'कांग्रेस न्यायाधीश हो, महाअभियोग प्रकरणको हतारमा फैसला गर्दैन'
घोराही: नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखबाट निलम्बित लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे सुझबुझका आधारमा मात्रै निर्णय लिने बताएका छन्।
नेपाल प्रेस युनियन दाङले घोराहीमा बिहीबार बिहान गरेको पत्रकार सम्मेलनमा महतले महाअभियोग प्रकरणमा कांग्रेस ‘न्यायाधीश’को भूमिकामा रहेकाले हतारमा नबोल्ने र सुभबुझका आधारमामात्रै फैसला गर्ने बताएका हुन्।
उनले भने,‘संसदमा पेश भएको कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे सदनमा छलफल भइरहेको छ। छलफल सकिएपछि महाअभियोग सिफारिस समितिमा प्रस्ताव पठाइन्छ। महाअभियोग समितिले प्रतिवेदन तयार पारेपछि निर्णय गर्ने हो। त्यो भन्दा अघि ‘न्यायाधीश’ले फैसला गर्नु हुन्न। फैसला भनेको ठीक समयमा हुन्छ।’
महतले एमाले, माओवादीले प्रस्ताव दर्ता गरेकै भरमा उनीहरुको पिछलग्गु बन्न नहुने बताए। उनले लोकमानविरुद्धको महाअभियोग प्रस्तावले महत्वपूर्ण राष्ट्रिय मुद्दालाई ओझेलमा पारेको आरोप लगाए। उनले भने,‘ महाअभियोगबारे अहिले बहस बढी भइरहेको छ। यसलाई राष्ट्रिय मुद्दा बनाउनु हुँदैन।’