घट्दैछ सेयर बजार

घट्दैछ सेयर बजार

काठमाडौं: पुँजी बजारमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ । दसैं अघिदेखिनै घट्न थालेको सेयर बजारमा बैंकिङ, होटेल र बिमा समूहको परिसूचक उच्च दरमा घटेपछि समग्र नेप्से ओरालो लागेको हो । धितोपत्र बजारमा सूचीकृत अधिकांश कम्पनीले लाभांश घोषणा गरिसकेको अवस्थामा बजार नकारात्मक देखिएको छ ।

मंगलबार नेप्से परिसूचक १ दशमलव शून्य १ प्रतिशतले घटेको छ । सबै समूह रातो भएपछि नेप्से परिसूचक १७.८९ अंकले घटेर एक हजार सात सय ५१ विन्दुमा आइपुगेको छ । कुल बजार पुँजीकरण १९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । मंगलबार बजार खुलेदेखिनै बजार निरन्तर आर्लिएको थियो । बजार घट्दै जाँदा कारोबार रकमसमेत खुम्चिएको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएकाले बजारले लगानीकर्तालाई निराश बनाएको छ । अन्य दिन औसत एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने धितोपत्र बजार मंगलबार २१ करोड रुपैयाँले घटेर ७१ करोड ३२ लाख रुपैयाँमा बजार खुम्चिएको छ । एक सय २७ कम्पनीको कारोबारमा यस दिन सात लाख ६४ हजार कित्ता सेयर किनेबेच भयो ।

मंगलबारको कारोबारमा सबैभन्दा धेरै होटेल समूहको परिसूचक १.५२ प्रतिशतले घटेको छ । बिमा समूहको परिसूचक १.४४ र बैंकिङ समूहको सूचक १.१७ प्रतिशतले ओरालो लागेको छ । विकास बैंकको सूचक शून्य दशमलव ९५ प्रतिशतले घटेको छ भने जलविद्युत् कम्पनीको सेयरमा सामान्य गिरावट आएको छ । फाइनान्सको परिसूचक शून्य दशमलव २९ प्रतिशतले गिरावट आएको छ ।

बजारमा उच्च गिरावट आए पनि सिभिल बैंक र सिनर्जी फाइनान्स लिमिटेडको सेयर मूल्य भने करिब १० प्रतिशतले बढेको छ । सिभिल बैंकको सेयर मूल्य ९ दशमलव ८० प्रतिशतले बढेर अन्तिम मूल्य दुई सय ८० पुगेको छ । यस बैंकको मंगलबारदेखि कारोबार सुरु भएको हो । इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीसँग मर्ज भएपछि बन्द भएको काराबोर यस दिनदेखि खुलेको हो । सिनर्जी फाइनान्सको ९ दशमलव ७० प्रतिशतले बढेको हो ।

हालै मात्र पुँजी वृद्धि योजना सार्वजनिक गरेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको सर्वाधिक सेयर किनबेच भएको छ भने सबैभन्दा बढी रकमको सेयर कारोबार पनि चार्टर्डकै भएको छ । यो बैंकको मंगलबार ६ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भई तीन हजार चार सय ६८ रुपैयाँ प्रतिसेयर कारोबार भयो ।

बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएका खबर सार्वजनिक हुन थालेपछि बजार ओरालो लाग्नेक्रम सुरु भएको हो ।

पछिल्लो समय स्टान्डर्ड चार्टर्डलगायतका कम्पनीको पुँजी वृद्धिको योजना सार्वजनिक गरेको र समग्र सेयर बजार ओर्लिएका कारण घटेको भाउमा लगानीकर्ता स्ट्यान्डर्ड चार्टर्डकै सेयरमा सबैभन्दा बढी आकर्षित भएको देखिन्छ । एभरेस्ट बैंकको ५० करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै एनएमबी बैंकको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ । एनएमबी बैंकको सेयर मूल्य भने ६ दशमलव ५३ प्रतिशतले घटेको छ । नेप्सेमा कारोबार भएका कम्पनी मध्ये २७ कम्पनीको सेयरमूल्य बढेको छ, ९० कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर छ ।

बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएका खबर सार्वजनिक हुन थालेपछि बजार ओरालो लाग्नेक्रम सुरु भएको हो । बैंकले मुद्दती निक्षेपमा लगानीकर्तालाई आठ प्रतिशतसम्मको ब्याज घोषणा गर्न थाल्दा लगानीकर्ताको मनोबल केही खस्किएको अनुमान विश्लेषकले गर्न थालेका छन् । त्यसबाहेक चाडपर्वको सिजन भएकाले धेरै जसो लगानीकर्ता फेस्टिभ मुडमा रहेकाले पनि कम लगानी भएको हुन सक्ने अनुमान ब्रोकरले गरेका छन् ।

लगानीकर्ता बजार थोरै घट्दा वा बढ्दा आत्तिन नपर्ने धितोपत्र बोर्डका प्रवक्ता निजर गिरीले बताएका छन् । उनले भने, 'सेयर बजार कस्तो रहन्छ भनी तिहारअघि बताउन गाह्रो हुन्छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.