नेपाल-भारत संयुक्त आयोग बैठक भोलि

नेपाल-भारत संयुक्त आयोग बैठक भोलि

काठमाडौं/नयाँदिल्ली: नेपाल र भारतबीच बिहीबार हुने विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको चौथो बैठकमा पारवहन, जलस्रोत, ऊर्जा, कनेक्टिभिटी, पर्यटन, व्यापार, सुरक्षा, सीमा व्यवस्थापन, नेपालको पुनर्निर्माणमा भारतीय सहयोगलगायत दर्जन बढी द्विपक्षीय मुद्दामा बृहत् समीक्षा हुने भएको छ ।

नयाँदिल्लीमा हुने एकदिने बैठकमा भाग लिन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत बुधबार त्यसतर्फ जाँदैछन् । बैठकमा भारतीय पक्षको नेतृत्व भारतीय विदेशमन्त्री सुषमा स्वराजले गर्नेछिन् ।

'प्रधानमन्त्रीको हालैको भारत भ्रमण तथा अन्य समयमा नेपाल र भारतबीच भएका सहमति तथा समझदारी कार्यान्वयनका विषयमा हामी बैठकमा छलफल गर्नेछौं', मन्त्री महतले मंगलबार पत्रकारसँग भने ।

बैठकमा पारवहन, जलस्रोत, ऊर्जा, कनेक्टिभिटी, पर्यटन, व्यापार, सुरक्षा, सीमा व्यवस्थापन, नेपालको पुनर्निर्माणमा भारतीय सहयोगका विषयमा बुँदागत रूपमा बृहत् छलफल हुने मन्त्री महतले जानकारी दिए ।

पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई चाँडै अन्तिम रूपमा दिने, भारतीय सहयोगका परियोजना समयमै सम्पन्न गर्ने विषय नेपालले बैठकमा प्रस्तुत गर्ने भएको छ ।

नेपाल र भारतबीच विद्युत् आयात तथा निर्यातअन्तर्गत ढल्केबर तथा हेटौंडामा विद्युत् सबस्टेन निर्माण गर्नेबारेमा बैठकमा कुराकानी हुनेछ । भारतीय लगानीमा निर्माणाधीन माथिल्लो कर्णाली्, अरुण तेस्रोलगायत जलविद्युत् परियोजनाको समेत समीक्षा हुने भएको छ ।

नेपालको पुनर्निर्माणमा भारतीय ऋण तथा अनुदान सहयोगको उचित परिचालनको विषय उठाउने भारतको तयारी छ । भारतले गोरखा र नुवाकोटमा भूकम्पपीडित आवासका लागि सहयोग गर्ने तय भइसकेको छ ।

महाकाली परियोजनाबाट नेपालले पाउनुपर्ने सिँचाइ सुविधा पाउन नसकेको र परियोजनावरपर सडक निर्माणको विषय पनि बैठकको एजेन्डा छ । नेपाल र भारतबीच हस्ताक्षरित विद्युत् व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयनको विषयमा पनि छलफल हुनेछ ।

बैठकमा नेपाल र भारतबीचका सहयोगका परियोजनाको प्रगति समीक्षा गर्न गठित संयुक्त अनुगमन समितिको कामकारबाही भावी दिनमा कसरी अघि बढाउने भन्ने सम्बन्धमा पनि छलफल हुने भएको छ । समितिमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी संयोजक छन् भने भारतका तर्फबाट भारतीय राजदूत रन्जित रे संयोजक छन् । गत साता मन्त्रिपरिषद् बैठकले बैरागी नेतृत्वको समितिलाई अनुमोदन गरिसकेको छ ।

 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा भएको सम्झौताअनुसार विशाखापटनम् बन्दरगाह तथा फूलबारी बंगलाबन्द मार्गबाट बंगलादेश हुँदै तेस्रो देशसँग नेपालले गर्न पाउनुपर्ने पारवहन सुविधा कार्यान्वयनबारे पनि बैठकमा छलफल हुनेछ ।

नेपाल-भारत सीमापार रेलवे सञ्जाल निर्माणको विषयसमेत बैठकमा छलफलको एजेन्डा छ । सीमामा नेपाली भूभाग डुबानमा पर्ने समस्या सम्बोधन गर्न संयन्त्र निर्माणका विषयमा कुराकानी हुने मन्त्री महतले बताए ।

भारतीय पक्षले विगतदेखि नै आफूले प्रस्ताव गरेको सुपुर्दगी सन्धि तथा त्यससँगै जोडिएर आउने पारस्पारिक कानुनी सहायता सम्झौतालाई चाँडै टुंग्याउने विषयमा नेपालको धारणा माग्ने तयारी गरेको छ ।

बैठकमा नेपाल र भारतबीचको सीमा व्यवस्थापनका प्राविधिक स्तरमा जारी 'फिल्ड वर्क' बारे पनि चर्चा हुनेछ । नेपाल र भारतबीचको प्रबुद्ध समूहले गरिरहेको कामको समेत बैठकमा समीक्षा हुने भएको छ ।

विदेशमन्त्रीस्तरीय बैठकअघि बुधबार नेपाल–भारत संयुक्त आयोगको सचिवस्तरीय बैठक नयाँदिल्लीमा हुने भएको छ । बैठकमा सहभागी हुन उच्चस्तरीय सरकारी टोली मंगलबार दिल्ली पुगेको छ ।

अर्थ, ऊर्जा, वाणिज्य र गृह मन्त्रालयका सहसचिवसहितको टोलीले बुधबार बिहान १० बजेदेखि सुरु हुने बैठकमा भाग लिनेछ । बैठकमा भारतीय पक्षबाट विदेशसचिव एस. जयशंकर नेतृत्वको टोली सहभागी हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.