‘महाअभियोगको विषय सत्ता परिवर्तनसँग कुनै सम्बन्ध छैन’
बनेपा: नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषय सत्ता परिवर्तनसँग कुनै सम्बन्ध नभएको बताएका छन्।
काभ्रेपलाञ्चोकबाट प्रकाशित भएको ‘चेष्टा साप्ताहिक’को २३औँ वर्ष प्रवेशको अवसरमा बिहीबार बनेपामा आयोजना भएको वार्षिकोत्सवमा उनले महाअभियोगको विषयमा काँग्रेसले सही समयमा सही निर्णय गर्ने विश्वास व्यक्त गरे।
अख्तियारको हाउगुजी देखाएर विकास निर्माणको कामसमेत प्रभावित हुनाका साथै विकास बजेट फ्रिज भएको तर्क गर्दै एमाले नेता ज्ञवालीले लोकमानसिंह कार्कीले लोकतन्त्रलाई नै चुनौती दिन खोजेको आरोप लगाए।
ज्ञवालीले संविधान कार्यान्वयनको विषय सङ्कटमा परेको उल्लेख गर्दै संविधान कार्यान्वयन हुन नदिन ठूलो षडयन्त्र भएको बताए। उनले भने,'०७४ साल माघभित्र हुने भनिएका कुनै चुनाव पनि नहुने स्थिति आए मुलुक भयानक अराजकतातर्फ धकेलिने छ।'
ज्ञवालीले विकास निर्माण र समृद्धिलाई पत्रकारिताले प्राथमिकता दिनुपर्ने तर्क गर्दै साना लगानीमा सञ्चालन भएका मिडियामा अनेकौँ चुनौती भएको बताए। रासस