राजधानीमै प्राकृतिक ग्यास उत्खननको सफल परीक्षण
काठमाडौँ: नेपालमा पहिलो पटक ग्यास उत्खननको नमुना परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । खानी तथा भूगर्भ विभागले शुक्रबार ललितपुरको इमाडाेलमा सफलतापूर्वक प्राकृतिक ग्यासको नमुना परीक्षण गरेको हो ।
खानी तथा भूगर्भ विभागले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), थापाथली इन्जिनियरिङ क्याम्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसको सहयोगमा पहिलो पटक नेपालमै ग्यासको नमुना परीक्षण गरेको हो ।
सन् १९७८ मा स्थापित काठमाडौं ग्यास प्रोजेक्ट मार्फत् शुक्रबार ग्यासको नमुना परीक्षण गरिएको हो । विभागले इमाडोलसहित राजधानीका १४ स्थानबाट प्राकृतिक ग्यास उत्पादन गर्न सकिने बताएको छ ।
विभागले विभिन्न क्षेत्रको २६ वर्गाकिमीमा १४ वटा ग्यास वेल ड्रिल गरिसकेको छ । ग्यास वेल ड्रिल भएका क्षेत्रलाई तीन ब्लकमा बाँडिएको छ । इमाडोलमा तीन सय ५० मिटर गहिरो नयाँ वेल पछिल्लो वर्ष राखिएको हो ।
राजधानीमै भएको प्राकृतिक ग्यसको नमुना परीक्षणको शुक्रबार दिउँसो उद्योगमन्त्री नविन्द्रराज जोशीले निरीक्षण गरे । मन्त्री जोशीले प्राकृतिक ग्यासबाट आगो बालेर नमुना परीक्षण सफल भएको देखाए । यस अघि नेपालमा प्राकृतिक ग्यास परीक्षण गरिएको भए पनि सफल परीक्षण भएको थिएन।