वैदिक सभ्यताबाट प्रेरणा मिल्छः राष्ट्रपति
राष्ट्रपति विद्या भण्डारीले वैदिक सभ्यता अपनाउन सके हरक्षेत्रमा प्रेरणा मिल्ने बताएकी छन् । नेपाल आर्य समाजले बिहीबारदेखि राजधानीमा सुरु गरेको तीनदिने महासम्मेलन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘वैदिक सभ्यता र आर्य समाजले खासगरि नारीहरुलाई अघि सारेको हुनाले त्यसबाट आजसम्म विश्वले प्रेरणा लिएको छ ।
वैदिक समाजले सबैलाई शान्ति र समृद्धिका लागि बाटो खोलेको पनि छ ।'स्वामी सम्पूर्णानन्द सरस्वतीले नेपालको वैदिक सभ्यताले विश्वलाई धेरै कुरा सिकाएको बताए । उनले रामराज्यको उदाहरण दिँदै भने, ‘एकातिर रामको त्याग र राज्य उदाहरण बनेको छ, अर्कोतिर नेपालले सीतालाई माताका रूपमा पाएको छ ।
यी दुवै नेपालमा भएकाले अरूलाई शिक्षा भएको छ ।' उनले नेपालको संस्कृति विश्व संस्कृतिको शिखर भएको प्रस्ट पारे ।
समाजका अध्यक्ष जनार्दन घिमिरेले नेपाली समाज अब एक घर एक वेदको अभियानमा जानुपर्नेमा जोड दिए । उनले अन्धविश्वास, जातीयता, छुवाछूत, भेदभाव आदिबाट समाजलाई मुक्त गरी वैदिक संस्कृतिको यथार्थ स्वरूपलाई स्थान दिनुपर्ने बताए ।
दिल्लीबाट आएका सार्वदेशिक आर्य प्रतिनिधि प्रकाश आर्यले वैदिक सभ्यताको अध्ययन हरेक जाति र वर्गले गर्नुपर्ने बताए ।
उनले वेदले मानिसलाई मानव बनाउनेमा पनि जोड दिए । महासम्मेलनमा योगध्यान शिविर, वैदिक यज्ञ, राष्ट्र रक्षा सम्मेलन, महिला सम्मेलन, संस्कृत सम्मेलन, वेद विज्ञान सम्मेलन, आर्य सम्मेलन, युवा सम्मेलन, कवि सम्मेलन, धार्मिक प्रदर्शनी आदि हुनेछन् ।
महासम्मेलनमा म्यानमार, मौरिसस, बंगलादेश, अमेरिका, भारत, पाकिस्तान, न्युजिल्यान्ड, थाइल्यान्डलगायत करिब ३० देशको सहभागिता छ । अन्तर्राष्ट्रिय सनातन वैदिक आर्य महासम्मेलनमा सामाजिक कुरीतिहरूको अन्त्य गरी समाजलाई मुक्त पारेर भौतिक र आध्यात्मिक उन्नतिबाट मात्र समृद्ध समाज निर्माण गर्न सकिने सम्बन्धित क्षेत्रका विद्वान्ले बताएका छन् ।
नेपालको इतिहासमा पहिलोपटक आयोजना भएको महासम्मेलनमा बिहीबार राष्ट्रपतिलगायतले वैदिक सभ्यता र आर्य समाजको अनुसरण गरेर अघि बढे समाज विकास हुने धारणा राखेका हुन् ।