‘मधेसी मोर्चाका मुद्दालाई ओझेलमा पार्न लोकमान प्रकरण अघि सारियो’
काठमाडौंः मधेसी मोर्चाका नेता रामनरेश राय यादवले अख्तियार प्रमुख लोकमान सिंहविरुद्ध माओवादी केन्द्र र एमालेले मिलेर ल्याएको महाअभियोगको प्रस्ताव आफूहरुका लागि हर्ष न विष्मात् भएको टिप्पणी गरेका छन्।
यादवले किन यसरी हतारिएर महाअभियोग प्रस्ताव ल्याइएको भन्दै प्रश्न समेत गरे। रिपोर्टर्स क्लब नेपालले शनिवार गरेको साक्षात्कारमा उनले ठूला पार्टीहरुले मधेसी मोर्चाको मुद्दालाई ओझेलमा पार्नको लागि लोकमान प्रकरण अघि सारिएको समेत आरोप लगाए।
उनले भने,‘अहिलेको ज्वलन्त समस्या भनेको संविधान संशोधन हो, संविधान संशोधन गरेर तीन वटै निकायको चुनाव गराउँदै संविधान कार्यान्वयन गराउने ठूलो कुरा हो, तर यहाँ लोकमानको प्रकरण देखाएर मोर्चालाई झुक्याउने काम गरिएको छ।’
नेता यादवले लोकमानको मुद्दा अदालतमा विचाराधिन भएकोले अहिले दलहरुले हतारमा यस्तो प्रस्ताव ल्याउनुले नेताहरुको नियतमा प्रश्न उठेको आरोप लगाए। उनले भने,‘रातारात यो प्रस्ताव ल्याइयो, यसले गम्भिर प्रश्न उब्जाएको छ।’ यद्यपी उनले हिजो लोकमानलाई अख्तियार प्रमुख बनाउनेहरुले आज आएर हटाउने खेल गरेको समेत टिप्पणी गरे।
संविधान संशोधन नभए आफूहरुले तराईको कुनै पनि भूभागमा चुनाव गर्ने नदिने समेत उनको चेतावनी थियो।