलनिकट शुभेच्छुक शिक्षक संगठनका प्रमुख सबैले जिल्ला शिक्षा अधिकारी पौडेल र प्रमुख जिल्ला अधिकारी मीत्रलाल शर्मालगायतलाई रोहबरमा राखेर प्रबिद्धतामा हस्ताक्षर गरेका थिए । जिल्लाको शैक्षिक प्रगति खस्कँदो रहेको र गत वर्ष साक्षर जिल्ला घोषणा भइसकेकाले शैक्षिक सुधारका लागि यस्तो पहल गरिएको जिल्ला शिक्षा अधिकारी पौडेल बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी शर्माले प्रत्येक विद्यालयका प्रधानाध्यापक र शिक्षकले सामुदायिक विद्यालयमा नै आफ्ना छोराछोरी पढाउन र छोराछोरीका तस्बिर शिक्षकको कोठामा झुन्ड्याउनसमेत सुझाब दिए । ‘छोराछोरी नै त्यहीँ पढाउन थालेपछि सबैका बालबच्चा आफ्नै छोराछोरी भैmं लागेर अध्यापनमा सुधार आउँछ’, प्रजिअ शर्माले सुझाए ।

शैक्षिक सुधारले मात्र जिल्लाको गुणस्तर कायम गर्न सकिने भन्दै जिल्ला शिक्षा कार्यालयले आधारभूत र माध्यमिक तहका सबै प्रधानाध्यापको भेला आयोजना गरेर शैक्षिक सुधारको बहस चलाएको हो ।

गुणस्तरीय शिक्षाका लागि प्रधानाध्यापकहरूको भूमिकासम्बन्धी कार्यपत्र बालकल्याण उच्च माविका प्रधानाध्यापक मधुसूदन पोखे्रलेले पेस गरे । उनले प्रस्तुत गरेको कार्यपत्रमा प्रअले आफू अनुकुलको विद्यालय व्यवस्थापन समिति गठन गर्ने, आफू सामुदायिक विद्यालय बढाउने तर छोराछोरी निजी विद्यालयमा पढाउने, अनावश्यक काजमा बस्नेलगायतका कमजोरी रहेको उल्लेख छ ।

सरकारले सबै सरकारी कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय सार्वजनिक गर्नुभन्दा केही हप्ताअघि नै यहाँका प्रधानाध्यापकहरूले यस्तो प्रतिबद्धता जनाएको जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले बताए ।

कार्यपत्र र प्रअको भूमिकाका सवालमा बहसपश्चात् शैक्षिक सुधारका लागि प्रअहरूले २१ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन् । प्रतिबद्धताको पहिलो बुँदामा विद्यालयलाई शान्ति क्षेत्रका रूपमा कार्यान्वयन गरी शिक्षक, विद्यार्थी पोसाकसहित नियमित विद्यालयमा उपस्थित हुने र सिक्ने सिकाउने वातावरणको सुनिश्चित गर्ने उल्लेख छ ।

विद्यायलको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभिभावक र शिक्षक भेटघाट र अन्तत्रिया गरिने भएको छ । तथ्यांकअनुसार जिल्लाका १ हजार ८ सय ९५ बालबालिका विद्यालय आउँदैनन् । विद्यालयमा धुमपान र मद्यपान पूर्णतः निषेध गर्नेसमेत प्रतिबद्धतामा उल्लेख छ । प्रत्येक शिक्षकले वार्षिक कार्ययोजना अनुरूप दैनिक पाठ योजना बनाई बालमैत्री ढंगले शिक्षण गर्ने, विभिन्न उपभोक्ता समिति, वन समिति, खानेपानी समितिजस्ता गैरसरकारी निकायका कार्यसमितिमा संलग्न नहुनेलगायत उल्लेख छ ।

अहिले ४ सय ७ विद्यालयका प्रधानाध्यापकले जारी गरेको घोषणापत्रको कार्यान्वय हुन्छ कि हुँदैन भन्ने चर्चा चल्न थालेको छ । प्रतिबद्धतामा शैक्षिक वर्षको अन्त्यमा अघिल्लो वर्षको शैक्षिक उपलब्धिमा दस प्रतिशतले वृद्धि गर्नेसमेत उल्लेख छ ।

विद्यालयमा बालमैत्री सामग्रीसहितको खेल मैदान र बगैंचा निर्माण, साहित्य बाटिका, पुस्तकालय, ल्याब व्यवस्थापनलगायतका कार्य गरिने उल्लेख छन् । दण्डरहित शिक्षण, विषयगत शिक्षकको व्यवस्थापन, शिक्षकलाई नियमित तालिम दिने, नियमित रूपमा शुक्रबारे अतिरिक्त क्रियाकलाप आयोजना गर्ने, विद्यालयको खर्च, लेखा, खाजा कार्यक्रमलाई अनुशासित र चुस्त बनाउने प्रतिबद्धतामा उल्लेख छ ।

प्रतिबद्धताको कार्यान्वयन हुने हो भने जिल्लाको शैक्षिक सुधारमा टेवा पुग्ने विश्वास लिइएको छ । कार्यान्वयनका लागि जिल्ला शिक्षा कार्यालय र स्रोत व्यक्तिहरूबाट नियमित अनुगमन हुने जिल्ला शिक्षा अधिकारी पौडेल बताउँछन् ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.