पर्यटक लोभ्याउँदै कुपिण्डे ताल
कुपिण्डे सल्यानः सरकारले यस वर्षलाई घुमफिर वर्षकारूपमा मनाउने निर्णय गरेकाले अहिलेसम्म ओझेलमा परेका महत्वपूर्ण पर्यटकीय क्षेत्रमा पनि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । प्राकृतिक सुन्दरता भएर पनि ओझेलमा परेको सल्यानको कुपिण्डे तालमा पर्यटकको भीड लाग्न थालेको हो ।
डुंगा सञ्चालन र तालको प्रचारप्रसार बढेपछि हिजोआज ताल हेर्न पुग्नेको भीड लाग्ने गरेको छ । सल्यानको कुपिण्डे गाविसमा रहेको तालको अवलोकन र डुंगामा सयर गर्न जाने पर्यटकको संख्या बढ्दै गएको छ । ताललाई चारैतिरबाट पहाडले घेरेको छ ।
त्यस स्थानबाट चाखुरे र सिस्ने हिमालको अवलोकन गर्न सकिने भएकाले आन्तरिक पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन् । पानी बाहिरिने मार्ग नभएको र पानीको मुल पनि नदेखिने यस तालको सुन्दरताले पछिल्लो समय आन्तरिक पर्यटकहरूलाई लोभ्याएको छ । तालको अवलोकनका लागि भेरी र राप्ती अञ्चलका साथै देशका अन्य क्षेत्रबाट पनि पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।
दैनिकरूपमा पर्यटक आउने क्रम बढेपछि अहिले काठका दुई वटा र प्लाष्टिकको एउटा गरी तीन वटा डुंगा सञ्चालन गरिएको छ । त्यहाँ कुपिण्डे ताल संरक्षण समिति नै गठन गरेर तालसम्म सडक र अन्य सुविधा पुर्याउने काम भइरहेको छ । ताल वरिपरीको जंगलमा वन्यजन्तुको अवलोकन गर्न पाइने र वनभोजका लागि पनि उपयुक्त रहेकाले पर्यटकहरू आकर्षित भएका हुनसक्ने समितिले जनाएको छ ।
तालको छेउमै बराह देवताको मन्दिर रहेको छ । ती देवताको पुजा गर्दा सन्तान प्राप्त हुने जनविश्वासका कारण टाढाटाढाबाट धार्मिक पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन् । पर्यटकको आगमन बढेपछि आर्थिक कारोबार पनि बढेको स्थानीय बासिन्दाले बताए । तालमा डुंगा चलाउँदै आएका स्थानीय हरिचन्द्र पुरीले भने, ‘हिजोआज मान्छेहरूको लर्को नै लाग्न थालेको छ, ताल हेर्न र वनभोजका लागि मान्छेहरू आउने गर्दछन् । यसले यहाँको आम्दानी बढेको छ, हामीले पनि रोजगारी पाएका छौं ।'
पर्यटकहरू आउन थालेपछि आफूहरूले तालको संरक्षण र अन्य भौतिक विकासको काम सुरु गरेको कुपिण्डे ताल संरक्षण समितिका अध्यक्ष झरेन्द्र कुँवरले बताए । उनले भने, ‘तालले पर्यटकलाई लोभ्याएको , यहाँको आर्थिक कारोबार पनि बढेको छ । हामीले तालसम्म पुग्ने सडक बनाइसकेका छौं, अब सुविधायुक्त होटल सञ्चालनको तयारीमा छौं ।' यो तालले मध्यपश्चिमकै पहिचान बढाएको भन्दै तालको संरक्षण र पवद्र्धनमा राज्यले पनि लगानी गर्नुपर्ने उनले बताए ।
तालको क्षेत्रफल र गहिराइको बारेमा हालसम्म आधिकारीक तथ्याकं छैन । तर संरक्षण समितिका अनुसार तालको लम्बाई करिब दुई किलोमिटर, चौडाई दुई सय ५० मिटर र गहिराई ५२ मिटर रहेको छ । तालको वरिपरी घुम्न डुंगामा करिब एक घण्टा समय लाग्ने गर्दछ, त्यसका लागि प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क लिने गरिएको छ । यसबाट संकलन भएको रकम तालको संरक्षणमा खर्च गर्ने गरिएको भन्दै संरक्षण समितिले दसैंतिहारको बेलामा बढी पर्यटक आउने गरेको जनाएको छ ।
कुपिन्डे ताल विरेन्द्रनगरदेखि ६८ किलोमिटरको दुरीमा रहेको छ । यामअनुसार तालमा पानीको रंग नै बदलिने स्थानीय बासिन्दा बताउँछन् । प्रचारप्रसारको कमिले विदेशी पर्यटकहरू भित्र्याउन नसकिएको स्थानीयले बताए । प्रचारप्रसार भए विदेशी पर्यटक पनि आउने उनीहरूको विश्वास थियो ।
बराह मन्दिरका पुजारी लालबहादुर गोसाईले मन्दिरमा पुजाआजा गरेपछि सन्तान प्राप्त हुने जनविश्वासका कारण मानिसहरूको भीड लाग्ने गरेको बताए । उनले भने, ‘ताल हेर्न आउने पर्यटकको कमी छैन, बरु यस क्षेत्रमा होटल र अन्य सुविधाहरूको व्यवस्था गर्न जरुरी छ । यसो भएमा पर्यटकको ओइरो नै लाग्नेछ, यसले यहाँको आर्थिक विकासमा पनि टेवा पुग्नेछ ।'
उनले तालसम्म पुग्ने सडक कालोपत्रे भएमा, सुरक्षाका लागि चौकी, होटल र मनोरञ्जनको व्यवस्था गरिएमा रारा तालसरह कुपिण्डेको पनि महत्व बढ्ने दावी गरे । सुर्खेतबाट तालको अवलोकन गर्न पुगेका घनश्याम केसीले तालको सुन्दरताले मन लोभ्याएको भन्दै यसको थप प्रचारप्रसार आवश्यक भएको उल्लेख गरे ।