बृहत ग्रुप दशौं वर्षमा
काठमाडौः बृहत ग्रुप स्थापनाको नौ वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ । रियल इस्टेटमा स्थापित यस समुहले विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको छ ।
कम्पनीले कात्तिक २ गते कम्पनीका सदस्यको सहभागितामा खोकनास्थित स्तुपा परिसर सरसफाइ तथा रंगरोगन गरेको थियो । उक्त अवसरमा ग्रुपका कार्यकारी अध्यक्ष ओम राजभण्डारीले नेपालकै नमुना बस्तीका रुपमा रहेको तनहुँको बन्दिपुरको स्थलगत अध्ययन भ्रमणका लागि खोकनाका स्थानीयवासीलाई सहयोग गर्ने बताएका छन् ।
यस्तै नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा कम्पनीले कात्तिक ३ गते रक्तदान कार्यक्रम आयोजना गरेको थियो जसमा कम्पनीका सदस्यसहित सर्वसाधारण गरी कुल ५३ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ ।
कात्तिक ४ गते ग्रुपले विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमहरू आयोजना गर्दै ‘वृहत दिवस’ मनाएको छ । ४ गते आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष राजभण्डारीले बृहत ग्रुप अबका दिनमा बृहत प्रिमियम रेजीडेन्सी विकासमा केन्द्रित रहने बताएका छन् ।
उनले त्यसमा डिजाइन, निर्माण गुणस्तर, निर्माण सामग्री, वर्कम्यानसीप, मेन्टिनेन्स फ्रि आवास आदिको उत्कृष्ट संयोजन हुने बताए ।