भवानी राणा अध्यक्ष बन्ने निश्चित

भवानी राणा अध्यक्ष बन्ने निश्चित

काठमाडौः नेपाल उद्योग वाणिज्य महासंघको आगामी अध्यक्ष भवानी राणा बन्ने निश्चित भएको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने प्रावधानसहितको संशोधित विधान पारित भएपछि उनी बिना प्रतिस्पर्धा अध्यक्ष बन्ने भएकी हुन् । उनी अहिले महासंघको वरिष्ठ उपाध्यक्ष छन् ।

आर्मी अफिसर्स क्लवमा बिहीबार सम्पन्न विशेष साधारणसभाले विधान संशोधन प्रस्ताव पारित गरेको हो । विशेष साधरणसभामा सहभागी ९० प्रतिशतभन्दा बढी सदस्य विधान संशोधनको पक्षमा देखिए । संशोधित विधान छिट्टै कार्यान्वयनमा आउने महासंघ अध्यक्ष पशुपति मुरारकाले जानकारी दिए । ‘संशोधित विधान प्रमाणीकरणका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउँछौं, प्रमाणीकरण भएलगत्तै नयाँ विधान कार्यान्वयन हुन्छ’, उनले भने ।

महासंघको आगामी चैतमा नयाँ कार्यसमितिको निर्वाचन हुँदैछ । ‘चैतमा हुने निर्वाचनमा अध्यक्ष बाहेक अन्य पदमा मात्र निर्वाचन हुन्छ’, मुरारकाले भने, ‘वरिष्ठ उपाध्यक्ष महासंघको स्वतः अध्यक्ष बन्नेछन् ।’ यो व्यवस्थाले वरिष्ठ उपाध्यक्ष राणा महासंघको नेतृत्वमा सजिलै पुग्ने भइन् । उनले महासंघको नेतृत्व सम्हाल्ने पहिलो महिला बन्ने सौभाग्य पाउने भएकी छन् ।

अहिलेसम्म महासंघको अध्यक्ष, तीन उपाध्यक्ष र कार्यकारिणी सदस्यमा निर्वाचन हुँदै आएको थियो । वरिष्ठ उपाध्यक्ष भने निर्वाचित कार्यकारिणी समितिबाट चयन गरिन्थ्यो । अब अध्यक्षमा निर्वाचन नहुने भएपछि वरिष्ठ उपाध्यक्षको निर्वाचन प्रतिस्पर्धी बन्ने देखिएको छ । वरिष्ठ उपाध्यक्ष र तलका सबै पदमा निर्वाचन हुनेछ ।

विशेष साधारणसभामा सहभागी ९० प्रतिशतभन्दा बढी सदस्य विधान संशोधनको पक्षमा देखिए । 

संशोधित विधानमा कोषाध्यक्ष पदको पनि व्यवस्था गरिएको छ । अहिलेसम्म महासंघमा कोषाध्यक्ष पद थिएन । कार्यकारिणी समितिले निर्वाचित सदस्यमध्ये एक जनालाई कोषाध्यक्ष चयन गर्नेछ । महासंघको कार्यकारिणी समितिमा पाँच जना थपेर ७१ पुर्‍याइएको छ ।

महासंघको विधान संघीय संरचना सुहउँदो संशोधन गरिएको मुरारकाले बताए । नयाँ विधानअनुसार प्रत्येक प्रदेशमा महासंघको प्रदेश एकाइ रहनेछ । सातवटै प्रदेशका एकाईमा छुट्टै अध्यक्ष रहनेछन् । सम्बन्धित प्रदेशले नै आफ्नो प्रमुख छान्नेछ । प्रदेश प्रादेशिक अध्यक्ष केन्द्रमा कार्यकारिणी सदस्यका रूपमा रहने व्यवस्था गरिएको छ । नयाँ विधानमा अञ्चल प्रतिनिधि खारेज गरिएको छ । संघीय संरचनामा अञ्चल नरहने भएपछि अञ्चल प्रतिनिधि खारेज गरिएको उनले जानकारी दिए ।

पूर्वअध्यक्षको बहिष्कार

महासंघका धेरैजसो पूर्वअध्यक्षले साधारणसभा बहिष्कार गरे । उनीहरूको उपस्थिति बिना विधान संशोधन गरिएको हो । महासंघका पूर्वअध्यक्ष महेश्वरलाल प्रधान, पद्य ज्योति, आनन्दराज मुल्मी, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशीले आफूहरूलाई निमन्त्रणा नआएको बताउँदै बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गरी साधारणसभा बहिष्कार गरेको घोषणा गरेका थिए । अर्का पूर्वअध्यक्ष सुरज वैद्य अहिले देशबाहिर छन् । उनी पनि असन्तुष्ट पक्षका हुन् । तर, महासंघ सचिवालयले सबै पूर्वअध्यक्षलाई चिठी पठाएर भरपाई बुझेको दाबी गरेको छ ।

विशेष साधारणसभामा पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ र चण्डिराज ढकालमात्र उपस्थित थिए । ढकाल विधान संशोधन समितिको सभापति समेत थिए । यसअघि ढकालकै कार्यकालमा विशेष साधारणसभामार्फत महासंघको विधान संशोधन गरेर दुई वर्षे कार्यकाललाई तीन वर्षको बनाइएको थियो । राणालाई अध्यक्ष बनाउन कस्सिएर लागेका ढकाल सहजै नेतृत्वमा पुर्‍याउन सफल भएका छन् ।

विधान संशोधन गर्न विशेष साधारणसभा डाकेपछि पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कार्यकारिणी सदस्य गोविन्दराज घिमिरेले यसलाई रोक्न उच्च अदालत पाटनमा रिट हालेका थिए ।

अदालतले मंगलबार विशेष साधारणसभा यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गर्दै बुधबार दुवै पक्षलाई बोलाएर राय लिएको थियो । दुवै पक्षको राय लिएपछि अदालते अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने निष्कर्ष निकाल्दै रिट खारेज गरेर विशेष साधारणसभाको बाटो खोलिदिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.