त्रिदेशीय सहकार्यले स्थिरतामा योगदानः चीन
‘यो पूर्वनिर्धारित भेटघाट थिएन तर त्रिदेशीय साझेदारीबारे जुन सकारात्मक र सौहाद्र्रपूर्ण कुरा भयो त्यसले तीनै देशलाई लाभ हुने हाम्रो बुझाइ छ ।'
काठमाडौः चीन-नेपाल-भारतबीचको त्रिदेशीय सहकार्यले एसिया क्षेत्रको स्थिरता र विकासमा महत्वपूर्ण योगदान पुग्ने उत्तरी छिमेकी चीनले बताएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारतको गोवामा हालै भएको अनौपचारिक भेटवार्तामा त्रिदेशीय सहकार्यको कुरा भएको हो÷होइन भन्ने सञ्चारकर्मीको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले बेइजिङमा त्यस्तो बताएकी हुन् ।
‘नेपाल र भारत चीनका मित्र मुलुक हुन् । हामी के विश्वास गर्छौैं भने यी तीन मुलुकबीच सकारात्मक अन्तरक्रिया हुँदा त्यसले यी तीनै मुलुकको आर्थिक तथा सामाजिक विकासलाई प्रोत्साहन दिन्छ । साथै यस खालको त्रिदेशीय सहकार्यबाट क्षेत्रीय स्थिरता र विकासका लागि पनि उत्तिकै योगदान पुग्छ', हुवाले भनिन् ।
चीनले नेपाल र भारतसँग त्रिदेशीय सहकार्य थप सुदृढ गर्न चाहेको उनले बताइन् । ‘यस खालको सहकार्यबाट चीन, नेपाल र भारतबीचको साझा विकासमा प्रगति गर्न सकिनेछ', उनले भनिन् । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले उक्त अनौपचारिक वार्ताबारे स्पष्ट बताइनन् ।
काठमाडौंस्थित चिनियाँ कूटनीतिक स्रोतले दाहाल, सी र मोदीबीच आकस्मिक भेट भएको बतायो । ‘यो पूर्वनिर्धारित भेटघाट थिएन । आकस्मिक भेट नै थियो तर त्रिदेशीय साझेदारीबारे जुन सकारात्मक र सौहाद्र्रपूर्ण कुरा भयो त्यसले तीनै देशलाई लाभ हुने हाम्रो बुझाइ छ', स्रोतले अन्नपूर्णसँग भन्यो ।
प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग भएको आकस्मिक अनौपचारिक वार्तामा आफूले त्रिदेशीय सहकार्यको कुरा उठाएको र त्यसमा दुवै देशका नेता सकारात्मक रहेको बताएका थिए । प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिसँगको भेटमा चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड' अवधारणामा नेपाल सक्रिय रूपले सहभागी हुने बताएको जानकारी प्रवक्ता हुवाले दिइन् ।
त्यस्तै दाहालले चीनको अग्रसरतामा स्थापित एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैठकमा प्रभावकारी रूपमा सहभागी हुने बताएको उनले उल्लेख गरिन् । ‘चीनसँगको सम्बन्धलाई बृहत्तर बनाउन चाहेको दाहालले बताउनुभयो', उनले भनिन् ।
चीनले त्रिदेशीय साझेदारीका विषयमा सकारात्मक प्रतिक्रिया दिएको भए पनि दक्षिणी छिमेकी भारतले चाहिँ यस अवधारणामा सधैं आफ्नो ‘रिजर्भेसन' राख्दै आएको छ । त्रिदेशीय सहकार्यबाट भारतलाई खासै लाभ नहुने तर नेपालमा भारतको परम्परागत प्रभाव घट्ने र चीनको प्रभाव बढ्ने त्रासमा भारत सधैं रहँदै आएको देखिन्छ ।