‘संशोधन मस्याैदा अन्तिम चरणमा'

‘संशोधन मस्याैदा अन्तिम चरणमा'

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको ड्राफ्ट अन्तिम चरणमा पुगेको दाबी गर्दै छठ पूर्वनै संसद्मा पेश गर्ने बताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठनताका मधेसी मोर्चासँग संविधान संशोधनलगायत तीन बुँदे सहमति गरेका प्रधानमन्त्री दाहालले संसद्मा संविधान संशोधनलाई उच्च प्राथमिकतामा राखिएको बताए ।

सरकारका काम, सरकार गठन लगत्तैको भारत भ्रमण तथा हालै भारतको गोवामा सम्पन्न ब्रिक्स÷बिमस्टेक सम्मेलनका क्रममा भएको उच्चस्तरीय भेटवार्ताबारे बुधबार संसद्लाई जानकारी दिदैं दाहालले भने, ‘मधेसी, थारु, जनजातिलगायतका असन्तुष्ट पक्षसँग वार्ता गरी संविधान संशोधन गरेर देशलाई निर्वाचनतर्फ लैजाने कामलाई सरकारले उच्च प्राथमिकता दिएको छ ।'

मधेसी मोर्चाले संशोधनको प्रस्ताव पेश नगरेको भन्दै सरकारलाई चेतावनी दिइरहेका बेला दाहालले छठसम्म संशोधनको प्रस्ताव पेश गर्ने प्रतिवद्धता जनाएका हुन् । ‘संशोधनको अन्तिम ड्राफ्ट तयार गर्नेतिर सरकार अघि बढेको छ', दाहालले भने, ‘अहिलेको अवस्थामा संविधानको स्वीकार्यतालाई फराकिलो पार्ने र संविधान कार्यान्वनतर्फ जाने विषय चुनौतिको रुपमा उभिएको छ । यो सत्तापक्ष र प्रतिपक्षको विषय हुन सक्दैन ।'

सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनरत पक्षसँग सहमति भएर संविधान संशोधन हुने विश्वास व्यक्त गर्दै दाहालले भने, ‘मलाई विश्वास छ, सहमतिमा संविधान संशोधन हुन्छ र निर्वाचनको वातावरण बन्नेछ । दलहरूबीच विमति होलान, तर राष्ट्र र जनताका अगाडि ती गौण छन्, हामी मिलेर अघि बढौं ।'

भूकम्पपछि प्रमुख दलहरू एक ठाउँ आएजस्तै संविधान कार्यान्वयन र यसको स्वीकार्यता फराकिलो पार्ने काममा पनि एकठाउँ आउनुपर्ने दाहालले बताए । हालै भारतको गोवामा सम्पन्न ब्रिक्स सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त भेटवार्ता त्रिदेशीय हितका पक्षमा भएको दाहालले दाबी गरे ।

‘संयुक्त भेटघाटका क्रममा त्रिदेशीय हितका पक्षमा मिलेर काम गर्ने सम्बन्धमा मैले राखेका धारणालाई दुवै नेताले सकारात्मक रुपमा हेर्नुभएको थियो । हाम्रो सन्दर्भमा त्यो सुखद संयोग एवं दुर्लभ अवसर थियो । यसको हामीले भरपुर सदुपयोग गर्यौं‍', दाहालले भने ।

दुवै देशका कार्यकारीसँग विना योजना अकस्मात त्यस्तो भेटघाट जुरेको दाहालले दावी गरे । ‘प्लान (योजना) गरेको भए त्यो भेटघाट मिलाउन गाहे हुन्थ्यो,' दाहालले भने ।

संविधान कार्यान्वयनको विषय नेपालको आन्तरिक विषय भएको प्रष्ट गर्दै दाहालले विदेशी चासो निम्त्याएको भन्ने विपक्षी दलको आरोपको खण्डन गरे ।

‘संयुक्त वक्तव्यमा उल्लेख भए बमोजिम मैले भारतका प्रधानमन्त्रीलाई वर्तमान सरकारले चालेको कदमका बारेमा बताएको हो,' दाहालले भने, ‘नेपालमा लोकतन्त्रको संवैधानिक सुदृढिकरणको महत्वको सराहना गर्दै भारतका प्रधानमन्त्रीबाट संविधानको प्रभावकारी कार्यान्वयनका निम्ति समाजका सबै वर्गलाई साथमा लिनका लागि नेपाल सरकारबाट हाल भइरहेको प्रयासको स्वागत गरिएको थियो ।'

भारतीय प्रधानमन्त्रीसँगको २५ बुँदे साझा दस्तावेजमा नेपालको परराष्ट्र नीतिमा वा कुटनीतिमा कुनै पनि विचलन आउन नदिइएको दाहालले दावी गरे । ‘नेपालको परराष्ट्र नीतिमा वा कुटनीतिमा कुनै पनि विचलन आएको छैन र आउने प्रश्न पनि उठदैन,' उनले भने ।

चिनियाँ राष्ट्रपतिलाई आफूले नेपाल भ्रमणको निम्तो दिएको र त्यसप्रति सकारात्मक धारणा पाएको दाहालले बताए । ‘मैले यसै वर्ष स्वागत गर्न हामी आंतुर छौं भनेर आग्रह गरे। महामहिम चिनियाँ राष्ट्रपतिले यो वर्ष त के हुन्छ, तर छिटै आउंछु भन्नुभएको छ,' दाहालले भने ।

आफू चुकेको स्पटोक्ति

प्रधानमन्त्री दाहालले भारतीय सहयोगका परियोजनाको अनुगमन गर्न बन्ने दुई देशीय संयन्त्रको स्वरुपबारे ब्रिक्स सम्मेलनका क्रममा आफूले भारतीय प्रधानमन्त्रीसँग स्पष्ट गरेको बताए । दाहालको भारत भ्रमणका क्रममा भारतीय लगानीका योजनाको निगरानी संयन्त्रमा भारतका तर्फबाट राजदुत र नेपाल सरकार रहने भन्ने उल्लेख थियो ।

‘भारत सरकारका तर्फबाट काठमाडौंस्थित भारतीय राजदूतले नेतृत्व गर्ने र नेपाल सरकारको तर्फबाट सचिव वा सहसचिवको संयोजकत्वमा विभिन्न निकायका प्रतिनिधि रहने गरि संयन्त्र स्थापना गर्नेबारे मैले ब्रिक्स सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्रीसँग कुरा गरिसकेको छु,' दाहालले भने ।

संसद अधिवेशन आजबाट अन्त्य संसदको बजेट अधिवेशन बिहीवार अन्त्य गर्ने तयारी भइरहेको संसद सचिवालय स्रोतले बतायो । सभामुख ओनसरी घर्तिमगर कात्तिक ५ गते अन्र्तराष्ट्रिय संसद संघ (आईपियु) को सम्मेलनमा भाग लिन स्वीटरलैण्ड जान लागेकाले विहीवार नै अधिवेशन अन्त्य गर्न लागिएको स्रोतले बतायो ।

सभामुखसँग प्रमुख दलका प्रमुख सचेतक,संसदका महासचिव सहित ८ सदस्यीय टोली स्वीटरलैण्ड जान लागेको संसद सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.