बुबाआमा गुमाएका बालक बिचल्लीमा
![बुबाआमा गुमाएका बालक बिचल्लीमा](https://annapurnapost.prixacdn.net/media/albums/Three-baby-at-Lamjung-581177331b9326.06637975_7kWqRVRVKZ.jpg)
मकैडाँडा (लमजुङ): खरले छाएको सानो झुप्रो घर । २०७२ सालको भूकम्पले झनै कमजोर बनाइदिएको छ । त्यही झुप्रोमा छिन्, ७६ वर्षीय गुदौली रिमाल । दम, प्रेसर र सुगर रोगले उनी थलिएकी छन् । 'धेरै भयो उहाँ यसरी ओछ्यानमै थलिएको', स्थानीय अर्जुन रिमालले भने, 'कसैको सहाराविना उहाँ हिँडडुल गर्नै सक्नुहुन्न ।'
नियतिले बेसीसहर-१३ तल्लो मकैडाँडाकी गुदौली मात्रै होइन, उनका तीन साना नातिलाई समेत बिचल्लीमा पारेको छ । ४ वर्षअघि उनकी बुहारी शोभा रिमालको टाउकोमा खटिरा आयो । गाउँको गरिब परिवार भएकाले त्यसलाई वास्ता नगरी बस्दा टाउकोमा आएको खटिरामा किरा परेपछि उनको ज्यानै गयो ।
बूढी भएकी आमा र तीन छोरालाई हलो जोतेरै भए पनि पाल्दै आएका ३९ वर्षीय कृष्णबहादुर रिमालको पनि निधन भएपछि यो परिवार बेसाहारा बनेको छ । श्रीमती बितेपछि झनै वितृष्णामा परेका कृष्णबहादुरले गत असोज २६ मा आफ्नै घरमा आत्महत्या गरेका थिए ।
'परिवारको आम्दानीको स्रोत र भरोसा नै उनी थिए । उनको निधनले यो परिवारमा ठूलो वज्रपात परेको छ', स्थानीय नारायणबहादुर रिमालले भने, 'यी बाललबालिकाको अब न टेक्ने हाँगो छ, न समाउने नै ।' रोगले थलिएकी गुदौली छोराको निधनपछि झनै मुर्छामा परेकी छन् । 'कहिले बेहोश बन्नुहुन्छ, कहिले कराउनुहुन्छ', उनका १५ वर्षीय जेठा नाति सुरेन्द्र रिमाल भन्छन् ।
बुबाले हलो जोतेरै भए पनि बच्चालाई बोर्डिङ पढाएका थिए । बेसीसहरको सहजीस्थित चन्द्रसूर्य इङ्लिस बोर्डिङ स्कुलमा कक्षा-५ मा पढ्ने सुरेन्द्र रिमाल-१५ वर्षका भए । उनका माइला भाइ विवेक रिमाल १२ वर्षका भए, अहिले सोही विद्यालयमा कक्षा-४ मा पढ्छन् । ९ वर्षीय कान्छो भाइ अभिषेक रिमाल भने कक्षा २ मा पढ्छन् ।
बुबाको निधनपछि पढाइ प्रभावित हुने डरले जेठा छोरा सुरेन्द्र निकै चिन्तामा छन् । 'रोगले थलिएकी बूढी आमाको हेरचाह गरेर बस्ने कि पढ्न जाने अन्योलमा छु', उनले आँसु झार्दै भने । घरको जेठो भएकाले आफूसँगै दुई भाइको लालनपालन र पठनपाठनको जिम्मा उनकै काँधमा छ । रोगी हजुरआमाको औषधिमुलो गर्ने खर्च जुटाउने जिम्मा पनि उनकै काँधमा छ । रमाउने र हाँसखेल गर्ने बाल्यकालमै आफ्ना अभिभावक गुमाउनुपर्दाको निकै दुःखलाग्दो पीडा छ उनीसँग ।
बच्चाहरू बिचल्लीमा परेपछि सहयोग जुटाएर भए पनि उनीहरूको पठनपाठन र ७६ वर्षीय वृद्धाको उपचार खर्च जुटाइदिने योजनामा गाउँले छन् । 'बालबालिका र वृद्धाको दुःखको भित्री पाटो निकै कहालीलाग्दो छ', मकैडाँडा मामाघर भएका जीवी घिमिरे भन्छन्, 'यस्तो अवस्थामा सहयोगी हात खोज्ने अभियानमा हामी छौं ।'
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)