आमाबुबालाई आश्रममा नराखौँः राष्ट्रपति
विराटनगरः राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मदिने आमाबुबालाई बोझ ठानेर वृद्धाश्रममा राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताएकी छिन् ।
आधुनिकताका नाममा आफ्ना आमाबुबालाई वृद्धाश्रममा राख्नु नेपाली सांस्कृतिक पक्ष नभएको बताउँदै राष्ट्रपति भण्डारीले शनिबार विराटनगरमा ज्येष्ठ नागरिकलाई सम्मान गर्न आयोजित कार्यक्रमर्मा भनिन्,‘हजुरबुवा, हजुरआमा र नातिनातीना एउटै परिवार रहने परिवार नै आदर्श परिवार हो ।’
परिवारविहीन वृद्धवृद्धाको लागि विशेष व्यवस्था गर्नुपर्ने भएपनि वृद्धाश्रममा राख्ने प्रचलन राम्रो नभएको उनले बताइन् ।
पछिल्लो समय संयुक्त परिवार विगठन भई व्यक्तिवाद हावी हुने परिघटनाले नेपाली संस्कृति बिघटन हुँदै गई रहेको बताउँदै राष्ट्रपतिले भनिन्,‘नयाँ संविधानले मौलिक हकका रुपमा ज्येष्ठ नागरिकको अधिकार स्थापित गरेको छ ।’ उनले ज्येष्ठ नागरिक समाजको महत्पूर्ण सम्पति भएको पनि बताइन् ।
संयुक्त राष्ट्र संघले पनि ज्येष्ठ नगारिकको अधिकार प्रति विभिन्न नीति अघि बढाएको बताउँदै नेपाल सरकारले सामाजिक सुरक्षाका लागि उपलब्ध गराएको वृद्धभत्ताले आत्मसम्मान बढाउन निकै मद्दत मिलेको बताइन् ।
उनले अग्रजहरुको सम्मान, सेवा र आर्शीवाद ग्रहण गर्नु संस्कृतिको अभिन्न अंग भएको बताइन् । मनमोहन स्मृति प्रतिष्ठानले एक नम्बर प्रदेशका ३ हजार ७ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।