एन्फा निर्वाचन आज

एन्फा निर्वाचन आज

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष र उपाध्यक्ष पदका लागि सोमबार निर्वाचन हुने भएको छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ । नेपाली खेलकुदमा निकै चासोका साथ हेरिएको एन्फा निर्वाचनका लागि विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधि शनिबार नै नेपाल आइसकेका छन् ।

एन्फाको तीन वर्षअघि सम्पन्न चुनावी साधारणसभापछि हालसम्म नियमित साधारणसभासमेत हुन सकेको छैन । एन्फाको यो नियमित साधारणसभा पनि हो । साधारणसभाले अध्यक्षको प्रतिवेदन र आर्थिक प्रतिवेदनसमेत पारित गर्ने एन्फाका प्रवक्ता एवं प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले बताए । अध्यक्षको प्रतिवेदन कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र आर्थिक प्रतिवेदन कोषाध्यक्ष विराटजंग शाहीले प्रस्तुत गर्नेछन् ।

अध्यक्षको र आर्थिक प्रतिवेदनपछि अध्यक्ष र उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । एन्फाको विधान संशोधनलगायतका विषयमा भने नयाँ कार्यसमिति बनेपछि अर्को साधारणसभाले निर्णय गर्ने बताइएको छ । यसअघि एन्फाको विधान फरक-फरक रहेको विषयमा विवाद हुँदै आएको थियो ।

अध्यक्ष पदका लागि एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । एक उपाध्यक्षमा एन्फाका सहायक महासचिव मणि कुँवर, नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान एवं प्रशिक्षक उपेन्द्रमान सिंह र दीपक खातीबीच भिडन्त हुनेछ । मणिले नरेन्द्रको प्यानलबाट चुनाव लड्न लागेका हुन् । पूर्वसदस्य दीपक कर्माको पक्षबाट चुनावी मैदानमा छन् । उपेन्द्रमान स्वतन्त्र रुपमा मैदानमा उत्रिएका छन् ।

एन्फा निर्वाचनमा ४५ जिल्ला, १२ वटा 'ए' डिभिजन, पाँच वटा 'बी' डिभिजन र तीनवटा 'सी' डिभिजन तथा रेफ्री, प्रशिक्षक, खेलाडी र महिला समितिबाट एकएक गरी ६९ प्रतिनिधिले चुनावमा मत दिन पाउने व्यवस्था छ । तर झापा जिल्लाले यसअघि नै मतदान नगर्ने निर्णय गरेको छ । 'बी' डिभिजनबाट मताधिकार पाएको श्रीकुमारी क्लबले दुईवर्षे प्रतिबन्धको कारबाहीमा परेका कारण मत दिन पाउने छैन । एन्फा निर्वाचनका अब ६७ जना प्रतिनिधिले मत खसाल्नेछन् ।

अध्यक्ष पदका दुवै प्रत्यासीले आआफ्नै जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन् । ६७ मतमध्ये १३/१४ जना प्रतिनिधिले खुलेर समर्थन नगरेकाले परिणाम जस्को पक्षमा पनि जान सक्ने अनुमान गरिएको छ । नरेन्द्रले यसअघि २२ जिल्ला, १० क्लब र तीन समितिको समर्थन आफूलाई रहेको दाबी गर्दै आएका छन् । कर्माछिरिङले भने आफूलाई ३७ जिल्ला र विभिन्न क्लबको समर्थन रहेको दाबी गरेका छन् ।

एन्फा अध्यक्ष र उपाध्यक्ष पदको लागि यो निर्वाचन आगामी एक वर्षको लागि हुन लागेको हो । एन्फाको यस कार्यसमितिको कार्यावधि २०७४ कात्तिकसम्म रहनेछ । फिफाले भ्रष्टाचारको आरोपमा २०७२ कात्तिक ३० गतेदेखि लागू हुने गरी निवर्तमान अध्यक्ष गणेश थापालाई १० वर्षको प्रतिबन्ध र करिब २१ लाख रुपैयाँ जरिबानाको कारबाही गरेपछि अध्यक्ष पद रिक्त रहँदै आएको थियो । यसैगरी तत्कालीन वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको २०७२ साल जेठ २९ गते निधन भएपछि सो पद पनि रिक्त बनेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.