स्क्रब टाइफसबाट कैलालीमा पाँच जनाको मृत्यु
धनगढीः कैलालीको सेती अञ्चल अस्पतालमा दुई महिनाको अवधिमा स्क्रब टाइफस रोगबाट पाँच जनाको मृत्यु भएको छ।
भदौ र असोज महिनाको अवधिमा कैलालीको फुलबारीका २४ वर्षीय सगुन राना, फुलबारीकै १६ वर्षीय दिवश चौधरी, उर्माका १२ वर्षीया अन्जु कुमारी सार्की, धनगढी उपमहानगरपालिका मनेहराकी २८ वर्षीया दीपा राना र पहलमानपुर गाविस–१३ का १५ वर्षीय कृष्ण बोगटीको मृत्यु भएको सेती अञ्चल अस्पतालले जनाएको छ।
असारदेखि स्क्रब टाइफसका बिरामी अस्पतालमा आउन थालेको र असोजसम्म पाँच जनाको मृत्यु भएको सेती अञ्चल अस्पतालका प्रमुख डाक्टर सुर्यबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार सेती अस्पतालमा मात्रै ९१ जनामा स्क्रब टाइफस रोग भेटिएको छ।
मुसा, छुचुन्द्रो प्रजातीको पशुको शरीरमा हुने जुम्राले टोकेमा स्क्रब टाइफस रोग लाग्ने गरेको चिकित्सकहरुले जनाएका छन्। ‘धेरैजना बिरामी धनगढी उपमहानगरपालिकाको फुलबारी र उर्माका आएका छन्, त्यो क्षेत्रमा मुसाको शरीरमा पाइने किर्नाको टोकाइबाट बच्ने चेतनामुलक जानकारी गराउन आवश्यक छ,’ उपचारमा खटिएका फिजिसियन डाक्टर शेरबहादुर कमरले भने।
योसँगै सेती अञ्चल अस्पतालमा स्क्रब टाइफसका बिरामीलाई जाँच गर्ने टेस्ट किट्को पनि अभाव भएको छ। यसअघि दुई पटक गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्क्रब टाइफस जाँचका लागि पठाएको १५० टेस्ट किटबाट रगत जाँच गर्दा ९१ जना विरामीमा रोग भेटिएको हो।
सेती अञ्चल अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर कमरले स्क्रब टाइफसका १५० टेस्ट किटबाट ९१ जनामा रोग देखिनु ठूलो महामारी भएको बताए। ‘१५० जनाको रगत जाँच गर्दा ९१ जनामा रोग भेटिनु भनेको महामारी सरह हो,’ उनले भने। ‘स्क्रब टाइफसका बिरामीको संख्या बढेपछि, आफु निमित्त मेसु भएका बेला दुई पटक रोग नियन्त्रण महाशाखामा टेस्ट किटका लागि पत्र पठाएपनि कुनै सुनुवाइ भएन’ सेती अञ्चल अस्पतालका सर्जन डाक्टर विसनसिह बोहराले भने।