लालपुर्जा नहुँदा अनुदानबाट वञ्चित

लालपुर्जा नहुँदा अनुदानबाट वञ्चित

सिन्धुलीः जिल्लाका ६ हजारभन्दा बढी भूकम्पपीडितहरू आफ्नो नाममा लालपुर्जा नहुँदा अनुदान रकम पाउनबाट वञ्चित भएका छन् । निजी आवास पुनर्निर्माण गर्न अनुदानका लागि लालपुर्जा अनिवार्य भएपछि यहाँका पीडितहरू वञ्चित अनुदानबाट भएका हुन् ।

जिल्लाभरका झन्डै ६ हजार पीडितसँग आफ्नो नाममा जग्गा नहुँदा उनीहरूले घर निर्माणका लागि अनुदान नपाउने अवस्था आएको हो । लालपुर्जा नहुने पीडितहरूसँग हालसम्म अनुदान सम्झौता हुन नसकेको जिल्ला विकास समिति सिन्धुलीले जनायो ।

जिल्लाको निपाने गाविसमा हालसम्म एकजना पीडितसँग पनि सम्झौत हुन सकेको छैन । उक्त गाविसका सबै भूकम्पपीडित अनुदान पाउनबाट वञ्चित हुनु पर्ने अवस्था आएको छ । गाविसका २ सय ६ जना पीडितमध्ये दुई सय १ परिवारसँग लालपुर्जा नहुँदा अनुदान वितरणका लागि हालसम्म सम्झौता हुन नसकेको जिल्ला विकास समिति सिन्धुलीका डिजास्टर फोकल पर्सन बबिन्द्रलाल माझीले बताए ।

आवस पुनर्निर्माणका लागि सरकारले दिने भनेको तीन लाख रुपैयाँको पहिलो किस्ता ५० हजार रुपैयाँ पाउन पहिला प्राधिकरणसँग सम्झौता गर्नुपर्छ । लाभग्राहीले अनुदान पाउन सम्झौतामा कहाँ घर बनाउने हो निश्चित गरी लालपुर्जा र घर बन्ने जग्गाको कित्ता नम्बरसमेत उल्लेख गर्नुपर्छ । ‘तर निपाने गाविसका दुई सय ६ जना लाभग्राहीमध्ये दुई सय एकजनासँग लालपुर्जा नभएपछि सिंगो गाविसमा सम्झौता हुन सकेको छैन,’ उनले भने ।

गाविसभरका जम्मा पाँचजना लाभग्राहीले मात्र आफ्नो नाममा घर बनाउन मालपोत कार्यालयमा राजिष्ट्रेसन पास भएको जग्गा देखाए पनि अन्य पीडितको अवरोधका कारण कोहीसँग पनि सम्झौता नभएको उनले बताए । माझीले भने, ‘जिल्लाका अन्य गाविस र नगरपालिकामा पीडितहरूसँग सम्झौता गरी पहिलो किस्ताको ५० हजार रुपैयाँसमेत वितरण थालिएको भए पनि निपनेमा भने लालपुर्जाकै कारण सम्झौता नभएको हो ।’

जिल्लाका ३४ हजार दुई सय लाभग्राहीमध्ये हालसम्म २८ हजार पीडितहरूसँग मात्र सम्झौता सम्पन्न गरिएको छ । बाँकी ६ हजारभन्दा बढीसँग सम्झौता हुन सकेको छैन । सम्झौता नहुनुको मुख्य कारण लालपुर्जा नै रहेको छ ।

त्यस गाविसमा बसोबास गर्नेहरू अधिकांश सामुदायिक वन अतिक्रमण गरी बसेका सुकुम्बासी हुन् । सरकारले यसअघि लालपुर्जा नभएकाहरूलाई पनि निजी आवस पुनर्निर्माणका लागि अनुदान दिने जनाए पनि प्राधिकरणले त्यससम्बन्धी कार्यविधिमा स्पष्ट नखुलाउँदा सम्झौता गर्न समस्या भएको बताइएको छ । निपानेको जस्तै जिल्लाको कमलामाई नगरपालिका १० स्थित भिमान, हर्षाही, कल्पवृक्ष, सिर्थौली, कपिलाकोटलगायतका गाविसका हजारौं पीडितहरूले लालपुर्जा नभएकै कारण अनुदान पाउन सकेका छैनन् ।

जिल्लाका ३४ हजार दुई सय लाभग्राहीमध्ये हालसम्म २८ हजार पीडितहरूसँग मात्र सम्झौता सम्पन्न गरिएको छ । बाँकी ६ हजारभन्दा बढीसँग सम्झौता हुन सकेको छैन । सम्झौता नहुनुको मुख्य कारण लालपुर्जा नै रहेको छ । यसरी लालपुर्जा नहुनेहरू सुकुम्बासी हुन् । भिमान बजारसँगै लालपुर्जाविहीन छ । वर्षौंदेखि पीडितहरूले सार्वजनिक जग्गा ओगटेर बसोबास गर्दै आए पनि उनीहरूले आफ्नो नाममा लालपुर्जा पाउन सकेका छैनन् । उनीहरू पनि अनुदान पाउनबाट वञ्चित हुनु परेको छ ।

जिल्लामा लालपुर्जा नभएका पीडितहरूसँग सम्झौता नभएको विषयमा पुनर्निर्माण प्राधिकरणलाई जानकारी गराइएको भए पनि कुनै निर्देशन नआएको माझीले बताए । जिल्लामा हालसम्म २५ हजार पीडितलाई पुनर्निर्माणको पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ वितरण गरिएको छ । तर लालपुर्जा नहुनेहरूका लागि प्राधिकरणले सम्बोधन नगरे पीडितहरूको घर बनाउने सपना अधुरै रहने देखिन्छ ।





प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.