थारू जातिमा अझै बडघर प्रथा

थारू जातिमा अझै बडघर प्रथा

बैजापुर बाँकेः थारू जातिको परम्परागत राजनीतिक संरचना बडघरको प्रथाले गाउँटोलमा जनप्रतिनिधिको काम गर्दै आएका छन् । लामो समयदेखि स्थानीय निकायमा जनप्रतिनिधि नभएको अवस्थामा गाउँघरमा झैझगडा मिलाउनेदेखि मुद्दा मामिलाको फैसला गर्नेसम्मका काम बडघरले गर्दै आएका छन् ।

गाउँ टोलका सबै समस्याको अगुवाइ बडघरले गर्ने गरेका छन् । विवाह, मृत्यु, भोजलगायतका थारू जातिका संस्कारमा बडघरको महत्वपूर्ण भूमिका हुने गरेको छ । बडघरकै अगुवाइमा थारू जातिले रीतिरिवाज र संस्कृति धानिरहेका छन् । गाउँघरमा सामाजिक सुरक्षा भत्ता वितरण, खोपलगायतका सामाजिक कार्यमा समेत बडघरले सहयोग गरिरहेका छन् । गाउँघरमा हुने विकास निर्माणदेखि श्रमदान गराउन बडघरले महत्वपूर्ण भूमिका खेल्ने गरेका छन् ।

बाँकेको बिनौना-३ ललहीका बडघर शुभसागर चौधरीले गाउँका समस्या समाधानका लागि काम गर्दै आएको बताए । हालै बडघरमा चुनिएका चौधरीले जनप्रतिनिधिकै काम आफूहरूले गर्ने गरेको बताए । ‘गाउँमा जनप्रतिनिधि छैनन्, यस कारण गाउँका समस्या हामी नै समाधान गर्छौ', चौधरीले भने ।

थारू संस्कारमा बडघरको महत्व विशिष्ट भएको उनले बताए । उनले गाउँघरका समस्या लिएर गाविस र प्रहरीकोमा जानु पर्ने झन्झट नरहेको बताए । ‘हामीले धेरै समस्या समाधान गर्छौं, यसका लागि गाविस र पुलिसकहाँ जानु पर्दैन', चौधरीले भने ।

युवा बडघर कान्छा चौधरी पछिल्लो पुस्तामा समेत बडघरप्रतिको आर्कषण कायम नै रहेको बताउँछन् । २०५८ सालबाट लगातार बडघर हुर्दै आएका बैजापुर–९ पसरामपुरका ३६ वर्षीय कान्छा चौधरीले आफूले जनप्रतिनिधिको भूमिका निभाइरहेको बताए । गाउँ टोलका समस्यादेखि सामाजिक कामसमेत बडघर कै अगुवाइमा हुने उनले बताए । लामो समयदेखि बडघर रहँदै आएका कान्छा चौधरीले समाजिक विकृति विसंगतिविरुद्धसमेत बडघरले काम गर्ने गरेको बताए ।

‘गाउँमा झैझगडा, मुद्दा मामिला भएमा आफैं मिलाउँछौं', बडघर कान्छाले भने । गाउँमा हुने विकास निर्माण काममासमेत बडघरले अगुवाइ गर्ने गरेका छन् । ‘गाउँमा बाटो बनाउनु पर्‍यो, पुल बनाउनु पर्‍यो, स्कुल बनाउनदेखि अधिकांश कामको नेतृत्व हामी गर्छौ', कान्छाले भने । गाविस अध्यक्ष, वडा अध्यक्ष र गासस नभएका कारण बडघरको महत्व अझ बढेको छ ।

वर्षभरमा गाउँ टोलको विकासदेखि सामाजिक कार्यको योजना बनाउने कामसमेत बडघरबाट नै हुने गरेको छ । कान्छा चौधरीले भने, ‘वर्षभर के के गर्ने, गत वर्ष के के काम भयो, त्यसको समीक्षासमेत बडघरले गर्नुपर्छ ।' बडघरले गाउँघरमा कार्ययोजना नै बनाएर छलफल गर्ने गरेको उनले बताए ।

दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा प्रत्येक थारू गाउँमा बडघर चुन्ने चलन कायम नै छ । बर्सेनि माघीको समयमा माघ २ गतेबाट बडघर चुन्ने गरिन्छ ।

थारू समुदायमा लामो समयदेखि रहदै आएको कमैया, कमलरी प्रथा उन्मूलन गरिए पनि वडघर प्रथा भने कायम छ । थारू समुदायका समाजसेवी एकराज चौधरी बडघर प्रथा थारू समुदायको पहिचान भएको बताउँछन् । उनले बडघरहरूले गाउँमा स्थानीय निकायका प्रतिनिधिकै काम गरिरहेको बताए ।

समाजसेवी चौधरीले भने, ‘माओवादी द्वन्द्व र जनआन्दोलनको समयमा गाउँघरमा सरकार उपस्थिति थिएन, त्यसबेला गाउँघरका मुद्दा तामेली बडघरले गर्ने गर्थे ।'

उनले बडघरलाई सरकारले प्रयोग गर्न सक्नुपर्ने बताए । चौधरीले नागरिक वडा मञ्चहरूमा समेत बडघरको नेतृत्व रहेको बताए । उनले थारू समुदायको राजनीतिक संरचनाको अवशेष बडघर प्रथा मात्रै बाँकी रहेको बताए । उनले दाङमा ५ वटा प्रगन्ना र बर्दियामा ११ टप्पाजस्ता राजनीतिक संरचना रहेको बताए ।

उनले चुनावबाट राजा छान्ने थारू समुदायको संस्कृति लोप भएको बताए । उनले थारू समुदायको संस्कृति धान्न मात्रै बडघर बाँकी रहेको बताए । बडघरको नेतृत्वमा थारू समुदायमा चिरकिया, गुरुवा, लोहार चौकीदारजस्ता संरचनासमेत रहेको बताए । समाजसेवी एवं थारू संस्कृति अनुसन्धानकर्तासमेत रहेका चौधरीले राज्यबाट उपेक्षित रहेको बडघरलगायतका थारू समुदायका संस्कृति, परम्पराको जर्गेना गर्न लाग्नु पर्ने बताए ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.