लोकमान निलम्बनमा परेपछि अख्तियारको कार्यबाहक प्रमुखमा बस्न्यात
काठमाडौंः लोकमानसिंह कार्की निलम्बनमा परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यबाहक प्रमुखको जिम्मेवारी आयुक्त दीप बस्न्यातले सम्हालेका छन्।
कार्कीविरुद्ध बुधवार संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि बिहीबारदेखि आयुक्त बस्न्यातले अख्तियारको कार्यबाहक प्रमुख आयुक्तको जिम्मेबारी पाएका हुन्।
आयोगको नियमावलीमा प्रमुख आयुक्तको अनुपस्थितिमा आयुक्तमध्ये वरिष्ठ आयुक्तले कार्यबाहक प्रमुख हुने व्यवस्थाबमोजिम बस्न्यातले कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हालेको अख्तियार प्रवक्ता गणेश कार्कीले जानकारी दिए।
संविधानको धारा १०१ को उपधारा ६ मा संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले महाभियोग कारबाही प्रारम्भ भएपछि त्यसको किनारा नलागेसम्म पदमा रहेर कार्यसम्पादन गर्न नपाउने व्यवस्था छ।
कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पारित हुन संसदको दुईतिहाई हाल कायम रहेको संसद संख्या ५९५ मध्ये ३९७ सांसदको समर्थन आवश्यक पर्छ।
प्रमुख प्रतिपक्षी दल एमाले र सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका १५७ सांसदले बुधबार कार्कीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरेका थिए।