श्रीलंकामा नेपालले जित्यो कास्य पदक
काठमाडौं: दक्षिण एसियाली अक्वेटिक च्याम्पियनसिप–२०१६ मा नेपाली पौडी टोलीले १८ वर्षमाथिको रिलेमा कास्य पदक जितेको छ।
श्रीलङ्कामा आज सम्पन्न पुरुष १०० मिटर गुणा ४ फ्रि–स्टायल रिलेमा नितेश मानन्धर, देवेश मानन्धर, अनुभव सुब्बा र शुभम श्रेष्ठको टोलीले ४ मिनेट १०.०३ सेकेन्ड समयका साथ कास्य पदक प्राप्त गर्न सफल भएको नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए।
त्यस्तै शुभम श्रेष्ठले सोही प्रतियोगिताको २०० मिटर ब्रेस्ट स्ट्रोकमा दुई मिनेट ४२.६२ सेकेन्ड समयका साथ राष्ट्रिय कीर्तिमान समेत कायम गरेका छन्। यसअघि यो विधामा शिरीष गुरुङका नाममा दुई मिनेट ४२.७२ सेकेन्डको कीर्तिमान थियो। रासस