‘लोकमानविरुद्धको महाअभियोग प्रस्तावबारे काँग्रेसले हतारमा निर्णय गर्दैन’
काठमाडौंः परराष्ट्रमन्त्री एवम् नेपाली काँग्रेस केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे आफ्नो पार्टीले हतारमा निर्णय नगर्ने बताएका छन्।
नुवाकोट–काठमाडौं पत्रकार समाजले मंगलबार काठमाडौंमा गरेको चियापान कार्यक्रममा मन्त्री महतले कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे काँग्रेसले हतारमा निर्णय नगर्ने प्रष्ट पारेका हुन्।
महतले उचित समय आएपछि यसबारेमा कांग्रेसले आफ्नो संस्थागत निर्णय गर्ने बताए। ‘लोकमानसिंह कार्कीबारे निर्णय गर्ने दिन आइसकेको छैन। निर्णय गर्ने दिनसम्म पार्टीले निर्णय गर्छ, महतले भने,‘निर्णय गर्ने दिन नआइकन हामीले भने पनि निर्णय हुँदैन। जुनबेला निर्णय गर्ने दिन आउँछ त्यस दिन निर्णय गर्छौं।’
महाअभियोग प्रक्रिया लामो हुने भएकाले फुर्सदमा निर्णय गर्दा पनि फरक नपर्ने तर्क गरे। लोकतन्त्र र विधिको शासनलाई जुनसुकै पार्टीले पनि आत्मसात गर्नुपर्नेमा उनको जोड थियो। लोकमानसिंह कार्कीको विषयले संविधान कार्यान्यवनजस्तो महत्वपूर्ण विषय ओझेलमा पर्न नहुने उनको भनाइ थियो।