यस्तो छ लोकमान प्रकरणबारे कांग्रेसको निर्णय
काठमाडौंः नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे संसदीय दलमा छलफल गरी निर्णयमा पुग्ने भएको छ।
महाअभियोग प्रस्ताव व्यवस्थापिका–संसदको विशेषाधिकारको विषय भएकाले आवश्यक प्रक्रियाबारे संसदीय दलमा छलफल गरी टुंगो लगाउने निर्णय गरेको हो।
यस्ता छन् कांग्रेसका ६ निर्णयः
१. तराई—मधेश र थारू, आदिवासी जनजातिहरूको माग सम्बोधनका लागि सीमाङ्कन समेतका विषयमा संविधान संशोधन गरी २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र संघीय निर्वाचन गराउने नेपाली कांग्रेसको पूर्व निर्णय रहेको सन्दर्भमा, आजको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलनकारी सबै दलहरु, प्रमुख प्रतिपक्षी दल र व्यवस्थापिका—संसद भित्रका सबै दलहरुसँग छलफल र गृहकार्य गरी शीघ्र संविधान संशोधनका लागि अग्रसरता लिने निर्णय गर्दछ ।
२. गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण सम्बन्धमा गठित आयोगले राजनीतिक दलहरुको सुझाव र सहमतिको आधारमा पुनःसंरचना कार्य यथाशीघ्र टुंगो लगाई निर्धारित समयमा स्थानीय निर्वाचन गराउने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराउँदछ ।
३. यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमाथि व्यवस्थापिका–संसदमा अचानक दर्ता भएको महाभियोगको प्रस्ताव बारे बैठकमा छलफल भयो । सो प्रस्ताव व्यवस्थापिका–संसदको विशेषाधिकारको विषय भएकोले आवश्यक प्रकृयाको सम्बन्धमा नेपाली कांग्रेस संसदीय दलले छलफल गरी टुंगो लगाउने ।
४. पार्टीका सबै तहका संरचना तथा भ्रातृ एवं शुभेच्छुक संस्थाहरुलाई संगठन सुदृढीकरणको लागि परिचालन गर्ने निर्णय गर्दछ। पार्टीको नीति र कार्यक्रम एवं निर्वाचनको पक्षमा राजनीतिक वातावरण निर्माण गर्न, पार्टी संगठनको विस्तार एवं सुदृढीकरण गर्नका लागि सबै प्रदेशहरु र सबै जिल्लाहरुमा एक महिने अभियान संचालन गर्ने र यसका लागि केन्द्रीय सदस्यहरु समेत लाई प्रतिनिधि खटाउने निर्णय गर्दछ ।
५. नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको तेह्रौं महाधिवेशन पश्चात मात्र लागू हुने गरी स्वीकृत गरेका नयाँ तर्फका क्रियाशील सदस्यताको नामावलीको सूचीलाई कार्यान्वयनका लागि पार्टीका सम्बन्धित निकायमा पठाउने ।
६. शुभ दिपावली, नेपाल सम्वत् र छठ्को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिका लागि कार्यसमितिको यो बैठक हार्दिक शुभकामना प्रकट गर्दछ।